काठमाडौं कमलादीको सडक भासिएर ठूलो खाडल परेपछि सडक विभाग डिभिजन कार्यालयले आइतबारबाट पुनर्निर्माण सुरू गर्ने भनेको छ। तर पुनर्निर्माण क्रममा उक्त सडकमुनि फेला परेको इँटाको भूमिगत संरचना कसरी बनाउने भन्नेबारे प्रश्न उठेको छ।
टुकुचालाई भूमिगत रूपमा बगाउन निर्माण गरिएको उक्त इँटाको संरचना कहिले बन्यो भन्ने अन्यौल छ। यसअघि हात्तीसार क्षेत्रमा यस्तै संरचना फेला परेको थियो, जुन कम्तिमा १३० वर्षअघि वीरशमशेर जंगबहादुर राणाले निर्माण गराएको पुष्टि भइसकेको छ।
कमलादीको भूमिगत संरचना पनि त्यति नै पुरानो हो भने पुरातत्व विभागको अनुमति र सुपरिवेक्षणबिना कुनै पनि निर्माण कार्य गर्नु गैरकानुनी हुन्छ। पुरातात्विक संरचनासम्बन्धी कानुनले सय वर्षभन्दा पुरानो संरचनालाई पुरातात्विक सम्पदा मानेको छ। त्यसलाई पुरानै स्वरूपमा जीवित राख्नुपर्छ भनेर कानुनले भन्छ।
पुरातत्व विभागले कमलादीको सडकमुनि फेला परेको भूमिगत संरचना राणाकालीन हो कि होइन भनेर आइतबार निरीक्षण गर्ने जनाएको छ। त्यसअघि उक्त संरचना थप बिग्रिने गरी कुनै पनि काम नगर्न पुरातत्वले सडक विभागसँग आग्रह पनि गरेको छ।
हामीले पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगसँग शनिबार कुरा गर्दा उनले आइतबार नै आफ्ना कर्मचारी पठाएर उक्त संरचना निरीक्षण गर्ने जानकारी दिइन्।
‘सडक भासिएको जानकारी छ तर त्यहाँ मुनि फेला परेको इँटाको संरचना कति पुरानो हो भन्ने हामीलाई थाहा छैन। आइतबार निरीक्षणपछि मात्र यकिन भन्न सक्छौं,' उनले भनिन्, 'त्यसअघि उक्त संरचनामा खलल् पुग्ने गरी काम नगर्नू भनेर सडक विभागसँग समन्वय गर्दैछौं।'
मानवनिर्मित कुनै पनि संरचना सय वर्ष पुराना छन् भने त्यो पुरातत्व विभागको दायराभित्र पर्ने र त्यस्तो ठाउँमा पुनर्निर्माणका काम गर्दा विभागसँग अनिवार्य समन्वय गर्नुपर्ने उनले बताइन्।
सडक डिभिजन काठमाडौंले भने आइतबारदेखि नै त्यहाँ कल्भर्ट बनाउने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। त्यसका लागि डिजाइन र लगतसमेत तयार भइसकेको डिभिजनका सूचना अधिकारी महानन्द जोशीले बताए।
‘नापजाँच गरेर लगत र डिजाइनसमेत भइसकेको छ। आइतबारदेखि बाँकी प्रक्रिया सुरू हुन्छ,’ उनले भने।
सडक डिभिजनको यो तयारीबारे पनि हामीले प्रधानांगलाई सोधेका थियौं। उनले अहिलेसम्म यसबारे सडक डिभिजनले आफूहरूलाई जानकारी नगराएको र समन्वय पनि नगरेको बताइन्।
