शरिन ख्युङ्वा तामाङ २०७७ फागुन १० गते धरानबाट हुर्रिएर काठमाडौं आइन् र सिधै त्रिभुवन विमानस्थलतर्फ लागिन्।
उनको मुटुमा धेरैथरि सवालले उधूम मच्चाउँदै थियो — म कहाँ जाँदैछु? कसलाई भेट्न जाँदैछु?
मुटुले धड्कनकै गतिमा जवाफ फर्कायो— म आफ्नी प्रेमिका भेट्न जाँदैछु।
४८ वर्षकी शरिन आफ्नी प्रेमिका देवी कार्कीलाई पहिलोपटक भेट्दै थिइन्। धुलिखेलकी ३९ वर्षीया देवी दुबईमा ब्युटिसियन काम गर्छिन्, विदामा नेपाल आउँदै थिइन्।
शरिनको स्थायी घर सर्लाही हो। उनको र देवीको चिनजान भएको दुई वर्ष भयो। भेट्ने मौका भने पाएका थिएनन्। फोन र ल्यापटप क्यामराको लेन्सबाट माया साटिरहेका उनीहरू एकअर्कालाई आँखैले हेर्न चाहन्थे।
शरिन तिनै आँखा विमानस्थलका गेटमा दौडाइरहेकी थिइन्, देवी आउने बाटो हेर्दै।
देवीको मुटु पनि उसैगरी उछलकुद गर्दै थियो सायद- शरिनलाई भेट्दा के होला? कसो होला?
दुबईबाट उडेको जहाज काठमाडौं विमानस्थल अवतरण गर्यो। जोडसँग धड्किरहेको मुटु समेट्दै केही खुसी, केही संकोच, केही माया र केही उत्साहका साथ देवी विमानस्थलबाट बाहिर निस्किइन्।
जसै शरिन र देवीका आँखा चार भए, उनीहरू दुवैलाई होश उडेझैं भयो। उनीहरू भावुक थिए, अवाक् थिए।
अलिबेरको मौनपछि अवरूद्ध गला सफा गर्दै शरिनले केही बोल्ने प्रयास गरिन्। देवीले त शब्दको गाँठो फुकाउनै सकिनन्।
शरिन अघि बढिन्। देवीलाई गम्लंग अँगालो हालिन्।
पहिलोपटक आफ्नो प्रेमलाई अँगाल्दा मुटुले ठाउँ छाड्छ नि! देवीलाई त्यस्तै भयो। अनुहार गुलाबी, ज्यान थर्रर।
शरिनको अँगालोमा देवी मूर्ति भइन्।
'पहिलो भेटमा त हामी दुवै नर्भस थियौं। तै पनि मैले चाहिँ हिम्मत गरेर अँगालो हालेँ,' शरिनले सेतोपाटीसँग त्यो क्षणको अनुभव साटिन्, 'तर उनी उभिरहिन्, केही गरिनन्।'
शरिन १४ वर्ष इजरायल बसेर एक वर्षअघि नेपाल आएकी हुन्, लकडाउनताका। इजरायलमै हुँदा देवीसँग फेसबुक चिनजान भएको थियो।
शरिन इजरायलमा म्यानपावर कम्पनीको बदमासीले अलपत्र र बेचबिखनमा परेका महिलाको उद्धार गर्थिन्। उनले गर्दै आएको कामले नै होला, देवी उनीसँग नजिकिइन्।
केही वर्षअघि धनुषामा एक बालिकाको बलात्कारपछि हत्या गरी जलाइएको थियो। शरिनले आफ्नो फेसबुकबाट पीडित परिवारलाई सहयोग मागेकी थिइन्। ती बालिका बूढी हजुरआमा र बुवासँग बस्थिन्। बुवा बोल्न सक्थेनन्। बालिकाले नै उनीहरूको हेरचाह गर्थिन्।
'मैले त्यो समाचार थाहा पाएपछि राक्षसी प्रवृत्ति किन बढिरहेको हो भनेर बोलेकी थिएँ। फेसबुक लाइभमा सहयोगका लागि अपिल गरेँ। दोस्रोपटक लाइभमा आउँदा देवीले पनि सहयोग गर्न चाहिन्। त्यहाँ उनले धेरैपटक कमेन्ट गरेकी रहिछन्, मैले देखेकी थिइनँ,' शरिनले भनिन्।
