धरानको मेयरमा निर्वाचित भएकै दिनदेखि उपमहानगरपालिका भित्रका राजनीतिक दलहरूमाथि हाबी हुँदै आएका हर्क साम्पाङमाथि पहिलो पटक दलहरू हाबी भएका छन्।
मेयर साम्पाङ दलहरूसामु झुक्नु पर्नाको कारण खानेपानीको शुल्कवृद्धि नौ सय प्रतिशत वृद्धि गरिनु हो। मेयर यो निर्णयबाट पछि हटेका छन्।
धरान खानेपानी बोर्डको अध्यक्षको हैसियतमा एकल निर्णय गर्दै शुल्क र महसुलमा ९ सय प्रतिशतभन्दा बढी दरमा वृद्धि गरेका मेयर साम्पाङ आफ्नो निर्णयबाट पछि हटेका छन्।
आइतबार साँझ दलहरुसँगको छलफलमा सहमति गर्दै मेयर साम्पाङले शुल्क र महसुल वृद्धिको निर्णय फिर्ता लिएका हुन्।
‘धरानमा दलहरुले थोपरेको एसियाली विकास बैंकको ऋण तिरिदिऊन् म तुरुन्तै महसुल वृद्धिको निर्णय फिर्ता लिन्छु,’ आफ्नो निर्णयबारे साम्पाङले बारम्बार यसो भन्दै आएका थिए।
यद्यपि मेयरको एकल निर्णयका आधारमा शुल्क बढाएको विरोधमा धरानका १० राजनीतिक दल आन्दोलनमा उत्रिएको एक साताभित्रै मेयर साम्पाङ गलेका हुन्।
नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेलका अनुसार मेयर र दलहरूबीच भएको सहमतिमा खानेपानी महसुलको पुरानो दर यथावत राखेर पुर्नविचार गर्ने निर्णय भएको छ।
सहमतिको पहिलो बुँदामा भनिएको छ, ‘खानेपानी महसुल वृद्धिबारे खानेपानी तथा सेवा महसुल निर्धारण आयोगलाई लिखित पत्र पठाई जबाफको आधार मानी जबाफ नआइन्जेलसम्म पुरानो दर महसुल यथावत राखी पुनर्विचार गर्ने निर्णय गरियो।’
मेयरमा निर्वाचित भएदेखि नै खानेपानी बोर्डका अरु सदस्यलाई बैठकमा नबोलाउने, एक्लै निर्णय गर्दै आएका साम्पाङ बोर्डलाई पूर्णता दिन पनि सहमत भएका छन्।
अहिले खानेपानी बोर्डबारेको विवाद उच्च अलदालतमा विचाराधीन भएकाले अदालतको आदेश प्राप्त भएपछि सोही अनुसार हुने निर्णय भएको छ।
सहमतिको तेस्रो बुँदामा खानेपानी बोर्डको आय व्यय विवरण ७ दिनभित्र सार्वजनिक गर्ने निर्णय उल्लेख छ। ‘मेयर साम्पाङको कार्यकाल सुरू भएदेखि अहिलेसम्मको हिसाबकिताब सार्वजनिक गर्ने सहमति भएको हो,’ पोखरेलले भने ‘सहमति अनुसार काम हुनेमा आशावादी छौं।’
साउन १ देखि लागू हुने गरी मेयरले खानेपानीका सबैथरि शुल्क वृद्धि गर्ने निर्णय सार्वजनिक भएपछि १० राजनीतिक दलहरू आन्दोलनमा उत्रिएका थिए। दलहरूको आन्दोलनलाई वेवास्ता गर्दै बसेका मेयर साम्पाङलाई पहिलोपटक गएको साता युवा विद्यार्थीहरुले माफी माग्न बाध्य पारेका थिए।
दलहरुको आह्वानमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले उपमहानगर परिसरमा दिनभर प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रहरीले बल प्रयोग गरेपछि मेयरले माफी मागेका थिए।
‘मेयरमा निर्वाचित हुनु भनेको मनपरी गर्ने लाइसेन्स पाउनु होइन,’ आन्दोलनकारी युवा निकेशराज राईले भने, ‘खानेपानी सित्तैमा खुवाउँछु भनेर मेयर बनेको उहाँले ठूलो आकारमा आफूखुसी शुल्क बढाएपछि आन्दोलन बाध्यता भयो। आगामी दिनका लागि उहाँलाई सहमतिमा अघि बढ्नुपर्छ भन्ने सवक भयो।’
