हरेक वर्ष कुनै न कुनै अपराधका ठूला घटना हुने गरेका छन्। विशेषगरी जघन्य अपराधका घटनाहरू चर्चामा आउँछन्।
कर्तव्य ज्यान, जबरजस्ती करणी, जबरजस्ती करणीपछि हत्या, अपहरण लगायतका घटनालाई जघन्य अपराधको रूपमा मान्ने गरिन्छ। यस्ता कतिपय घटना सहजै अनुसन्धान गर्नमा प्रहरी सफल हुने गरेका छन् भने कतिपय घटना भने सुल्झिन समय लाग्ने गर्छ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आर्थिक वर्ष २०८०/८१ मा कर्तव्य ज्यानका घटनामात्रै ५७६ वटा भएका छन्। जुन अघिल्लो वर्षभन्दा वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ५०१ र २०७८/०७९ मा ५९० हत्याका घटना भएका थिए।
त्यस्तै, जबरजस्ती करणीको तथ्यांक हेर्दा एक वर्षमा मात्रै २ हजार ५०७ वटा मुद्दाहरू दर्ता भएका छन्। गएको आर्थिक वर्षमा संगठित अपराधका १४ वटा घटना भएका छन्।
तथ्यांकमा हेर्दा सबैभन्दा धेरै मुद्दा दर्ताको संख्या सार्वजनिक हितविरूद्धको कसुरमा छ। एक वर्षमा १० हजार ७५६ वटा मुद्दाको अनुसन्धान गरी दर्ता गरिएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार यी तथ्यांक सार्वजनिक गरेको हो। तथ्यांकसँगै एक वर्षमा ९ वटा प्रमुख घटनाको अनुसन्धान गर्न प्रहरी सफल भएको पनि जनाएको छ।
केन्द्रीय प्रवक्ता एवं डिआइजी दानबहादुर कार्कीले ९ वटा अपराधका घटनाको अनुसन्धान गर्न प्रहरी सफल भएको बताएका थिए।
घटना नम्बर १:
गत वर्ष भदौ २९ गते रातिमा काठमाडौंको तीनकुनेस्थित दिव्य स मिलमा चार जनाको शव फेला परेको थियो। चार जनाको विभत्स तरिकाले हत्या गरेको फेला परेको थियो। यसरी चार जनाको हत्या भएपछि प्रहरीलाई अपराध अनुसन्धान गर्न ठूलो चुनौती सिर्जना भएको थियो।
सोही मिलमा काम गर्ने दोलखा घर भई तीनकुने बस्ने ५६ वर्षीय कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी ५० वर्षीया श्रीमती अम्बिका, कुमारकी ७६ वर्षीया आमा सुभद्रा र धनकुटा घर भई सो मिलमा बस्ने विशाल राईको हत्या भएको थियो। घटना भएको दुई दिनपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको थियो।
सिन्धुपाल्चोक बाह्रबिसेका २३ वर्षीय सञ्जय भण्डारी पक्राउ परेका हुन्। बोल्न-सुन्न नसक्ने उनले नवीन भन्ने विशालसँगको रिसइबीका कारण हत्या गरेको र पछि अन्यले पनि प्रहरीलाई बताउने डरले हत्या गरेको बयान दिएका थिए।
घटना हुनु केही समयअघि विशालले चाबहिलमा मोटरसाइकलले ठक्कर दिएको र त्यसपछि पनि उनलाई नै कुटपिट गरेको निहुँमा हत्या गरेको खुलेको हो।
यस घटनालाई प्रहरीले सफल अनुसन्धानको रूपमा लिएको छ। यद्यपि उनले नै अन्य व्यक्तिहरूको समेत हत्या गरेको प्रहरीसमक्ष बयान दिएका थिए। तर त्यसबारे प्रहरीले पुष्टि हुने आधार भने भेटाउन सकेको थिएन।
घटना नम्बर २:
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गत फागुन २४ गते साँझ ५ बजे एक जना युवतीको शव फेला परेको थियो।
स्थानीयले दुई वटा हातमात्रै गाडिएको अवस्थामा शव फेला पारेको थियो। शव निकालेर अनुसन्धान गर्दा मृतक गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ बस्ने १८ वर्षीया सुष्मा लामा रहेको खुलेको थियो।
