केही समयअघि काठमाडौंको चम्पादेवी मन्दिर क्षेत्रमा हाइकिङमा गएकाहरूलाई हतियार देखाएर एक समूहले लुटपाट गर्यो।
यो घटना असार १५ गतेको हो। लालबहादुर खड्कासहित सात जनाको टोली असार १५ गते बिहानै हाइकिङमा गएका थिए।
बिहान करिब साढे ६ बजेको हुँदो हो, एउटा समूहले खड्कासहितलाई हतियार देखाए, धम्क्याए, साथमा भएको मोबाइललगायत सामान लुटेर त्यो समूह क्षणभरमै भाग्यो।
लालबहादुरसहित हाइकिङमा गएको समूहलाई हतियारधारी समूहले कुटपिट र लुटपाट गरेका थिए। यो कुरा थाहा पाएर केहीबेरमा स्थानीयहरू पनि चम्पादेवी मन्दिर क्षेत्र पुगे। स्थानीयले खिचेको भिडिओ पछि सामाजिक सञ्जाल फेसबुकमा भाइरल पनि भयो।
काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ५ स्थित चम्पादेवी मन्दिर हाइकिङ गर्ने स्थलको रूपमा चिनिन्छ।
घटनास्थलमा लुटेरा समूहले फालेको डोरीसमेत फेला परेको थियो। लुटेरा समूहले लालबहादुरसहित उनको समूहमा रहेकाहरूसँग रहेका ८ थान मोबाइल पनि लुटेका थिए।
सामाजिक सञ्जालमा भिडिओ आएपछि र स्थानीय बासिन्दाले पनि असुरक्षा भएको जानकारी गराएपछि हाइकिङका लागि परिचित चम्पादेवीलगायत ठाउँहरूमा काठमाडौं प्रहरीले उच्च निगरानी बढाएको थियो।
चम्पादेवी घटनालाई भने प्रहरी बृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको थियो।
असार २८ गते फेरि यस्तै घटना घट्यो अर्को हाइकिङ स्थल, काठमाडौंकै तारेभिरमा। बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ तारेभिर जाँदै गरेका एक युवा र एक युवतीलाई चार जनाको समूहले नियन्त्रणमै लियो। यो बेलुकी ९ बजेतिरको घटना थियो।
चार जनाको समूहले युवा र युवतीलाई बेलुकी ९ बजेतिर नियन्त्रणमा लिएर भोलिपल्ट बिहान ४ बजेतिर छाडेका थिए। उक्त समूहले दुवै जनालाई यातना दिएर युवतीमाथि जबरजस्ती करणीको उद्योगसमेत गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर उक्त समूहले बिहानपख मोबाइल लुटेको पाइएको छ। मोबाइल लुटेको उक्त समूह सोही क्षेत्रमा बसेका थिए।
असार २९ गते बिहान करिब साढे १० बजेतिर बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने बागद्वारमा दीपक शर्मासहित ६ जनाको टोली हाइकिङमा पुगेका थिए।
चार जनाको समूहमा रहेको सोही लुटेरा समूहले शर्मासहितलाई हतियार देखाएर ६ वटा मोबाइल र दुइटा घडी लुटे।
यही लुटेरा समूहले गिरिजा शान्ति पार्क क्षेत्रमा पुगेर दिनेश पोखरेलसहितबाट दुइटा मोबाइल र राति साढे ११ बजेतिर प्रविण शेर्मा लिम्बूसमेतबाट दुइटा सुनको औंठी र सिक्री पनि लुटेको खुलेको छ।
तारेभिर क्षेत्रमै श्रृंखलावद्ध लुटपाटको घटना भएपछि जिल्ला प्रहरी परिसरले काठमाडौंका सबै हाइकिङ क्षेत्रमा प्रहरी परिचालन गरेको थियो। तर पनि लुटेरा समूह नियन्त्रणमा लिन सकेको थिएन।
प्रहरी परिचालन भए पनि लुटपाट रोकिएन। साउन १२ गते नागार्जुन नगरपालिका वडा नम्बर ७ स्थित कलंकीबाट कालुपाँडेको सालिक भएको ठाउँ जाने बाटोमा बिहान करिब ११ बजेतिर विन्दवासिनी जंगलमा लुटपाट भयो।
