धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३, तुलसियाही निवासी ७० वर्षीया हलिमा खानुतको नागरिकता प्रमाणपत्रमा फोटो खराब भएको छ। उनी प्रतिलिपि लिन चाहन्छिन्।
अघिल्लो साता बिहीबार जिल्ला प्रशासन कार्यालय, धनुषाको प्रतिलिपि शाखाको झ्यालअगाडि लाइन लागेको पाँच दिन भएको थियो। बिहानदेखि उभिँदा उनको गोडा दुःखेर कठिन भयो।
उनलाई छोरा मुन्ना अन्सारीले पालो दिए। हलिमा नजिकैको चौतारोमा बसेकी थिइन्।
झ्यालको एकापट्टि भित्तामा लेखिएको छ– पाकेटमारदेखि सावधान।
आमालाई पालो दिएर मुन्ना लाइनमा बस्नेबित्तिकै कर्मचारी ‘खाजा खान’ गए। भित्र कर्मचारी नहुँदा बाहिर लाइनमा केही व्यक्ति सोधीखोजी गर्दै गरेका देखिन्थे– तपाईंको काम के हो? लाइन लागेको कति बेर भयो? कर्मचारीले के भनेको छ? इत्यादि।
एकजना सेवाग्राहीका अनुसार यसरी सोधीखोजी गर्नेहरू दलाल (बिचौलिया) हुन्। उनीहरूले पैसा दिएर छिटो काम गराइदिन्छन्।
‘खाजा खाएर’ एक घण्टापछि कर्मचारीहरू आए। लाइनमा उभिएका सेवाग्राहीहरू कागजपत्र देखाउँदै उछिनपाछिन गर्न थाले। त्यही भिडबाट मुन्नाले धेरै पटक सोधे– सर, मेरो काम कहिले हुन्छ?
भित्रबाट कुनै जबाफ आएन। हलिमा आफै अघि सरेर सोधिन्, उनले पनि जबाफ पाइनन्। त्यस दिन पनि काम भएन, आमाछोरा निराश भएर घर फर्के।
‘वडा कार्यालयबाट सिफारिस लिएर २९ गते नागरिकता लिन आउँदा सरजमिन गर्नू भनेर लेखिदियो। सबै गरेर आएपछि रेकर्ड खोज्नुपर्छ, भोलि आउनू भन्यो,’ हलिमाले गुनासो गरिन्, ‘ब्लड प्रेसर (उच्च रक्तचाप) को बिरामी छु। यहाँ दिनभर उठबस गर्दागर्दै ढाड दुखेको छ। बिरामी देखेर पनि कर्मचारीलाई दाया लाग्दैन। पाँच दिन भयो धाएको नागरिकता (प्रतिलिपि) पाउने उम्मिद (आशा) छैन।’
हलिमा ‘वृद्धभत्ता’ लिन जाँदा बैंकले फोटो सहितको नागरिकता खोजेपछि उनी प्रतिलिपि लिन आएकी हुन्। आमालाई सघाउन मुन्ना एक हप्ताअघि काठमाडौंबाट घर (धनुषा) आएका हुन्।
‘म काठमाडौंमा बुटिक चलाउँछु। मन्दीले व्यापार राम्रो छैन। एक हप्ता भयो बुटिक बन्द गरेको। यसरी कहिलेसम्म धाउनुपर्ने हो, ठेगान छैन,’ उनी भन्छन्, ‘जहिले नागरिकता (प्रतिलिपि) बनिहाल्यो, बुझ्नू कि मैले जंग (लडाइँ) जितिहाले।’
जनकनन्दनी गाउँपालिका, खजुरी निवासी इन्द्रादेवी पनि नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिने लाइनमा थिइन्। उनले यसरी लाइन लागेको ६ दिन भएको बताइन्। बिचौलियाले काम गरिदिन्छु भनेर पैसा मागेको र त्यो नदिँदा आफ्नो काम नभएको गुनासो उनले गरिन्।
‘दलाल (बिचौलिया) थिए कि भित्रका मानिस (कर्मचारी) थिए, म चिन्दिनँ; तिनले मेरी बुहारीसँग पाँच हजार रुपैयाँ मागेका थिए। एक दिनमै सबै काम गराइदिन्छु भन्थे,’ इन्द्रादेवले भनिन्, ‘हामीसँग पैसा थिएन। गाडीभाडा तिर्नुपर्छ। वडामा गएँ, थाना (प्रहरी चौकी) गएँ। त्यहाँ पनि पैसा बुझाएँ, सबै कागज बुझाएँ। अझै नागरिकता (प्रतिलिपि) पाएको छैन।’
कर्मचारीले प्रमाण पुगेन भनेका छैनन्, प्रतिलिपि बनाइदिएका पनि छैनन्। कहिले भन्छ भन्ने पनि उनलाई थाहा छैन। उनको प्रश्न छ, ‘हामी इन्डियन (भारतीय) हो र यति धेरै दुःख दिनलाई?’