शरिनले कमेन्टमा जवाफ नफर्काएपछि देवीले म्यासेज नै गरिन्। त्यसमा पनि जवाफ पाइनन्। फेरि कमेन्टमै लामो म्यासेज छाडिन्। अनि बल्ल शरिनले जवाफ फर्काइन्।
विस्तारै इजरायल र दुबईबाटै उनीहरूको वार्ता बढ्न थाल्यो।
'उहाँले कुराकानी गर्न रूचाउनुभयो। खासमा त्यो बेला मलाई चाहिँ दिक्क लाग्थ्यो,' शरिन आफ्ना कुरा प्रस्ट भन्छिन्।
देवीलाई भने शरिनसँग कुराकानी गर्न मन लाग्थ्यो। उनी पहिल्यैदेखि महिलाहरूसँग धेरै नजिकिन्थिन् रे।
'सबैसँग त होइन, तर म केटाभन्दा केटीहरूसँग धेरै नजिकिन्थेँ। उहाँको भिडिओ हेर्दा पनि आत्माले नै बोल्न घच्घच्याएजस्तो भयो,' देवीले सुनाइन्, 'भिडिओमा उहाँको हिम्मत देखेर, हो यस्तै भयो भने महिलाहरू पीडित हुँदैनन् भन्ने अनुभव हुन्थ्यो। मैले चाहेको कुरा उहाँमा पाएको महशुस गरेँ।'
देवीको मनमा विस्तारै शरिनप्रति प्रेम अंकुराउन थाल्यो।
उनले केही फिलिपिनो सहकर्मीबाट समलैंगिकताबारे थाहा पाएकी थिइन्। केही कुरा बुझ्थिन्, धेरै अलमल पर्थिन्।
कहिलेकाहीँ उनी शरिनसँग पनि यसबारे जिज्ञासा राख्थिन्। शरिन आफूले जाने-बुझेको बताइदिन्थिन्।
यो सम्बन्ध छोटो समयमै बटवृक्षझैं झाँगियो। आफूहरूको निकट सम्बन्धलाई नाम दिन नजान्दै उनीहरू प्रेमी-प्रेमिका बन्न थालिसकेका थिए।
एक वर्षपछि शरिनले देवीलाई जिन्दगीमा नसोचेको 'सरप्राइज' दिइन्।
उनले म्यासेजमै लेखिन्, 'देवी, मेरी बूढी बन्छेऊ?'
त्यो बिहेको प्रस्ताव थियो।
म्यासेज देखेपछि देवी केही बेर बेपत्ता भइन्। उनको मनमा तुफान चल्दै थियो। के गरौं, कसो गरौं?
अन्ततः खुसी हुँदै शरिनकी श्रीमती बन्न उनी राजी भइन्।
बिहे गरेर दम्पत्ति हुने सपना उनीहरूले गत वर्ष फागुदेखि देख्न थालेका हुन्।
शरिन र देवीको यसअघि पनि बिहे भएको थियो। उनीहरू दुवैको श्रीमानसँग सम्बन्ध विच्छेद भइसकेको छ। शरिनका एक छोरा र छोरी छन्। देवीकी एउटी छोरी छिन्।
देवी १६-१७ वर्षकै उमेरमा एक युवकसँग प्रेम सम्बन्धमा थिइन्। उनको त्यो निर्णय परिवारलाई स्विकार्य थिएन। उनले भागेर बिहे गरिन्।
परिवारै छाडेर मन सुम्पेको युवकसँग जीवन बिताउन हिँडेकी थिइन् देवी, तर उनका श्रीमानले झूट बोले। बिहेको केही दिनमै देवीले थाहा पाइन्- उनको श्रीमानको अर्की श्रीमती पनि रहिछन्।
'उहाँको पहिल्यै बिहे भइसकेको रहेछ। मलाई थाहै थिएन। बिहेपछि जब थाहा भयो, मन चिसो भयो। मानसिक तनावले गाँज्न थाल्यो। तर पनि बाध्यता र आफ्नो अवस्था सम्झेर म उहाँसँगै बसेँ। पछि छोरी जन्मिइन्,' उनले आफ्नो विवशता सुनाइन्, 'तर हाम्रो सम्बन्ध कहिल्यै राम्रो भएन।'
देवीका अनुसार उनीहरूबीच खटपट भइरहन्थ्यो। छोरी ७-८ वर्ष भइसकेपछि एकपटक उनी श्रीमान र घर छाडेर माइती फर्किएकी थिइन्। एकचोटिलाई 'मिलेर बस्नू' भनेर सबैतिरबाट दबाब आयो। उनीहरू 'मेलमिलाप' गरेर बसे।
मन मरेको सम्बन्ध कति दिन मेलमिलापमा टिक्छ र!
