काठमाडौंको त्रिचन्द्र क्याम्पस परिसरभित्र रहेको घन्टाघरको प्रबलीकरण (रेट्रोफिटिङ) गर्ने काम भइरहेको छ।
यो आर्थिक वर्षमा ६० प्रतिशत र बाँकी अर्को आर्थिक वर्षमा प्रबलीकरण सक्ने गरी काम भइरहेको छ।
२०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्र रहेर गएको भूकम्पबाट घन्टाघरमा क्षति पुगेको थियो।
गत वर्षदेखि नै घन्टाघरको प्रबलीकरणको काम सुरू गरिएको थियो।
सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) ले घण्टाघर प्रबलीकरणको काम गर्दै आएको छ।
घन्टाघर प्रबलीकरणको काम न्यु टेक्निकल कन्स्ट्रक्सन कम्पनीले लिएको छ।
साथै घन्टाघरको घडी पनि स्वचालित प्रकृतिको बनाउने तयारी भइरहेको छ।
घण्टा घरको घडीले समय देखाउन छाडेको भन्दै केही समयअघि प्रतिनिधि सभा बैठकमै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।
घन्टाघरको घडीलाई स्वचालित प्रकृतिको बनाउने गरी काम भइरहेको सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) ले जनाएको छ।
ब्याट्री वा बिजुलीबाट नचल्ने घन्टाघरको घडीमा हातैले दम दिनुपर्छ। दम दिने भनेको फलामको ह्यान्डलले मिलको चक्का घुमाएजस्तो घुमाउने हो। जति घुमायो, अचानोजस्तो फलामको डल्लो उति माथि आउँछ। यसकै भारले घडीको सुई घुम्छ। सुई सर्दै जान्छ र त्यो फलामको डल्लो पनि तल झर्दै जान्छ।
घन्टाघरको घडीमा दम दिने काम काठमाडौंको बलम्बु स्थायी घर भएका गणेश सापकोटाले २०४४ सालदेखि गर्दै आएका थिए। उनले अवकाश लिइसकेका छन्।
घन्टाघर वीरशमसेर राणा प्रधानमन्त्री हुँदा निर्माण गरिएको थियो। १९९० सालको भूकम्पले घन्टाघरमा क्षति पुर्याएकोमा मर्मत गरिएको थियो।
तस्बिरहरू: