कोशी प्रदेशको पहाडी जिल्ला सोलुखुम्बुमा हिमताल विस्फोट भएर शुक्रबार दिउँसो भीषण बाढी आयो। सुन्दर पर्यटकीय थलो थामे बजार एकैछिनमा खण्डहरमा परिणत भयो।
भीमकाय ढुंगा, गेग्रान र लेदोसहितको विध्वंशकारी बाढी आउँदा पनि कुनै मानवीय क्षति नभएको भन्दै स्थानीय प्रशासन ढुक्क थियो। दिउँसो १ः२५ को घटना को केहीबेरपछि उद्धार सुरू भयो। गाउँलेलाई एकै ठाउँमा भेला पारियो।
विनाशकारी विपदमा जसोतसो ज्यान जोगाएर सुरक्षित ठाउँमा पुग्दा गाउँका ५५ वर्षीय ङिमा नुरू शेर्पा गयल थिए। कसैले दिउँसो घाँस काट्न जाँदै गरेको देखेको बताए भने कसैले लुगा बोकेर हिडिँरहेकोसम्म भने।
'दिउँसो उहाँ घाँस काट्न जाँदै गरेको भन्नेसम्मको सूचना आएको थियो भन्ने छ,' शुक्रबार साँझ नेपाल प्रहरीका एसएसपी भीम दाहालले उनीबारे भनेका थिए, 'बोल्न नसक्ने, कान सुन्न नसक्ने उहाँ सम्पर्कबिहीन बन्नुभएको छ। प्रहरीले खोजी जारी राखेको छ।'
सुन्न र बोल्न नसक्ने शेर्पाले मोबाइल बोक्ने सम्भावना पनि नभएपछि प्रहरी, प्रशासन र गाउँपालिका चिन्तित थियो। धेरैले उनलाई बाढीले बगाएको आशंका गर्दै शुक्रबारदेखि खोजिरहेका थिए।
कतै कुनै सुराक नमिल्दा धेरैले उनको माया मारिसकेका थिए। 'बेपत्ता' शेर्पा आइतबार अपराह्न भने आफ्नै घरमा भेटिएका छन्।
तीन दिनदेखि उनलाई प्रहरी खोजेको खोज्यै हुँदा उनी भने घरमा थुनिएको थुनियै भएको प्रहरीले जनाएको छ।
'सम्भवतः घरमा उहाँ एक्लै हुनुहुँदो रहेछ,' कोशी प्रदेश प्रहरीका एसएसपी भीम दाहालले भने, 'आज (आइतबार) भने उहाँ घरैमा भेटिनुभयो।'
दाहालका अनुसार विस्थापनमा परेका गाउँले र प्रहरीले एकपटक घरैमा खोजी हेरौं भनेर हेर्दा उनी त्यहीँ भेटिएका हुन्।
'विपदमा सबै ज्यान जोगाउन भाग्दा उहाँ घरैमा बसिरहनुभएको रहेछ,' दाहालले भने, 'घर वरिपरि बाढीले पुरेपछि उहाँलाई निस्किनसमेत असहज भएको हुनसक्छ।'
एक्लै घरमा तीन दिन बिताउँदा उनी भोकै, तिर्खै थिए कि केही बनाएर खाए भन्नेबारे केही थाहा नभएको प्रहरी भनाइ छ।
शेर्पा घरैमा भेटिएसँगै हिमताल फुटेर आएको भीषण बाढीबाट कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ।
आइतबार खुम्बु पासाङ ल्हामु गाउँपालिकाले आफ्नो फेसबुक पेजमार्फत बेपत्ता शेर्पा सम्पर्कमा आएको जानकारी दिएको हो। हिमताल विस्फोट भएर आएको बाढीले खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ मा पर्ने थामे गाउँका विद्यालयसहित १४ घर पूर्ण रूपमा बगाएको छ भने गाउँलाई बगरमा परिणत गरिदिएको छ।
दिउँसो गाउँ पसेको बाढीले मानवीय क्षति भने गर्न नपाउँदा ठूलो क्षतिबाट जोगिएको गाउँपालिकाले बताएको छ।
गाउँपालिकाले दिएको जानकारी अनुसार गाउँपालिकाको वडा नम्बर ३ टोकटोकका तीन घर पहिरोमा परी पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। अरू चार घर पहिरोको उच्च जोखिममा छन्। टोकटोक हुँदै नाम्चेतर्फ जाने पर्यटकीय पदमार्ग समेत पहिरोले क्षतिग्रस्त छ। हाल त्यस क्षेत्रको टोल विकास संस्था, स्थानीयबासी, नेपाली सेना र प्रहरीको सक्रियतामा वैकल्पिक बाटो निर्माण गरी आवतजावतको व्यवस्था गरिएको पालिकाले जनाएको छ।
यो पनि पढ्नुस्ः