एकाध वर्षपछि खटपट र तनावले फेरि घर जमायो।
उनीहरूकी छोरी आमाबुवाको सम्बन्धको दरार नियाल्दै हुर्किइन्। उमेरसँगै उनले आफ्नी आमाको विवशता बुझ्न थालिन्। आमालाई यो दलदलबाट उम्काउनुपर्छ भन्ने उनलाई पनि लागेछ। एकदिन देवीलाई भनिछन्, 'आमा अब यसरी बस्न सकिँदैन। मिठो खाने ठाउँमा नमिठो खाउँला। जस्तो विद्यालयमा सकिन्छ, त्यसैमा पढौंला। तपाईंलाई त टर्चर भयो-भयो, मलाई पनि टर्चर भयो, बुवालाई छोड्दिनू।'
'नानीले त्यति भनेपछि मलाई हिम्मत आयो। २०७२ सालमा हामी छुट्टियौं,' देवीलाई छोरीले ठूलो भरोसा दिएकी थिइन्।
त्यसको केही समयपछि नै देवी आफू र छोरीको भविष्य सम्भार्न दुबई गइन्।
शरिनको वैवाहिक जीवन पनि कम तनावपूर्ण थिएन। श्रीमानसँगको असमझदारी तथा घरेलु हिंसाका कारण छुट्टिन बाध्य भएको उनी बताउँछिन्।
उनका अनुसार त्यो बिहे रहरले होइन, परिवारिक बाध्यताले गर्नुपरेको थियो।
शरिनका बुवालाई पक्षघात थियो। त्यति बेला गाउँकै चिनेजानेका एक डाक्टरले सहयोग गरे। पछि उनैबाट बिहेको प्रस्ताव आयो।
सहयोगको ऋण कहिलेकाहीँ पासो बन्छ, शरिनले नाइँ भन्न सकिनन्।
'रहरको बिहे नभए पनि बुहारी हुन म कहीँकतै चुकिनँ। तर दाम्पत्य जीवन असल बनाउन मेरो मात्रै भूमिका हुँदैन होला नि?' उनी प्रश्न गर्छिन्, 'श्रीमान-श्रीमती दुवैको उत्तिकै भूमिका र दायित्व हुन्छ, दुवैले निर्वाह गर्नुपर्छ। मेरो बिहेमा असमझदारी र वैचारिक द्वन्द्वसँगै केही हदसम्म हिंसा थियो। त्यसैले पनि म आज यस्ती भएकी होला।'
शरिन डिभोर्स भइसकेको आफ्नो विगतको बिहे र त्यो सम्बन्धबारे धेरै खुलाउन चाहँदिनन्। तर पुरुषको दमनविरूद्ध उनी निरन्तर बोलिरहेकी हुन्छिन्।
केही दिनअघि मात्र उनले फेसबुकमा देवी र आफ्नो फोटो राख्दै लेखेकी थिइन्, 'कोठा थुनेर हात हाल्ने, श्रीमती कुट्ने, तुच्छ गालीगलौज गर्ने, श्रीमतीको अस्मितालाई बजारको भाउमा लिलाम गर्नेहरूका लागि हुनेछ हाम्रो यो कदम। त्यसैले हाम्रो सम्बन्ध, हाम्रो निर्णयलाई चोटिलो टिप्पणी गर्नुभन्दा राम्रोसँग आ-आफ्नो घर सम्हाल दाजुभाइहरू। भोलि तिमीहरूका श्रीमतीले पनि हाम्रो कदम नअपनाउलान् भन्न सकिन्न। त्यो बेला दोषी हामी कदापी हुने छैनौं। तिमीहरूको पराकाष्ठाको जवाफ हुनेछ। बाँकी सच्चा पुरुष दाजुभाइ र चेलीबेटीप्रति हार्दिक नमन।'
यो स्ट्याटस शरिनले देवीसँग बिहे गरेपछि लेखेकी हुन्, दुवै भेडेटार घुम्न गएको फोटो राख्दै।
देवी एकमहिने विदामा नेपाल आएकी थिइन्। उनी फर्किनुअघि नै शरिन र देवी आफ्नो सम्बन्धलाई एक कदम अगाडि लैजान चाहन्थे। बिहेको कुरा एक वर्षअघि नै भए पनि कहिले गर्ने टुंगो थिएन।
'बिहे होला नै भन्ने लागेको पनि थिएन। सहकर्मीहरूलाई पनि हल्ला नगरी इंगेजमेन्ट मात्रै गरेर आउँछु भनेकी थिएँ,' देवीले सुनाइन्, 'नेपाल आएपछि त बुवाले ल म टीका लगाइदिन्छु भन्नुभयो। अनि बिहे नै गर्ने भइयो।'