‘उहाँहरूले समन्वय गर्नुभएको भए राम्रो हुन्थ्यो, गर्नुभएको छैन। हामी बुझ्छौं,’ उनले भनिन्, 'कुनै पनि पुरानो संरचना भनेको ऐतिहासिक धरोहर हो। त्यसलाई चलाउनु भनेको इतिहास मास्नु हो। नयाँ पुस्तालाई हाम्रा पुर्खाले बनाएको संरचना देखाउन पनि त्यसलाई जीवित राख्नुपर्छ, कानुनले पनि त्यही भन्छ।'
कमलादीको भूमिगत संरचना नयाँ हो भने त्यसमा निर्माण कार्य गर्न पुरातत्वलाई कुनै आपत्ति नहुने, तर हात्तीसारको जस्तै राणाकालीन संरचना हो भने थप अध्ययनपछि मात्र काम अघि बढाउनुपर्ने उनले बताइन्।
यसअघि काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रमा भूमिगत टुकुचा खोतल्दा त्यहाँ १३० वर्ष पुरानो गुम्बज शैलीको राणाकालीन संरचना भेटिएको थियो। त्यसपछि पुरातत्व विभागले नै उक्त संरचना भत्काउन रोक लगायो।
हात्तीसार मात्र होइन, अहिलेको दरबारमार्गदेखि निर्वाचन आयोगसम्मको क्षेत्र वीरशमशेरकै पालामा राणाहरूले अधिग्रहण गरेका थिए र आफ्ना लागि दरबारहरू बनाएका थिए। त्यही दरबार बनाउने क्रममा टुकुचालाई भूमिगत सुरूङ खनेर भित्रभित्रै बग्ने व्यवस्था मिलाइएको थियो। कमलादीमुनि फेला परेको भूमिगत संरचना पनि त्यसैको हिस्सा हुनसक्छ। पुरातत्व विभागको अध्ययनबाट पुष्टि भयो भने यसलाई पनि हात्तीसारको भूमिगत सुरूङजस्तै संरक्षण गर्नुपर्छ।
कमलादीमा सडक भासिएको ठाउँमुनि अहिले पनि टुकुचा बगिरहेको छ। टुकुचाको दायाँबायाँ इँटाको पर्खाल लगाइएको छ। ती इँटा सय वर्षभन्दा पुरानो भएको आकलन गरिएको छ।
सडक डिभिजनका सूचना अधिकारी जोशीले त्यहाँको अवस्थाबारे जानकारी दिँदै भने, 'दुईतिर इँटाको पर्खाल उठाएर बीचमा खोला बगेको छ। ती इँटा सबै हटाइन्छन् र सडकको लेभलभन्दा केही तलसम्म खोलाको दायाँबायाँ सिमेन्ट, ढुंगा र रड प्रयोग गरेर पर्खाल उठाइनेछ। त्यसपछि माथिबाट सडकको सतह बराबर हुने गरी ढलानको स्ल्याब राखेर कल्भर्ट बनाउने तयारी छ।'
लगतअनुसारको बजेट व्यवस्थापनका लागि विभाग हुँदै मन्त्रालयमा प्रस्ताव पठाउने र बजेट सुनिश्चित गरी सोमबारसम्म टेन्डर प्रक्रिया अघि बढाउने उनले बताए।
‘बजेट सुनिश्चित गरी पर्सिसम्म त टेन्डरमा जान्छ। टेन्डर प्रक्रिया ३५ दिनसम्मको हुने हुँदा तुरून्तै कल्भर्ट बनिहाल्ने होइन,’ उनले भने, 'प्रक्रिया चाहिँ थालिहाल्छौं।'
टेन्डरमा जानुअघि पुरातत्व विभागसँग किन समन्वय नगरेको त भनेर हामीले जोशीलाई सोधेका थियौं। उनले सडकको बीच भागमा भासिएकाले कल्भर्ट बनाउन पुरातत्वसँग समन्वय गर्न आवश्यक नरहेको बताए।
'जे जस्तो भए पनि सडकमा परेको कुरा हो। पुरातत्व विभागसँग समन्वय गर्नुपर्दैन। परेछ भने गरौंला,' उनले भने, 'पहिले पनि बनेको थियो, भत्कियो। फेरि बन्छ। हामीले बनाएको पनि भोलि भत्केला, फेरि बनाउलान्।’