पाल्पाको रामपुरका तुल्सीराम रेग्मीले दुई सय वर्षअघि ‘लक्ष्मीनारायण गुठी’ स्थापना गरेका थिए। यस गुठीमा दुई हजार रोपनीभन्दा निकै बढी जग्गा थियो। सबै स्थानीय मोही किसानले भोगचलन गर्थे।
मोहीले जग्गा भोगचलन गरेबापत गुठी संस्थानलाई निर्धारित रकम र अन्न बुझाउँथे।
त्यस्तो रकम र अन्न लक्ष्मीनारायण गुठीले विभिन्न सामाजिकमा लगाउँथ्यो। तुल्सीरामले गुठीकै आम्दानीबाट १८७९ सालमा हालको रामपुर नगरपालिका–४, खोप्टारमा कलात्मक धर्मशाला र वडा नम्बर ५ स्थित कालीगण्डकी किनारमा लक्ष्मीनारायण मन्दिर निर्माण गराएका थिए।
‘पाटी’ भनेर चिनिने उक्त धर्मशाला ‘दरबार’ जस्तो मानिन्थ्यो र सिंगो रामपुरको पहिचान बनेको थियो। उक्त क्षेत्रमा हिँड्ने नेपाली सैनिक र सरकारी कर्मचारीहरू त्यही धर्मशालामा बास बस्थे भनिन्छ।
लक्ष्मीनारायण मन्दिर दर्शनका लागि आउने भक्तजनहरू पनि त्यही धर्मशालामा बास बस्थे। त्यसरी बस्नेहरूका लागि खानाको प्रबन्ध पनि पनि लक्ष्मीनारायण गुठीले नै गर्थ्यो।
बास बस्न होटलहरू नभएको त्यो समयमा पाल्पा, स्याङ्जा, कास्की, तनहुँ, नवलपरासी, लमजुङ, पर्वत र गोर्खासम्मका बटुवाहरू त्यही धर्मशालालाम बास बस्थे भनिन्छ।
रामपुरमा बजार बढ्दै जाँदा होटल खुल्न थाले। सडक यातायात विकास भएपछि धर्मशालामा बास बस्नेहरू घट्न थाले।
समय बित्दै जाँदा लक्ष्मीनारायण गुठीका नाममा रहेको जग्गा भोगचलन गर्ने मोहीहरूले गुठीलाई उत्पादनको हिस्सा बुझाउन छाडे। धर्मशाला र मन्दिरको स्याहार–संरक्षण गर्ने गरी भएको सम्झौता विपरीत मोहीवालाले पैसा र अन्नपात नबुझाउँदा गुठी बेवारिसे बन्दै गयो।
पाहुना आउजाउ हुन छोडेपछि धर्मशालाको स्याहार पनि हुन छाड्यो। समय बित्दै जाँदा धर्मशाला जीर्ण बन्दै गयो। काठका थाम, दलिन, झ्यालढोका मक्किएर भाँचिन थाले। झिँगटीको छानो झर्न थाल्यो।
‘पहिले यहाँको बाटो ओहोरदोहोर गर्ने बटुवा र तीर्थयात्रीहरू रात परेपछि यही धर्मशालामा बास बस्थे। यहाँ एकै रात ३० जनाभन्दा धेरै बस्थे। बास बस्नेलाई खुवाउने व्यवस्था पनि थियो,’ लक्ष्मीनारायण गुठी सञ्चालक समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले भने, ‘यातायात र होटलको विकास भएपछि धर्मशाला बिरानो बन्दै गयो।’
अहिले पनि रामपुर नगरपालिकाका वडा नम्बर ४ र ५ मा २१ सय रोपनी रोपनी भन्दा बढी जग्गा लक्ष्मीनारायण गुठी मातहत छ।
सडक सुविधा र बस्ती बढ्दै जाँदा धर्मशाला उपयोगविहीन बनेको थियो। जीर्ण धर्मशालामा २०७२ सालको भूकम्पले क्षति पुग्यो। भूकम्पपछि धर्मशालाको जीर्णोद्धारका लागि आवाज उठेको भए पनि कतैबाट सुनुवाइ भएन।
