गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य नेतृत्वको कार्यदलले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट अवकास पाउने प्रावधान हटाउनुपर्ने सुझाव दिएको छ।
जेठ १६ गते बनेको आचार्य नेतृत्वको ६ सदस्यीय समितिले ३० वर्षे सेवा अवधिको कुनै औचित्य नरहेको भन्दै हटाउन सुझाव दिएको हो।
कार्यदलमा आचार्य, सदस्य सचिव कृष्ण गैरे, सदस्यहरू डिआइजी राजन अधिकारी, पूर्व डिआइजी एवं विज्ञ पुरूषोत्तम कँडेल, एपिएफका डिआइजी दिपेन्द्र शाह र ऋषि पौडेल छन्। समितिलाई एक महिना अध्ययन गर्न समय दिइएको थियो।
तर बीचमा सरकार परिवर्तन भएपछि एक महिनाको अवधि थप गरिएको थियो। कार्यदलले अध्ययन सकेर साउन १७ गते गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको संयोजक आचार्यले बताए।
अहिलेसम्म यस विषयमा भएका अध्ययनहरूले पनि ३० वर्षे सेवा अवधिलाई हटाउनुपर्छ भन्ने खालका प्रतिवेदन दिइएको उनले बताए।
‘पहिले पनि यस विषयमा अध्ययन भएका छन्। ती प्रतिवेदनमा पनि के-कस्ता कुराहरू सुझाव दिइएको छ र के गर्दा उपयुक्त हुन्छ भनेर अध्ययन गर्न कार्यदल बनाइएको थियो,’ उनले सेतोपाटीसँग भने, ‘अध्ययन गर्दा सबै किसिमका प्रतिवेदनले ३० वर्षे अवधि हटाउनुपर्छ नै भन्ने सुझाव दिएको छ। हामीले पनि यसलाई हटाउन उपयुक्त नै हुन्छ भनेर सुझाव दिएका छौं।’
नेपाल प्रहरी नियमावली २०७१ अनुसार प्रहरीमा तीन तरिकाले अवकासमा जाने प्रावधान विद्यमान छ।
उमेर हद, पदावधि र ३० वर्षे सेवा अवधिका कारणले अवकासमा जाने प्रावधान छ।
३० वर्षे सेवा अवधिका कारण एकैचोटी प्रहरी अधिकृतहरू ४९-५२ वर्षमै अवकासमा जानुपर्ने बाध्यता रहँदै आएको छ। जसकारण यो सेवा अवधि हटाउनुपर्छ भन्दै प्रहरी अधिकृतहरू पनि लबिइङमा छन्। यसरी हटाउँदा दक्ष जनशक्ति एकैपटक अवकासमा जाँदा संगठनलाई पनि असर पर्ने भन्दै आलोचना हुने गरेको छ।
यही विषयलाई लिएर पनि राजनीति हुने गरेको भन्दै यसलाई हटाउनु उपयुक्त हुने कार्यदलको बुझाव हो।
यसलाई एकैपटक हटाउँदा बढुवाको लाइनमा असर पर्नसक्ने भन्दै यसलाई पनि मध्यनजरमा राखेर सेवा अवधि हटाउन कम्तिमा ६ वर्षदेखि १० वर्षसम्म लाग्ने कार्यदलका सदस्य सचिव कृष्ण गैरेले बताए।
उनका अनुसार नेपाल प्रहरीमा प्रत्येक आर्थिक वर्षमा ६ महिनाको दरले अवधि बढाउँदै लैजाँदा उपयुक्त हुन्छ।
‘सुरूमा साढे ३० वर्ष, त्यसपछि फेरि ६ महिना थपेर ३१ वर्ष थप्दै गएर ६ देखि १० वर्षमा ३० वर्षे सेवा अवधिलाई पूर्ण रूपमा खारेज गर्ने भन्ने सुझाव छ,’ उनले भने।
उनका अनुसार यदि यस वर्ष कोही सेवा अवधिका कारण अवकासमा जाँदैछ भने उनलाई थप ६ महिना सेवामा रहन दिने व्यवस्था गर्न सुझाव दिएको हो। त्यसपछिको वर्षमा ६ महिना वा एक वर्ष थप्ने, फेरि अर्को वर्ष २ वर्ष क्रमश: अवधि थप गरेर विस्तारमा हटाउँदै लग्न सुझाव दिइएको हो।