शरिनले पनि देवीबारे धेरैपछिसम्म आफ्नी आमा र भाइलाई भनेकी थिइनन्। सुरूमा उनीहरूले स्विकार्न मानेनन्। शरिनले रूँदै भनिछन्, 'म बिहे त जसरी पनि गर्छु। एकपटक तपाईंहरूको कुरा सुनिसकेकी हुँ, अब म मेरो जिन्दगी बाँच्न चाहन्छु, देवीसँग।'
आखिरमा परिवारले उनीहरूको माया र सम्बन्धलाई सम्मान दियो।
देवी र शरिन दुवैका छोराछोरी पनि उनीहरूको कदममा साथ लागे।
सबैको साथ पाएपछि देवी र शरिनको जीवनमा त्यो दिन आयो, मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवस।
शरिन रातो टिसर्ट र रातै प्यान्टमा सजिइन्। देवी गुलाबी कुर्ता-सुरूवालमा।
एउटा कोठामा दुवैतर्फका परिवारलाई साक्षी राख्दै शरिनले देवीलाई औंठी लगाइदिइन्, अनि देवीले शरिनलाई। आमाबुवा र परिवारका सदस्यले टीका-खादा लगाएर बधाइ दिए।
धेरैअघि शरिन बेहुली हुँदा शुभकामना दिएका भाइले भने, 'कसैकी छोरीले तपाईंको हात थामेकी छन्, उनको जिम्मा तपाईंको हातमा आएको छ, खुसी राख्नुस् है। शुभकामना।'
'बिहेका दिन भाइले टीका लगाइदिँदा भावुक भएँ,' शरिनले सुनाइन्, 'मेरो वैवाहिक जीवन सफल रहोस् भनेर शुभकामना दिँदा त म रोएँ नै।'
महिला दिवसको त्यो दिन दुई महिलाले एकअर्कालाई जीवनसाथी चुने।
शरिन र देवीको बिहेका तस्बिरले सामाजिक सञ्जालमा चर्चा पायो। धेरैले समाचार सुनेर बधाइ दिए। यसरी खुलेरै समलिंगी विवाह गरेकामा धन्यवादसमेत भने।
शरिन र देवीलाई भने आफूहरूको लैंगिक पहिचान प्रस्ट छैन। लैंगिकताका विविध पाटाबारे उनीहरू धेरै जानकार पनि छैनन्। त्यसैले आफूहरू समलिंगी हो वा द्विलिंगी वा अरू केही, उनीहरू भन्न सक्दैनन्।
यत्ति भन्छन्, 'हामी के हौं भन्ने मतलब छैन, थाहा पनि छैन। प्रस्ट थाहा भएको चाहिँ हामी एकअर्कालाई माया गर्छौं र सँगै जीवन बिताउन चाहन्छौं।'
परिवार र समाजले उनीहरूको बिहे सहजै स्विकारे पनि कानुनी मान्यता पाउन सहज छैन। सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले बिहे गर्न पाउने गरी अहिलेसम्म कानुन ल्याएको छैन।
शरिन र देवी भने आफ्नो सम्बन्धलाई कानुनी रूपमा स्थापित गराउन जस्तोसुकै बाधा झेल्न तयार छन्।
'मैले हाम्रो बिहे दर्ता गराइदिने कि नगर्ने भनेर वडाध्यक्षसँग सोधेँ। उहाँले कानुनी प्रक्रिया के-कस्तो हुन्छ परामर्श लिएर अघि बढ्ने र सक्दो प्रयास गर्ने भन्नुभएको छ,' शरिनले भनिन्।
यसका लागि केही समय पक्कै लाग्ला, किनकी अहिलेलाई देवीको विदा सकिइसक्यो। उनी सोमबार राति नै दुबई फर्किइसकिन्।
राति साढे ११ बजे उनको फ्लाइट थियो। त्यसअघि धुलिखेलस्थित घरमा देवीलाई आमाबुवाले टीका लगाएर बिदाइ गरे। शरिनलाई पनि ज्वाइँ मानी टीका लगाएर आशीर्वाद दिए।
साँझ पौने ६ बजे धुलिखेलबाट निस्किएका उनीहरू एक-डेढ घन्टामा एयरपोर्ट आइपुगे।
शरिन र देवी गाडीबाट सँगै झरे। शरिन हत्तारिएकी, आत्तिएकी जस्तै थिइन्। उनका आँखा बेचैन थिए। तर अनुहारमा हाँसो छर्दै आफ्ना भावना दबाउँदै थिइन्।
देवीकी छोरी, बहिनी र केही आफन्त पनि आएका थिए।
हामीले उनीहरूलाई सोध्यौं, 'पहिलोपटक भेट्दा त नर्भस भएर डराउनुभयो। अब छुट्टिन लाग्दा कस्तो लाग्दै छ?'