सय वर्ष पुराना संरचना पुरातत्त्व विभाग अन्तर्गत रहने व्यवस्था छ तर विभागले पनि ध्यान दिन सकेन।
धर्मशाला र मन्दिर स्थापनाकालमै लक्ष्मीनाराण गुठी बनेको भए पनि २०४९ सालमा मात्र जिल्ला प्रशासन कार्यालय, पाल्पामा दर्ता भएको थियो।
गुठी सञ्चालन रेग्मी परिवारका सदस्यहरूबाट मात्रै हुने गरेकोमा २०७५ साल जेठ २९ गते लक्ष्मीनारायण गुठी समुदायलाई हस्तान्तरण गरियो।
हालै उक्त ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला पुनर्निर्माण गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ३ करोड ६ लाख ५३ हजार रुपैयाँ अनुदानमा पुनर्निर्माण भएपछि धर्मशाला र मन्दिर क्षेत्र पर्यटकहरूको आकर्षक स्थल बनेको बनेको छ।
‘धर्मशाला भनेर बास बस्ने घर मात्र होइन, कालीगण्डकी बेंसीको धार्मिक र सांस्कृतिक सम्पदा हो। लामो समय प्रयोग हुन नसकेपछि समुदायलाई हस्तान्तरण गरिएको थियो,’ अध्यक्ष रेग्मीले भने, ‘म अध्यक्ष भएपछि पुरातत्त्व विभागलाई यसको पुनर्निर्माणका लागि घचघच्याएँ। बल्ल २०७८ सालमा बजेट विनियोजन भएर निर्माण सुरु गर्यौं।’
रामपुर नगरपालिकाले पुनर्निर्मित धर्मशालालाई संग्रहालयका रूपमा विकास गर्ने भएको छ।
‘यो धर्मशाला रामपुरकै गहना हो। यससलाई अब धर्मशालाको रूपमा चलाउन आवश्यक पर्दैन,’ नगरप्रमुख रमणबहादुर थापा भन्छन्, ‘पुराना र लोपोन्मुख अवस्थाका सामग्री संकलन गरेर संग्रहालय बनाउने योजना छ। यसो गर्दा नयाँ पुस्तालाई लाभ हुनेछ।’
भवन निर्माणसँगै संग्रहालय विकास गर्न कविता मल्लको संयोजकत्वमा समिति गठन गरिएको छ।
‘गाउँघरबाटै लोप हुने अवस्थाका पुराना सामग्री; जातजातिका पोसाक, गरगहना, भाँडाकुँडा जस्ता सामग्री संग्रहालयमा राख्ने योजना छ,’ उनी भन्छिन्, ‘हामी सामग्री संकलन गर्दै छौं। संग्रहालय छिटै सञ्चालन हुन्छ।’
संग्रहालयका लागि छुट्याइएको १० रोपनी जमिनमध्ये ५ रोपनीमा संचनाहरू निर्माण गरिएका छन्। संग्रहालय समितिका सचिव इन्द्रबहादुर घर्तीका अनुसार भवन नयाँ भए पनि शैली र धेरै सामग्री पुरानै भवनको छ।
उनले भने, ‘भवनको गाह्रोमा सिमेन्ट प्रयोग भएको छैन। सबै काम पुरातत्त्व विभागको निर्देशन र निगरानीमा भएको छ। चुना र पुराना इँट्टा पिसेर बनाइएको सुर्कीले गाह्रोमा इट्टा जोडिएको छ। सबै संरचना पुरानो भवनको जस्तै छ।’
भवनको छानो चाहिँ फेरिएको छ। पुरानोमा झिँगटीको छानो रहेकोमा अहिले जस्ता पाता लगाइको छ।
धर्मशाला पुनर्निर्माण र संग्रहालय विकासले रामपुरको सांस्कृतिक र पर्यटकीय विकासमा फड्को मार्ने नगरप्रमुख थापाको विश्वास छ।