जिल्ला प्रशासन कार्यालय, धनुषामा नागरिकता प्रमाणपत्र बनाउन र त्यसको प्रतिलिपि लिन आउने सेवाग्राहीले खेप्नु परेको यो नयाँ होइन। सेवाग्राहीले यस्तै गुनासो गर्ने गरेका छन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का अनुसार कर्मचारीमा भन्दा बढी समस्या सेवाग्राहीमा छ।
केही दिन अघि सेतोपाटीसँग कुरा गर्दै प्रजिअ रामुराज कडरियाले भनेका थिए, ‘नागरिकता ऐनअनुसार चाहिने प्रमाण कर्मचारीले माग्नै पर्छ। सेवाग्राहीले सबै प्रमाण ल्याएका हुँदैनन् अनि कर्मचारीले काम नगरिदिएको भनेर पत्रकारसँग गुनासो गर्छन्।’
उनका अनुसार कर्मचारीबाट हुने मानवीय त्रुटि हुनेबाहेक अन्य तरिकाले सेवाग्राहीले दुःख दिएका छैनन्।
सेवाग्राहीहरूको गुनासो प्रजिअको जिकिरभन्दा फरक छ।
सेवाग्राहीको कागजपत्र हेरेर कर्मचरीले कुनकुन कागजपत्र नपुगेको हो भनेर एकैपटक भन्दैनन्। एउटा प्रमाण ल्याएपछि फेरि अर्को लेऊ भन्छन्। यसैगरी बारम्बार दुःख दिइरहन्छन् भन्ने सेवाग्राहीहरूको गुनासो रहिआएको छ।
नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन कागपत्र मिलाइरहेका थिए मिथिला नगरपालिका–९, बेंगाडाबरका ७३ वर्षीय बेचन गजमेर। उनी गत असार १८ गतेदेखि नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन जिल्ला प्रशासन कार्यालय धाइरहेका छन।
आफ्नो प्रयासले मात्र नभएपछि उनले एकजना नेताको सहयोग लिए।
उनले भने, ‘२० गते (असार) सनाखत भयो तर फेरि एउटा झ्यालबाट अर्कोमा पठाउँछन्, अर्कोबाट अर्कोमा पठाउँछन्, काम भएको छैन।’
बेचनका अनुसार उनले मतदाता परिचयपत्र, खेतको लालपुर्जा, वडा कार्यालयको सिफारिस, प्रहरीले गरेको सरजमिन सबै बुझाएका छन्। मागेका सबै कागजपत्र बुझाउँदा पनि प्रतिलिपि पाएका छैनन्।
उनी भन्छन्, ‘सरकारले कर्मचारीलाई तलब नदिएर हो कि किन हो, मेरो काम गरिदिएका छैनन्।’
आफ्ना श्रीमान् शत्रुधन महतोको नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन आएकी थिइन् लीलादेवी। फोटो खराब भएकाले प्रतिलिपि लिन आएको उनले बताइन्।
उनका अनुसार प्रतिलिपि शाखाकी एक जना कम्पयुटर अपरेटरले फाइल मागिन्। एकछिन् हेरिन् र झ्लाबाट फ्याँकिदिइन्।
उनले भनिन्, ‘म धाएको दुई हप्ता भयो। वडाको सिफारिस, मुचुल्का, सरजमिन, पुरानो नागरिकता, लालपुर्जा सबै बुझाइसकें तर रेकर्ड भेटिएन भनेर कर्मचरीले दौडाएको दौडायै छन्, नागरिकता (प्रतिलिपि) दिँदैनन्।’
जनकनन्दनी गाउँपालिका–५ का देवकुमार मण्डलका अनुसार उनी आफ्नो नागरिकता प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय धाएको २३ दिन भयो। उनी बुबाको नागरिकता प्रमाणपत्रमा एउटा अक्षर फरक परेर हैरान छन्।
