भूकम्पले चर्किएको जाजरकोट दरबारलाई थप क्षति हुनबाट रोक्न त्रिपालले ढाकिएको छ।
गत साता मात्र मुख्य दरबारका सबै भवनहरूलाई त्रिपालले ढाकिएको हो। भूकम्पले दरबारको छानो र भित्तामा क्षति पुगेकाले त्यसभित्र वर्षातको समयमा पानी पर्नबाट रोक्न त्रिपालले ढाकिएको हो।
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जिल्ला वन कार्यालय जाजरकोटमार्फत दरबार त्रिपालले ढाकिएको हो।
‘भूकम्पका कारण दरबारको कुनै भागमा छानो खसेको छ, भित्ताहरू फाटा भएका छन्,’ जिल्ला वन कार्यालय जाजरकोकाट प्रमुख राधाकृष्ण दासले भने, ‘ती फाटा र भत्किएको छानोभित्र पानी पसेर थप क्षति नहोस् भनेर त्रिपालले ढाकिएको हो।’
प्रमुख दासका अनुसार यही काम यसअघि उपभोक्ता समितिमार्फत गराउन खोज्दा ढिला भएको हो। यसअघि उपभोक्ता समिति बनाएर काम गर्न सम्झौता भएपनि अन्तिममा समितिले काम गर्न नसक्ने बताएको उनले जानकारी दिए।
उपभोक्ता समितिमार्फत यही काम गराउन मन्त्रालयमार्फत १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। अहिले कार्यालय आफैंले यही काम गर्दा ४ लाख हाराहारीमा खर्च आउने प्रमुख दासले बताए।
‘यो बर्खा सुरु हुनुअघि नै गरिसक्नुपर्थ्यो, समितिसँग सम्झौता गरिएको हो तर अन्तिममा आएर सक्दैनौं भन्नुभयो,’ उनले भने, ‘हामीले आफैं काम गर्दा सस्तो पनि परेको छ।’
कार्यालयले मोरङको एउटा कम्पनीबाट त्रिपाल अर्डर गरेको हो। कम्पनीले तोकिएअनुसारको त्रिपाल तयार गरी जाजरकोट पठाइदिएको थियो।
कार्यालयका अनुसार जाजरकोट दरबारको चार वटा भवनमध्ये पहिलो भवनमा ७१०१.६ वर्गफिट, दोस्रोमा ३१६३.४४ वर्गफिट, तेस्रोमा ३१०९.६४ वर्गफिट र चौथोमा ५१२१.७६ वर्गफिट प्लास्टिकले ढाकिएको छ।
गत वर्ष कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भुइँचालोले ऐतिहासिक जाजरकोट दरबार चर्किएको थियो। दरबार चर्किएपछि त्यसबाट सञ्चालन भइरहेका जिल्ला प्रशासन लगायतका सेवामूलक कार्यालय अन्यत्र सारिएको थियो।
‘सेतो दरबार’ का रूपमा समेत चिनिने जाजरकोट दरबारले तेस्रोपटक भूकम्पको क्षति व्यहोरोको हो। यसअघिका दुइटा विनासकारी भुइँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए। दुवैपटक दरबार पुनर्निर्माण गरिएको थियो।
विक्रम सम्वत् १९९० माघ २ गते नेपाल र भारत केन्द्रबिन्दु भएर गएको ८ म्याग्निच्युडको भूकम्पले जाजरकोट दरबार पूर्णरूपमा भत्किएको थियो। त्यसपछि जाजरकोटी जनताको श्रमदानमा पुनर्निर्माण गरिएको थियो।
१९९० सालकोको भूकम्प जानुभन्दा ३८ वर्षअघि १८५२ सालमा उक्त निर्माण गरिएको थियो। तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलंगा क्षेत्रको सबभन्दा अग्लो भाग छनोट गरेर दरबारको निर्माण गरिएको थियो।
त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो। जसलाई १८२५ सालमा राजा हरि शाहले बनाएका थिए।
रातो दरबार बनेको २७ वर्षपछि राजा इन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर अर्को दरबार बनाएका थिए। यो दरबार सुरूमा बनाउँदा पनि जाजरकोटी राजाको आदेशमा जनश्रमदान गरिएको थियो। राजा इन्द्रनारायणका पालामा दरबार कति तलाको थियो भन्ने यकिन भने छैन। भूकम्पले भत्काएपछि भने तीन तला बनाइएको थियो।
दरबारको पुनर्निर्माण गर्दा भक्तपुरबाट नेवार समुदायका इञ्जिनियर बोलाइएको थियो।
जाजरकोट दरबारले दोस्रो पटक भूकम्पीय क्षति भोगेको २०४५ सालमा हो। उदयपुर केन्द्रबिन्दु रहेको ६.९ रेक्टर स्केलको उक्त भूकम्पले दरबारको पश्चिम भागमा क्षति पुगेको थियो। क्षति भएको उक्त भागलाई २०५१ सालमा पुनर्निर्माण गरिएको थियो।
जाजरकोट दरबारबाट इन्द्रनारायण पछिका सात जना राजाले शासन गरेका थिए। दरबारबाट शासन चलाउने अन्तिम राजा प्रकाश विक्रम शाह थिए। इन्द्रनारायणभन्दा अघिका जाजरकोटी राजा हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मले रातो दरबारबाट शासन चलाएका थिए।
राज्य सञ्चालन हुने सेतो दरबार र रातो दरबारमार्फत् २०१७ सालदेखि सरकारी अड्डा सञ्चालन हुन थालेका थिए। प्रकाश विक्रमपछिका राजाहरू २०१७ देखि नै ती दरबारमा बस्न छोडेका थिए।
२०१७ सालमै जाजरकोटी राजा प्रकाशविक्रमले नेपाल सरकारलाई ६० हजार रुपैयाँमा जाजरकोट दरबार सरकारलाई बेचेपछि सरकारी सम्पत्तिका रूपमा दर्ज भएको थियो।
केही वर्षअघि नेपाल सरकारले सूचीकृत गरेको देशका एक सय पर्यटकीय गन्तव्यभित्र जाजरकोट दरबार पनि परेको छ।
सबै तस्बिर: प्रिन्स चन्द