उनी माघ २२ गतेदेखि नै हराइरहेकी थिइन्। बिहान विद्यालय जाने भनेर हिँडेकी उनी बेपत्ता थिइन्। परिवारले प्रहरी वृत्त बौद्धमा माघ २५ गते हराएको भन्दै निवेदन दिएका थिए। त्यसबीच चैत ४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको थियो।
उनी गोकर्णेश्वर नगरपालिका ३ का २१ वर्षीय रूपेन्द्र लामा थिए। एकतर्फी प्रेम रहेको कारण नै हत्याको कारण बनेको खुलेको थियो। रूपेन्द्रले प्रेम प्रस्ताव राख्दा पनि अस्वीकार गर्दा हत्या गरेको खुलेको हो।
घटना नम्बर ३:
गत जेठ १६ गते दिउँसो साढे १२ बजेतिर महोत्तरीको महोत्तरी गाउँपालिका-२ स्थित एनएमबी बैंकमा लुटपाट भएको थियो।
हतियारधारी व्यक्तिहरू करिब ४/५ जनाको समूहमा आएका थिए। बैंकका कर्मचारी र सेवाग्राहीलाई पेस्तोल देखाएर १५ लाख १ हजार ४९३ रुपैयाँ लुटपाट गरी भागेका थिए। लुटपाटपछि उनीहरूले नम्बर नखुलेको दुई वटा मोटरसाइकलमा चढेर भागेको प्रारम्भिक अनुसन्धानमा खुलेको हो।
त्यसमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतीय नागरिक अन्दाजी २० वर्षीय अजय कुमार र धनुषा मुजर्नीया मुखियापट्टी बस्ने २२ वर्षीय अनर्जीत रामलाई पक्राउ गरेको थियो। यद्यपि तीन जना भने अझै फरार नै छन्।
घटना नम्बर ४:
गत मंसिर २८ गते धनुषामा ५ वर्षीया नाबालिकामाथि बलात्कारपछि हत्या भएको थियो।
राति करिब साढे ७ बजेतिर सबैला नगरपालिका-९ बस्ने नाबालिकामाथि बलात्कार गर्दा रून थालेपछि हत्या भएको थियो। हत्यापछि पनि नाबालिकालाई पोखरीमा फालिएको थियो।
बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा सबैला नगरपालिका-९ बस्ने ३१ वर्षीय विनोदकुमार राय र कमला नगरपालिका-६ बस्ने २४ वर्षीय रोशनकुमार मुखिया छन्।
घटना नम्बर ५:
गत भदौ ३० गते बिहान पौने ७ बजे सल्यान त्रिवेणी गाउँपालिका-२ झाले ढुंगास्थित एकतले घरमा आमा-छोरी मृत फेला परेका थिए।
बिहान अबेरसम्म पनि नउठेपछि छिमेकीले ढोका खोलेर हेर्दा कोठामा आगलागी भएर जलेको जस्तो फेला परेको थियो। २९ वर्षीया रेवती थापा र ९ महिनाकी ऋतु थापा मृत फेला परेका थिए। उनीहरूको हत्या आरोपमा प्रहरीले सिद्धकुमाख गाउँपालिका-२ खानीगाउँ बस्ने २८ वर्षीय कर्णबहादुर बस्नेत र २८ वर्षीया गीता कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रेम सम्बन्धका कारण उनीहरूले आगो लगाएर हत्या गरेको खुलेको हो।
घटना नम्बर ६:
गत वर्ष काठमाडौंको तीनकुनेमा भएजस्तै सामूहिक हत्या मुगुमा पनि भएको थियो। कात्तिक १० गते बिहान १० बजे मुगु छायाँनाथ रारा नगरपालिका-६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको शव फेला परेको थियो।
श्रीदेवी बोहोरा, उनका छोराहरू मनोज, रहर र अप्सरा पनि मृत फेला परेका थिए। घटनामा चारै जनाको हत्या गरिएको अवस्थामा फेला परेको थियो। घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय र सिआइबीबाट समेत प्रहरीको टोली खटिएको थियो।
लामो अनुसन्धान गरी १३ दिनपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा सोही वडाको कोटिला बस्ने ३० वर्षीय गोपाल बोहोरा र वडा नम्बर ७ बस्ने ३० वर्षीय गोर्खराज शाही छन्। गोर्खबहादुर मृतक परिवारका नातेदार हुन्। जो यस घटनाका मुख्य योजनाकार समेत रहेको खुलेको हो।