बुबाको नागरिकता प्रमाणपत्रमा ‘सुरत मण्डल’ नाम लेखिएको छ। जिल्ला प्रशासन कार्यालयको रेकर्डमा ‘सुरेत मण्डल’ लेखिएको छ।
कर्मचारीले भनेअनुसार देवकुमारले वडा कार्यालयको सिफारिस, जग्गाको लालपुर्जा र सरजमिन रिपोर्ट लगायत सबै प्रमाण पेश गरेका छन् तर उनले नागरिकता प्रमाणपत्र पाएका छैनन्।
देवकुमार भन्छन्, ‘हरेका दिन कार्यालय आउँछु र फर्केर जान्छु। हरेक दिन आउनजान मात्रै अढाई सय रुपैयाँ लाग्छ। घुस माग्न आउँछन् तर मैले दिएको छैन।’
देवकुमारको फाइल हेरेका नायब सुब्बा भीम लामाले फाइल अध्ययन भइरहेको बताए। उनले भने ‘बैंक खातामा सुरेत लेखिएको छ। अभिलेखमा पनि सुरेत छ, नागरिकतामा सुरत छ। अनुसन्धान हुँदैछ।’
यसबारेमा कहिले निर्णय हुन्छ भनेर आफूले दिन तोक्न नसक्ने बताए।
जिल्ला प्रशासन कार्यालय, धनुषाका सूचना अधिकारी समेत रहेका सहायक प्रजिअ विष्णुप्रसाद भूसालका अनुसार प्रतिलिपि लिन दैनिक सरदर ५० जना सेवाग्राही आउँछन्। एकै दिनमा सबैको काम हुँदैन, पालोमा बस्नुपर्छ।
उनले कार्यालयमा बिचौलिया आउने गरेको पनि स्वीकार गरे। बिचौलियाको प्रभाव अन्त्य गर्न प्रयास भइरहेको पनि उनले बताए।
सहायक प्रजिअ भूसाल कार्यालयका गुनासो सुन्ने अधिकारी पनि हुन्। उनका अनुसार कर्मचारीले काम नगरिदिएको भन्ने गुनासो आइरहन्छ।
‘सेवाग्राहीले सबै कागजात ल्याएका हुँदैनन्। अभिलेखको समस्या छ। कतिपय पुराना अभिलेख भेटिँदैनन्। अभिलेख नभएपछि कर्मचारीले सबै कागजपत्र माग्नुपर्छ,’ उनी भन्छन्, ‘कोही दिनदिनै कार्यालय आउँछन्। केही कागजपत्र छाडेर जान्छन् र महिना दिनपछि आउँछन् अनि एक महिनामा पनि काम भएन भन्छन्।’
भूसालका अनुसार करिब १० प्रतिशत सेवाग्राहीको मात्र गुनासो हुने गरेको छ। अभिलेख नभेटिएको र कागजपत्र पूरा नभएको अवस्थामा कामका लागि बढी समय लाग्ने गरेको उनको भनाइ छ।
गत साता बिहीबार जिल्ला प्रशासन कार्यालयको प्रतिलिपि शाखाको झ्यालबाहिर लाइन लागेका अधिकांशले कर्मचरीप्रति गुनासो गरे। सेतोपाटीले १८ जना सेवाग्राहीसँग कुरा गर्दा कर्मचारीले समयमा काम नगरिदिएको बताए।
कर्मचारीले आफ्नो प्रश्नको सिधा जबाफ नदिने र झर्केर बोल्ने गरेको सेवाग्राहीहरूको आरोप छ। सहायक प्रजिअ भूसालले पनि कर्मचारीले नराम्रो व्यवहार गरेको भन्ने गुनासो आउने गरेको बताए।
‘सेवाग्राहीसँग असल व्यवहार गर्न कर्मचारीलाई भन्ने गरेका छौं। हामी सेवा प्रवाह राम्रो बनाउन हरेक हप्ता मिटिङ (बैठक) पनि गर्छौं,’ उनी भन्छन्, ‘सेवाग्राहीसँग राम्रो व्यवहार नगर्ने पुरानो संस्कार छ। कर्मचारी र सेवाग्राहीबीच अलिक दूरी छ। हामी दूरी घटाउने प्रयासमा छौं।’