भन्छन्, ‘पुरानै काष्ठकला प्रयोग गरिएकोले बाहिरी संरचनाले नै सबैलाई लोभ्याइसकेको छ। गाउँघरमा समेत आधुनिकताले परम्परा मासिन थालेका बेला हामीले ठूलो रकम खर्च गरेर हाम्रो सम्पदा जोगाउने प्रयास गरेका छौं।’
लक्ष्मीनारायण गुठीले धर्मशालासँगै कालिगण्डकी किनारमा रहेको लक्ष्मीनारायण मन्दिर पनि पुनर्निर्माण गरेको छ।
त्रेतायुगमा भगवान् रामचन्द्र वनवासमा रहँदा यहाँको कालीगण्डकी किनारामा बास बसेको भन्ने किंवदन्ती छ। रामचन्द्रले कालिगण्डकीमा स्नान गरेको, ऋषिमुनि बोलाएर यज्ञ गरेको र नकिकैको गुफामा केही दिन बसेको भन्ने विश्वास रहेको छ।
यसै आधारमा ‘रामघाट’ नाम रहेको मानिन्छ।
लक्ष्मीनारायण मन्दिरबारे एउटा जनश्रुति प्रचलित छ। विक्रमसम्बत १८७० मा स्थानीयवासी तुल्सीराम रेग्मीले सपनामा भगवान् रामचन्द्रलाई देखे। सपनामै रामचन्द्रले ‘रामघाट क्षेत्रमा लक्ष्मीनारायण मन्दिर स्थापना गरी पूजा गर्नू’ भने।
त्यसैअनुसार तुल्सीरामले वि.सं. १८८९ मा रामघाटमै लक्ष्मीनारायण मन्दिर स्थापना गरे। यस मन्दिरक्षेत्रमा तीर्थयात्रीहरूले स्नान र यज्ञादि गर्ने गरेका छन्।
मन्दिरको संरचना २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको थियो। नगरप्रमुख थापाका अनुसार मन्दिर संरक्षण समितिका अध्यक्ष समेत रहेका बुद्धिप्रकाश रेग्मीकै पहलमा धर्मशालासँगै मन्दिर पनि पुरानै शैलीमा पुनर्निर्माण गरिएको छ।
पुनर्निर्माणपछि नगरपालिकाले उक्त क्षेत्रलाई ‘उत्कृष्ट पर्यटकीयस्थल’ घोषणा गरेको छ। कालीगण्डकी करिडोरको नजिकै रहेकाले पनि मन्दिर क्षेत्रमा चहलपहल बढाएको अध्यक्ष रेग्मीको भनाइ छ।
यस क्षेत्रमा रामनवमी, कृष्णाजन्माष्टी, अक्षय तृतीया र नव वर्षारम्मभमा मेला लाग्ने गरेको छ। शनिबार र सार्वजनिक बिदाका दिन मन्दिरमा दर्शनार्थीहरूको घुइँचो हुने गरेको छ।
अध्यक्ष रेग्मीका अनुसार रामघाटको पौराणिकता तथा धार्मिक महत्त्व जोगाउन ८४ रोपनी जग्गा समावेश गरी २०७४ सालमा १० वर्षे गुरुयोजना बनाएर पूर्वाधार निर्माणको काम अघि बढाइएको थियो।
गुरुयोजनामा प्रवेशद्वार, धार्मिक बस्ती, सानो गौशाला, प्रतीक्षालय, त्रिदेव मन्दिर, विवाह मण्डप, योगगृह, ज्येष्ठ नागरिक स्याहार केन्द्र, सभाहल, अथिति गृह, किरियाघर, पानी ट्यांकी, वनभोजस्थल, गुरुकुल शिक्षा लगायतका संरचना समावेश छन्।
पुरानो लक्ष्मीनारायणको मन्दिर, पौवा, शालिग्राम स्तम्भ, धर्माश्रम लगायतको संरक्षण पनि गुरुयोजनामा समावेश छन्।
पाल्पाको रामपुर नगरपालिका जिल्ला सदरमुकाम तानसेनबाट ६५ किलोमिटर पूर्वमा अवस्थित छ। काठमाडौंबाट करिब ३७५ किलोमिटर पश्चिमतर्फ रहेको छ।
केलादी घाटमा बनेको पक्की पुल चालु भएपछि काठमाडौंबाट रामपुरसम्मको यात्रा २५० किलोमिटरमा सीमित भएको छ।