बा ए-ए ०५३१ नम्बरको कारमा ६ जना घुम्न गएका थिए। लुटेरा समूहले जंगलको बाटोमा गाडी रोक्यो। खुकुरी देखाएर उनीहरूलाई धम्क्याए। उनीहरूले लगाएका सुनका औंठी, सिक्री, लकेट, ब्रासलेट लगायत ७ तोला ६४ लालको सुनका गहना र ४.७९ तोलाको चाँदीको ब्रासलेट र १३ हजार चार सय रुपैयाँ उक्त समूहले लुट्यो।
लुटेरा समूहले गाडी नै रोकेर सुनलगायत नगद नै लुटेको जानकारी यसपालि भने प्रहरीले अलि छिटै थाहा पायो। यो सूचना पाएको जिल्ला प्रहरी परिसर काठमाडौंले नागार्जुनको स्युचाटार क्षेत्रमा चेकप्वाइन्ट राख्यो। त्यहीँ लुटेरा समूह आइपुग्यो। तीन जना सँगै रहेको खबर प्रहरीलाई थियो तर स्युचाटार आइपुग्दा एक जना मात्रै थिए। लुटेरा समूहका ती व्यक्तिलाई प्रहरीले पक्राउ गर्यो।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ फूलबारीका ५२ वर्षीय माइला भन्ने धनबहादुर स्याङ्ताङलाई प्रहरीले पक्राउ गरेको थियो। उनको साथबाट दुइटा खुकुरी र विन्दवासिनी जंगलबाट लुटेका सुनका गरगहना र नगद बरामद भयो। साथै उनको साथबाट चम्पादेवीमा लुटिएको एउटा मोबाइल सेट पनि बरामद भएको थियो।
एसपी नवराज अधिकारीका अनुसार माइला नै काठमाडौंका हाइकिङ क्षेत्रमा भइरहेका लुटपाटका घटनाका मुख्य योजनाकार हुन्।
उनकै समूहले गत वर्ष चैत २९ गते चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ चाखेल देउराली टहरामा सञ्चालन गरिएको होटलमा एक लाख ७ हजार नगद र सुनका गहना चोरी गरी फरार भएको थियो। माइलाकी श्रीमतीको नाममा रहेको एनसेलको सिम भएको फोन पनि बरामद भएको थियो।
माइला पक्राउ परे पनि हाइकिङ गर्ने ठाउँमा लुटपाट गर्ने अन्य व्यक्तिहरू खुलेको थिएन। तर प्रहरीको केरकारपछि उनकै परिवारका सदस्यहरू पनि लुटपाटमा संलग्न रहेको खुलेको छ।
को-को व्यक्ति लुटपाटमा संलग्न थिए भन्ने प्रहरीले नाम सार्वजनिक गरेको छैन। उनले छोरा, सालोलगायत आफ्नै परिवार र आफन्तसँग मिलेर हाइकिङ गएका मानिसहरूको साथमा रहेका सामान र नगद लुट्ने गरेका थिए।
‘माइला भन्ने व्यक्ति नै लुटेरा समूहको मुख्य योजनाकार हुन्। उनीहरू धेरैजसो हाइकिङ गर्न आउने ठाउँमा पुगेर लुटपाट गर्थे,’ एसपी अधिकारीले भने, ‘लुटपाट गरिसकेपछि उनीहरूले लगाएको कपडा फुकालेर झोलामा हाल्ने र अर्कै लगाएर हिँड्ने रहेछन्।’
उनकाअनुसार माइला आपराधिक पृष्ठभूमिकै व्यक्ति हुन्।
२०६९ जेठ ८ गते ललितपुरको खोकनामा रहेको बालगृहमा खुकुरी र पेस्तोल लगायत हतियार देखाएर माइलाको समूहले २ लाख ७६ हजार चोरी गरेका थिए।
पीडितलाई जबरजस्ती करणीसमेत गरेको कसुरमा उनलाई पक्राउ गरेको थियो। त्यही वर्ष असार १७ गतेदेखि डाँका चोरी तथा जबरजस्ती करणी मुद्दामा ११ वर्ष ६ महिना २४ दिन नख्खु जेलमा बसेका थिए।
उनी गत वर्ष माघ ११ गते मात्रै छुटेका थिए। उनी जेलबाट छुटेको केही महिना नबित्दै पुन: लुटपाटको धन्दामा सक्रिय भएका हुन्। प्रहरीले उनको समूहमा रहेका अन्य व्यक्तिहरूलाई पनि खोजी गरिरहेको छ।