ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको फ्लाइ ओभरको ७७ प्रतिशत काम (भौतिक प्रगति) सकिएको छ।
यसअघि ओभरपास असार मसान्तभित्रै सञ्चालनमा ल्याइने भनिएको थियो।
आगामी कात्तिकभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको गुणस्तर अनुसन्धान विकास केन्द्रका प्रमुख राकेश महर्जनले जानकारी दिए।
'यसअघि असारभित्रै सञ्चालनमा ल्याउने तयारी गरे पनि जेठको पहिलो साताबाट वर्षा सुरू हुँदा काम गर्न सकिएको थिएन,' उनले सेतोपाटीसँग भने, 'अहिले पनि वर्षाका कारण काममा अवरोध आइरहेको स्थिति छ।'
वर्षा कम भएसँगै भदौको पहिलो साताबाट निर्माण कार्य पुनः सुरू हुने उनको भनाइ छ।
'पानी परिरहेको हुँदा पहुँच सडकको काम ८० प्रतिशत सकिएको छ भने अझै २० प्रतिशत बाँकी छ,' उनले भने, 'पानी परिरहेको बेला उक्त खण्डमा काम गर्न मिल्दैन।'
वर्षामा पहुँच सडक खण्डमा ग्राभेल गरेर कम्पाक्सन गर्नुपर्ने हुन्छ। तर जेठ पहिलो सातादेखि परेको पानीका कारण उक्त काम गर्न नपाइएको उनी बताउँछन्।
उनकाअनुसार अहिले पानी पर्दा पनि अवरोध नहुने काम भइरहेको छ। अहिले ओभरपासमा ढलान, फिनिसिङ लगायत काम बाँकी छन्। त्यसैगर ट्राफिक लाइट हाल्ने, पेन्टिङहरू गर्ने, सडकपेटी बनाउने लगायत काम पनि बाँकी छ।
यस आयोजना निर्माणको ठेक्का आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ। कम्पनीले २०८० फागुन १२ गतेभित्र काम सक्नेरी ठेक्का पाएको थियो। तर डिजाइन परिवर्तन हुँदा तोकिएको अवधिमा निर्माण नसकिएको कम्पनीको बताएको थियो।
अहिले उक्त आयोजनाको १० महिना अवधि थप गरिएको छ भने २०८१ पुससम्म निर्माण कार्य सक्नुपर्ने छ।
यो आयोजनाको ठेक्का इन्जिनियरिङ प्रोक्युमेन्ट एण्ड कन्स्ट्रक्सन (इपिसी) मोडलको हो। इपिसी मोडल भनेको ठेकेदार आफैँले डिजाइन गर्ने उसैले निर्माण गर्ने हो।
इपिसी मोडलमा विविध कारण लागत बढे पनि यसमा ठेकेदार नै जिम्मेवार हुनुपर्छ। यस्तो आयोजनाको काम तोकिएको अवधिमा नसकिँदा म्याद थप गर्नुपर्ने उपयुक्त कारण नभए सरकारले निर्माण कम्पनीलाई हर्जना तिराएर काम गर्न लगाउने व्यवस्था थियो।
सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनले भने म्याद सकिएका तर खरिद सम्झौता अनुसार काम चालु रहेका खरिद सम्झौतामा डिजाइन परिवर्तन लगायत विभिन्न कारण तोकिएको अवधिमा काम नसकिएका वा सकिने आधार नदेखिएका आयोजनाको म्याद थप गर्न सकिने व्यवस्था गरेको छ।
उपत्यकामा धेरै जाम हुने क्षेत्रमध्ये एक ग्वार्को चोकमा लामो समय अगाडिदेखि चर्चामा रहेको ओभरपास २०७९ मंसिर १६ गतेदेखि निर्माण सुरू गरिएको हो।
निर्माण सुरू भएको १६ महिनाभित्र निर्माण सक्ने लक्ष्य थियो।
यस्तो ओभरपास नेपालमै पहिलो पटक बन्न लागेको हो। यसमा पिलर प्रयोग हुँदैन। स्लोप (भिरालो) पारेर हाइट (उचाइ) बनाउने र ओभरहेड ब्रिज रहन्छ। चक्रपथ सडकको फास्ट ट्रयाकमा यस्तो स्लोप रहन्छ।
ग्वार्को चोकबाट पश्चिम अर्थात् बिएन्डबी अस्पतालतर्फबाट चोकसम्म १८५ मिटरको लामो स्लोप बनाइनेछ। त्यसैगरी बालकुमारीतर्फबाट ३२० मिटरको अर्को स्लोप बनाइने छ।
यसबीचमा ३५ मिटरको ओभरहेड ब्रिज रहन्छ। यसरी कुल ५४० मिटरको ओभरपास निर्माण हुन लागेको हो। स्लोपको चौडा १६ मिटर रहन्छ। ओभरपास चार लेनकै रहन्छ। बीचका लेनमा ओभरपास रहे पनि दायाँबायाँ सर्भिस लेनहरू हालकै अवस्थामा रहन्छन्।
ओभरपास निर्माणपछि ग्वार्को चोकमा हुने ट्राफिक जाम हट्ने विश्वास सरकारको छ। ग्वार्को चोकबाट आरपार गर्ने सवारीहरू ३५ मिटरको ओभरहेड मुनीबाट गुड्ने हुँदा जाम नहुने अपेक्षा छ।