सरकारले २०६७/०६८ मा मध्यपहाडी लोकमार्गमा पर्ने १२ वटा बजार क्षेत्रलाई नयाँ सहर बनाउने घोषणा गरेको थियो। पूर्वदेखि पश्चिमसम्म जोड्ने १ हजार ७७६ किलोमिटर लामो मध्यपहाडी लोकमार्गअन्तर्गत कर्णालीमा दुईवटा बजारलाई सहरका रूपमा विकास गर्ने घोषणा गरिएको थियो।
सहर बनाउने भनिएकामा कर्णालीमा दैलेखको राकम र रुकुम पश्चिमको चौरजहारी थिए।
चौरजहारीमा ‘नयाँ सहर आयोजना कार्यालय’ स्थापना भएको ९ वर्ष भयो।
कामको गतिले भने चौरजहारीका बासिन्दामा उत्साह जगाउन सकेको छैन। सहर बन्ने घोषणाले उत्साहित भएका स्थानीयमा कार्यान्वयनको सुस्तताले निराशा पैदा गरेको छ।
तेजबहादुर विष्ट नयाँ सहर बनाउने घोषणा हुनुअघिदेखि नै चौरजहारीमा व्यवसाय गर्थे। केही वर्षमै आफ्नो क्षेत्र सहरमा परिणत हुने र व्यवसायमा लगानी बढ्ने कल्पनाले उनी उत्साहित थिए।
अहिले चौरजहारीको व्यवसाय खस्कँदै गएपछि उनी चिन्तामा परेका छन्।
‘नयाँ सहर बनाउने कुरा त भयो तर घोषणामा मात्र सीमित जस्तो भएको छ,’ तेजबहादुर भन्छन्, ‘आयोजना कार्यान्वयनको ढिलाइले सहर सबैलाई निराश बनाएको छ। जे काम र परिवर्तन हुनुपर्ने थियो त्यो भएको छैन।’
उनका अनुसार जाजरकोट र डोल्पा जिल्लासम्म सिधा यातायात चल्न थालेपछि चौरजहारीको व्यवसाय खस्केको हो। कुनै बेला डोल्पा, जाजरकोट, रुकुम र सल्यानका केही क्षेत्रको मुख्य बजार चौरजहारी नै थियो। चौरजहारी सहरका रूपमा परिणत भएपछि व्यवसाय राम्रो हुने उनको अपेक्षा अझै जीवित छ।
नयाँ सहर आयोजना कार्यालयले चौरजहारीको मुख्य बजार क्षेत्रको सडक दुई लेनमा विस्तार गरेको छ। अहिलेसम्मको प्रगति त्यति रहेको तेजबहादुरको भनाइ छ।
सहरको प्लानिङ क्षेत्रको जग्गाको कारोबार तीन वर्षदेखि रोकिएको छ। आयोजनाअन्तर्गत जग्गा विकासको प्रक्रिया चल्ने भएकाले मुख्य क्षेत्रको जग्गा कारोबार रोक्का गरिएको हो।
तेजबहादुरका अनुसार आर्थिक मन्दीका समयमा जग्गा कारोबार रोकिँदा स्थानीयवासी र निजीक्षेत्रलाई मार परेको छ।
चौरजहारीमा रहेको नयाँ सहर आयोजना कार्यालयका प्रमुख बारम्बार फेरिने गरेका छन्।
कार्यालय स्थापना भएर पनि भौतिक रूपमा खासै प्रगति नभएको चौरजहारीका अर्का व्यवसायी यदुकुमार आचार्यको भनाइ छ।
‘नक्सांकन गरेर बजारको बाटो बनाउने काम सुरु भएको छ। आधुनिक बसपार्क बनाउने पनि काम अघि बढेको छ। यसबाहेक केही पनि परिवर्तन छैन,’ उनी भन्छन्, ‘सहर बनाउने कुरा हुँदा हामीमा उत्साह थियो। सहर बन्ने घोषणा गरिएपछि जुन गतिमा काम हुनुपर्थ्यो त्यो भएन। एकदम सुस्त भयो।’
मध्यपहाडी लोकमार्गमा नयाँ सहर विकास गर्नुको एउटा उद्देश्य नजिकका ग्रामीण क्षेत्रबाट तराईमा हुने बसाइँ सराइलाई रोक्नु हो। अहिलेसम्म सरकारको उद्देश्यअनुसार गतिविधि नभएको तेजबहादुरको भनाइ छ।
‘अहिलेसम्म आसपासका ग्रामीण भेगका मानिसले यहाँ (चौरजहारीमा) घडेरी किनेकै छैनन्। सबै तराईतिर जान खोज्छन्,’ उनी भन्छन्, ‘तराईमा सबै सेवासुविधा भएकोले पनि मानिस त्यता जान खोज्छन्। राज्यले तराइमा पाइने सेवासुविधा उपलब्ध गराउनुपर्छ। अनि मात्र सहर बन्छ।’
