शुक्रबार बिहान डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीस्थित घोत्नेगडा सामुदायिक वनमा गोली लागेर ३० वर्षीय अमर थापाको मृत्यु भयो।
थापा पूर्वीचौकी–६ गाँजरीकै बासिन्दा हुन्।
उनी खेतीपाती नष्ट गरेको भन्दै बँदेललाई धपाउने र शिकार गर्ने मनसायले वनमा गएका थिए। घरबाट पाँच किलोमिटर टाढा रहेको वनमा गएका उनी बँदेलेको खोजीमा तल्लीन थिए।
शिकार गर्ने मनसायले त्यही वनमा पुगेका दिपालय सिलगढी नगरपालिका वडा नम्बर ८ ल्वाडागडाका ३४ वर्षीय रामबहादुर साउदले चलाएको बन्दुकको गोलीले उनी वनमा पुगेको केही समयमै ढले र घटनास्थलमै ज्यान गुमाउन पुगे।
स्थानीयका अनुसार अमर र रामबहादुर अलग–अलग समूहमा छुट्टाछुट्टै बाटो हुँदै वनमा पुगेका थिए। अमर गाउँको तल्लोबाटो हुँदै वनमा पुगेका थिए। रामबहादुर माथिल्लो बाटो हुँदै पुगे।
अलग–अलग ठाउँबाट गएकाले उनीहरूले एकअर्का वनमा पुगेको चालै पाएनन्। उनीहरूसँग अन्य स्थानीयमा गएका थिए।
उनीहरू आ–आफ्नै धुनमा थिए। यत्तिकैमा रामबहादुरले घटनास्थलको अन्दाजी २० मिटर टाढाबाट बन्दुक ताकेर गोली प्रहार गर्दा उक्त गोली अमरको छातीमा लाग्यो। बन्दुकको गोलीले अचेत बनेका उनको त्यहीँ मृत्यु भयो।
रामबहादुरले बँदेललाई ताकेको गोली निसाना बिग्रिएर अमरलाई लाग्यो कि? वा अञ्जानमा झुक्किएर निशाना बिग्रिएर लाग्यो वा कसरी, किन, के कारणले रामबहादुरले अमरलाई गोली प्रहार गरेका हुन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। अञ्जानमा लागेको हुनसक्ने र स्थानीयको अनुमान छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार अमरलाई रामबहादुरले किन गोली प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार गोली लागेर ज्यान गुमाएका अमर गाउँको एक सामुदायिक विद्यालयमा कार्यालय सहयोगीको काम गर्थे। सामान्य परिवारका उनका दुई छोरा र दुई छोरी छन्। उनको मृत्युपछि परिवार शोकमा छ। उनका छोराछोरीलाई कसरी लालनपालन गर्ने? परिवारलाई अर्को पीर थपिएको छ।
गोली प्रहार गर्ने रामबहादुर पनि सामान्य परिवारका हुन्। उनी खेतीपातीको काम गर्थे।
घटनापछि प्रहरी घटनास्थलबाट दुई वटा भरूवा बन्दुक बरामद गरेको छ। एक बन्दुक रामबहादुरले प्रयोग गरेको र अर्काे बन्दुक कसले प्रयोग गरेको भन्ने विषयमा अनुसन्धान गर्ने काम प्रहरीबाट भइरहेको जनाइएको छ। अर्काे बन्दुक मृतक थापाले प्रयोग गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
घटनास्थल सदरमुकाम दिपायलबाट करिब ४३ किलोमिटर टाढा छ। पूर्वीचौकी गाउँपालिकाबाट पनि करिब दुई घन्टा पैदल दुरीमा छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईको टोली घटनास्थलमा पुगेको थियो।
‘मेरो नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुग्यो, शवलाई लिएर जिल्ला अस्पतालमा पोष्टमर्टमका लागि राख्यौं, पोष्टमर्टमको काम भने धनगढीको सेती प्रादेशिक अस्पतालमा भयो,’ भट्टराईले भने।
घटनामा संलग्न रामबहादुर साउदलगायत अन्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
‘घटनामा अन्यको संलग्नता, सहभागिता छ कि छैन भनेर हामीले रामबहादुरसँगै अन्य तीन/चार जनालाई पनि नियन्त्रणमा लिएका छौं, उनीहरूसँग घटनाबारे बुझ्ने काम भइरहेको छ,’ डिएसपी भट्टराईले भने।
जिल्ला प्रहरी कार्यालय डोटीले म्याद थप गरेर घटनाबारे अनुसन्धानको काम अघि बढाइरहेको छ।
प्रहरीले ज्यान कसुर र अवैध हातहतियार सम्बन्धी अभियोगमा रामबहादुरविरूद्ध मुद्दा दर्ता गरेको छ।