प्रश्न सुन्नेबित्तिकै देवीले हाँस्दै भनिन्, 'अब छुट्टिनुपर्दा त पिर लागेजस्तो हुँदो रहेछ। खल्लो खल्लो लाग्दैछ। एक महिना सँगै बस्दा रमाइलो भयो। छुट्टिएर जाँदा एक्लो जस्तो भएको छ, नरमाइलो।'
शरिनबाट बाध्यताले टाढिनुपरेको उनी बताउँछिन्। कोरोना महामारी चलिरँहदा उनको भिसा सकिएको थियो। म्यानपावर कम्पनीले भिसा थपिदिएको र विदामा आउने-जाने टिकट काटिदिँदा 'नाइँ' भन्न मन नमिलेको उनले बताइन्।
'आफ्नो काममा गद्दारी गर्न सकिन्न नि। फेरि एक नेपालीले गर्दा सबैलाई नराम्रो भन्लान्। अब १४ महिना बसेर फर्किन्छु,' देवीले भनिन्, 'एकदम धेरै मिस गर्नेछु उहाँलाई। जति समय साथ बितायौं, त्यो सम्झनामा आउनेछ।'
देवीकै छेउमा उभिएर उनको कुरा सुनिरहेकी शरिनलाई पनि हामीले उही कुरा सोध्यौं।
'धेरै नै मिस गर्नेछु। सिरानी, बिछ्यौना, किचेन, ट्वाइलेट लगायत हरेक कुरामा मिस हुनेछिन्। पहिलेदेखि नै उनको हेरचाह गर्ने बानी, मेरी जीवनसाथी भएपछि उनको माया पाएँ। सबभन्दा धेरै बिहान उठ्नेबित्तिकै उनले मलाई तातोपानी ल्याइदिन्थिन्, त्यो मिस गर्नेछु,' मसिनो आवाजमा उनले हाँसेझैं गरेर भनिन्।
हामीसँग छोटो कुराकानीपछि उनीहरूले एकअर्कासँग फोटो खिचाए। शरिनले देवीकी आमासँग फोनमा कुरा गराइन्।धरानमा रहेकी आफ्नी आमालाई पनि भिडिओ कल गरिन्।
'आमा म बुहारी लिएर गएँ है अब,' शरिनले ठट्यौली पारामा भनिन्।
देवीले भिडिओ कलबाटै आमाको आशीर्वादसहित जाने अनुमति लिइन्।
उताबाट आमाले भनिन्, 'ल राम्ररी जानू। भाग्यमानी होस्। शुभयात्रा।'
फोन काटेपछि शरिनको मन अझ गह्रौं हुँदै थियो सायद। उनी अझ छटपटाएझैं देखिन थालिन्।
सामान्य हुन खोजिरहेकै थिइन्, तर पौने ८ बजेतिर एक्कासि भनिन्, 'सँगै हुने समय थोरै हुँदै जाँदा यो मन त झन् झन् ढुकढुक गर्छ त। अब त ज्याकेट नै फुटेर आउलाजस्तो भयो नि।'
देवीको अनुहार मलिनो भयो। उनीहरू छुट्टिने समय भइसकेको थियो। छेउमै उभिएकी देवीकी छोरी पनि भावुक भइन्।
एकैछिन अघि 'रोएर मान्छे नजाने भए पो' भन्दै गरेकी शरिनका आँखाले उनको बोलीलाई साथ दिएनन्। गम्लंग देवीलाई अँगालिन्। एक महिनाअघिको जस्तो होइन, मायालु र कसिलो, एकअर्काको ढुकढुकी सुनिने अंकमाल।
शरिनका रसिला आँखा छल्दै देवी हात हल्लाउँदै एयरपोर्टभित्र छिरिन् ...।
यो स्टोरी सेतोपाटीमा पहिलोपटक २०७७, चैत १२ गते प्रकाशित थियो।