चौरजहारी बजार सहरका रूपमा विकास हुँदा पर्यटन र अन्य व्यवसाय राम्रो हुने स्थानीयवासीको अपेक्षा छ।
सहर घोषणा भएपछि व्यक्तिगत संरचना भने विस्तार हुने क्रम बढेको छ। धेरैले आधुनिक सुविधासहितका घर बनाएका छन्। होटल र रेस्टुरेन्टमा पनि लगानी गर्ने गरेको तेजबहादुरले बताए।
आयोजनाले द्रुत गतिमा काम गर्ने हो भने कर्णालीको वीरेन्द्रनगरपछि दोस्रो ठूलो सहर चौरजहारी हुने यदुकुमारको विश्वास छ।
‘चौरजहारी पुरानै बजार हो, व्यवसायका हिसाबले जाजरकोट, डोल्पा, रुकुमको धेरैजसो भाग, सल्यानको केही भाग यही बजारमा निर्भर थियो,’ उनले भने, ‘बजार सहरमा परिणत भयो भने र यसलाई जोडन् सक्ने अरू सडक, पुलजस्ता पूर्वाधार समयमै बने भने अब पनि मुख्य फाइदा भनेको व्यवसायमै हो।’
सहरका रूपमा विकास हुनसके अहिले बन्द भएको चौरजहारी विमानस्थल नियमित सञ्चालनमा आउने अपेक्षा उनको छ।
सहरी अवधारणाअनुसार चौरजहारीको विकासका लागि निजी क्षेत्रले पनि राज्यले भनेअनुसार योगदान गर्ने आचार्यले बताए।
चौरजहारीलाई जोड्ने मुख्य दुई वटा सडक छन्– राप्ती राजमार्गको र जाजरकोट जाने सडक।
राप्ती राजमार्गको थारमारे–चौरजहारी र जाजरकोट जाने सडकको सल्लीबजार–चौरजहारी खण्डको स्तरोन्नतिको काम पूरा भएको छैन।
मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटको कुदु र चौरजहारी जोड्न भेरी नदीमाथि पुल बनेको छैन।
‘बजार क्षेत्रभित्रका मुख्य बाटाहरू व्यवस्थित भए पनि चौरजहारीलाई सिधा जोड्ने सडक राम्रा छैनन्, मध्यपहाडी लोकमार्गको पुल १२ वर्षमा पनि बन्न सकेको छैन,’ तेजबहादुर भन्छन्, ‘यातायात चल्न सक्ने सडक व्यवस्थित नहुँदा र नदीमा पुल नहुँदा यहाँका व्यवसायीले नेपालगञ्ज दाङ, सल्यान, मुसीकोट हुँदै समान ढुवानी गर्नुपरेको छ।’
चौरजहारी सहर विकासको काम निकै सुस्त रहेको चौरजहारी नगरपालिकाका मेयर पुष्प बादीको भनाइ छ।
‘सरकारले सहर घोषणा गरेअनुसारको पर्याप्त बजेट व्यवस्था गरेन्। विनियोजन भएको बजेट पूर्ण कार्यान्वयन हुन सकेन,’ उनले भने, ‘भएको बजेट पनि हुन नसकेपछि काम धेरै सुस्त भयो। निर्माण व्यवसायी र साझेदार कम्पनीहरूको पनि ढिलासुस्ती छ।’
चौरजहारी सहरका लागि मुख्य काम जग्गा विकास (जग्गा एकीकरण) हो। यसको प्रक्रिया अन्तिम चरणमा पुगेको नयाँ सहर आयोजना कार्यालय चौरजहारीका प्रमुख हेमन्त काफ्लेको भनाइ छ।
‘बजारलाई सहरी संरचनामा ल्याउन आवश्यक पर्ने जग्गाको मुख्य काम हुँदै छ। चाँडै जग्गा विकासको काम सकिन्छ। कित्ताकाट गरेर स्थानीयलाई फिर्ता हुन्छ,’ उनी भन्छन्, ‘केही सहरी सडक बनेका छन्। केही निर्माणको चरणमा छन्। स्थानीय सरकारका लागि वडा र नगरपालिकाका भवन बनाएका छौं। बजार क्षेत्रमा सौर्यबत्ती जडान गरेका छौं।’
नयाँ सहर आयोजना कार्यालयका लागि वार्षिक बजेट विनियोजन भएर आउँछ। काफ्लेका अनुसार चालु आर्थिक वर्षमा ११ करोड रुपैयाँ बजेट आएको थियो।
आयोजनाको कार्यालयमा स्थायी र अस्थायी गरी १३ जना कर्मचारीको दरबन्दी छ। अहिले १२ जना कार्यरत छन्।
सबै तस्बिरः दीपकजंग शाही/सेतोपाटी।