यसो गर्दा ३० वर्षे अवधि एकै पटक हटाउँदा हुने असर पनि कम हुने उनीहरूको बुझाइ छ।
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काल हटाउनुपर्ने भनिरहँदा सशस्त्र प्रहरी बलमा भने २०९५ पछि मात्रै हटाउँदा उपयुक्त हुने सुझाव रहेको पनि उनले बताए।
‘एपिएफमा २०९५ पछि मात्रै हटाउँदा उपयुक्त हुन्छ भन्ने छ। तर केही आवश्यक परेमा विशेष दरबन्दी सिर्जना गरेर पनि बढुवा गरेर मिलाउन सकिने भन्ने छ,’ उनले भने।
त्यसैगरी नियमावलीमा अहिले प्रहरी महानिरीक्षकको उमेर ५८ वर्ष पुरा हुँदा अवकास जाने प्रावधान छ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वा प्रहरी नायब महानिरीक्षक (डिआइजी) को ५६ र एसएसपी र एसपीको ५५ वर्षमा अवकाशमा जाने प्रावधान छ।
कार्यदलले यसलाई पनि बढाउन सिफारिस गरेको छ। आइजिपीलाई ६० वर्ष, एआइजी र डिआइजीलाई ५९ वर्ष, एसएसपी र एसपी ५८ वर्ष, डिएसपी र इन्स्पेक्टर ५७, वरिष्ठ सई, सई, असई ५४ वर्ष, हवल्दार, जवानलाई ५३ वर्ष र कार्यालय सहयोगीको उमेर हद ५५ वर्षमा अवकाशमा जाने गरी सिफारिस गरेको हो।
प्राविधिकतर्फ भने इन्स्पेक्टर भन्दामुनिका सबैलाई ५८ र त्यो भन्दामाथि ६० वर्षको बनाइएको छ।
राजपत्रांकितको हकमा २० वर्ष र राजपत्र अनंकितको द्वितीयलाई श्रेणीलाई १८ र तृतीय श्रेणी र श्रेणीविहीन कर्मचारीले १६ वर्षमै अवकाश पाउन सक्ने गरी सुझाव दिएको हो। यद्यपि यसरी अवकाश जति वर्षमा अवकाशमा गए पनि २० वर्षपछि मात्रै पाउने गरी सुझाव दिएको सदस्य सचिव गैरेले बताए।
गृह मन्त्रालयले यसलाई प्रहरी ऐनमै समावेश गरी संसदमा पेस गर्ने तयारी गरिरहेको छ।
भदौमा एकैपटक ९० प्रहरी अवकासमा जाँदै
३० वर्षे सेवा अवधिका कारण भदौमा एकैपटक प्रथम र द्वितीय श्रेणीका झन्डै एक सय प्रहरी अधिकारीहरू अवकासमा जाँदैछन्।
भदौ १५ गते १०५ औं व्याचका प्रहरी अधिकारीहरू सेवा अवधिका कारण अवकासमा जान लागेका हुन्।
प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णुकुमार केसी र ११ जना प्रहरी वरिष्ठ उपरीक्षक अवकासमा जाँदैछन्।
अवकासमा जाने एसएसपीहरूमा जीवनकुमार श्रेष्ठ, दिनेशकुमार मैनाली, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, नवीनराज राई, रविकुमार पौडेल, रवीन्द्र रेग्मी, चन्द्रदेव राई र वीरबहादुर ओली छन्।
एसएसपी मात्रै नभएर प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी)हरू पनि अवकासमा जान लागेका हुन्। यसरी अवकासमा जानेहरू ९० जना छन्।
एसपीहरू कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, देवेन्द्रबहादुर पाल, अवदेश विष्ट, नरेन्द्रकुमार कार्की, चित्रबहादुर गुरूङ लगायतले पनि अवकास पाउँदैछन्।