उनले भने जस्तै उपमहानगरको मेयरमा हर्क साम्पाङ विजेता बनेयता धरानमा राजनीतिक दलहरु सधैँ रक्षात्मक देखिए। खानेपानीको स्रोत थप्न श्रम अभियान चलाएका उनी त्यसैको बलमा थप चर्चामा रहे। त्यसैको बलमा उनले धरानमा आफूखुसी सुरू गरेका थिए।
मेयर साम्पाङले दलहरुलाई सधैं दबाउन खोजिरहे। कार्यपालिका बैठकदेखि सार्वजनिक मञ्चसम्म, सामाजिक सञ्जालदेखि समर्थकको भीडसम्म, हर्कले दल र आफ्ना आलोचकलाई निशाना साँधिरहे। यसरी खानेपानीकै मुद्दाले मेयर बनेर शक्तिशाली देखिएका उनी यसपटक खानेपानीकै मुद्दाले निर्णयबाट पछि हट्न बाध्य भए।
खानेपानी शुल्क बढाउँदा यसपटक मेयर साम्पाङले आफ्नै विगतका सहयोगीहरुसमेत गुमाएका छन्।
स्थानीय चुनावका बेला उनलाई जिताउने अभियानमा दिनरात खटिएकामध्ये एक हुन् आरसी साम्पाङ। यसपटक उनै साम्पाङले दलहरूको सभामा पुगेर घोषणा गरिदिए ‘हर्क साम्पाङ प्रमुख बन्न लायक रहेनछन्।’
उनले मेयर साम्पाङमा म मात्रै सही अरू गलत र मैले गरेपछि सकियो भन्ने प्रवृत्ति प्रचुर रहेको पाएको बताए।
खानेपानी समस्याले पिरोलिएको धरानमा सन् २०१२ मा एसियाली विकास बैंकको लगानीमा खानेपानी आयोजना सन्चालन गर्ने निर्णय र सहमति भएको थियो।
सम्झौताअनुसार एडिबीले धरानको दक्षिणमा रहेको जंगलमा डिप–बोरिङ गर्ने र त्यो पानी वितरण गर्न दुई अर्बभन्दा बढी ऋण सहयोग दिने भयो। त्यो परियोजना लागू गर्न पहिलाको खानेपानी संस्थानलाई खारेज गरी धरान खानेपानी व्यवस्थापन बोर्ड गठन गर्ने र संस्थानको सम्पत्ति र संरचना बोर्डमा गाभ्ने निर्णय पनि भएको थियो।
अहिलेका मेयर साम्पाङले सुरूदेखि नै खानेपानी संस्थान खारेज गरी उसको सम्पत्ति बोर्डमा गाभ्नु हुँदैन भन्ने मत राखेका थिए। तैपनि आयोजना अघि बढ्यो। २०१९ डिसेम्बरमा एडिबीको परियोजनाको म्याद सकियो। आयोजना सम्पन्न भयो तर धरानेले चाहिने जति पानी पाउन सकेन।
त्यहीबेलादेखि साम्पाङले ‘दलहरुले षड्यन्त्र गरेर धरानलाई ऋणमा डुबाएको र खानेपानी समस्या जस्ताको तस्तै राखेको’ भन्दै त्यसबाट मुक्ति दिलाउने घोषणा गर्दै मेयर हुने प्रयासमा लागेका थिए। २०७९ को स्थानीय निर्वाचनमा भने सबै दलहरुलाई पछि पार्दै साम्पाङ मेयर चुनिए।
वैशाखमा मेयर चुनिएका उनले अर्को महिना जेठदेखि नै धरानमा खानेपानीको स्रोत थप्ने अभियान घोषणा गरे। खोलाहरुबाट पानी धरान ल्याउने उनको अभियानमा स्थानीयवासी मात्रै होइन, देशका विभिन्न ठाउँबाट दैनिक हजारौँ मानिस श्रमदानका लागि धुइरिए।
त्यही श्रमअभियानको बलमा पकुवाखोला, निशाने खोला, सर्दु, खर्दु र भालुखोलाबाट पानी थपियो। २०८० जेठमा कोकाहा खोलाको पानी पनि थपिएपछि मेयरको अभियानले ठूलो चर्चा पायो।
यसरी खानेपानीको वैकल्पिक स्रोत थपेर वाहवाही कमाएका मेयर साम्पाङले खानेपानी बोर्डलाई चुस्त बनाउने विषयमा भने कहिल्यै ध्यान नदिएको अरु जनप्रतिनिधिको भनाइ छ। यसपटक दलहरूको आन्दोलनका क्रममा उनी बोर्डलाई पूर्णता दिन पनि सहमत भएका छन्।