मृतक श्रीदेवीका श्रीमान वैदेशिक रोजगारीका लागि कतारमा थिए। त्यहाँ उनले मनग्य रकम कमाउने थाहा पाएकाले लुटपाट गर्ने योजना बनाएका थिए। थुप्रै सुन र नगद पाउने आशमा गोर्खबहादुरले गोपालसँग योजना बनाएर हत्या गरेको खुलेको हो। उनीहरूले दुई तोलाको सुन लिएर फरार भएका थिए।
घटना नम्बर ७:
पर्वतको जलजला गाउँपालिका-२ राममन्दिरमा गत चैत २० गते श्रीमान र श्रीमती मृत फेला परेका थिए।
६९ वर्षीय सूर्यबहादुर घर्ती र ६७ वर्षीया उनकी श्रीमती कमला घर्ती मृत फेला परेका थिए। दुई तले पक्की घरको भुइँ तलामा दुई जना रगताम्मे अवस्था थिए। यस घटनाको अनुसन्धान गर्न सिआइबी नै खटिएको थियो। घटनास्थलबाट गहना हराएको अवस्था थियो। घटना भएको एक महिनापछि सिआइबीले वैशाख १८ गते दुई जना आरोपीलाई पक्राउ गरेको थियो।
जलजलामै पर्ने ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र कुश्मा घर भई पोखरा बस्ने ३२ वर्षीय दिपक दर्जी पक्राउ परेका हुन्।
उनीहरूले सुनको गहना र नगद लुट्ने उद्देश्यले हत्या गरेको खुलेको हो। कृष्णबहादुरलाई पर्वतबाटै र दिपकलाई पोखराबाट पक्राउ गरिएको थियो।
उनीहरूबाट आधा तोला गालिसकेको सुन बरामद गरेको थियो।
घटना नम्बर ८:
गत मंसिर ६ गते चितवन भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित सडक कल्चर्ट मुनि दुई वटा बोराभित्र दुई जनाको शव फेला परेको थियो। बोरा भित्र एक जना पुरूष र एक जना महिलालाई बाँधेर बोराभित्र राखिएको अवस्थामा शव फेला परेको थियो। उक्त घटनामा मृतक दुबै जनाको पहिचान खुलाउन नै प्रहरीलाई हम्मेहम्मे परेको थियो।
प्रहरीले विभिन्न कपडा सार्वजनिक गरी पहिचान खुलाउने प्रयास गर्यो। तर सकेन। पछि स्केच नै सार्वजनिक गरेको थियो।
पछि मृतकको पहिचान भारतबाट खुलेको हो। मृतक महिला अस्मिता भनिने ३० वर्षीया सन्जुदेवी र ऋषभकुमार कुशवाहको शव फेला परेको थियो।
आरोपी भने अस्मिताका श्रीमान अखिलेश भएको खुलेको थियो। उनले सुरूमा ऋषभकुमारसँग मिलेर भारतमै अर्का साथी २२ वर्षीय रितेश साहको हत्या गरेका थिए।
पछि उनले आफ्नै श्रीमती र अर्का साथी ऋषभकुमारको पनि हत्या गरेको खुलेको हो। उनले विवाहेत्तर सम्बन्धका कारण हत्या गरेको खुलेको थियो।
उनलाई नेपाल प्रहरीले पक्राउ गर्नुअघि नै भारतीय प्रहरीले रितेशको हत्या आरोपमा पक्राउ गरिसकेको थियो। हाल अखिलेश भारतस्थित कारागारमा सजाय काटिरहेका छन्।
घटना नम्बर ९:
असार १ गते चितवनको कालिका नगरपालिका-६ खोले सिमलस्थित विनोद सुनचाँदी पसलमा चोरी भएको भनिएको थियो। दुई व्यक्तिले हतियार देखाएर दुई करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुन, चाँदी र हिराका गरगहना लुटेर लगेको भनेर हल्ला फैलाइएको थियो। उक्त सूचनापछि प्रहरीले अनुसन्धान थालेको थियो।
तर प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरूले नै योजना बनाएर नक्कली लुटपाटको योजना बनाएका थिए।
व्यवसायी आफैंले नै बिमाको रकम दाबी गर्नका लागि नक्कली लुटपाटको योजना बनाएको खुलेको थियो।
यस घटनामा प्रहरीले सञ्चालक विनोद सुनुवारसहित ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो।
सञ्चालक विनोदसँगै व्यवस्थापक विजय विश्वकर्मा, चोरीको नाटक गर्न पूर्णबहादुर विश्वकर्मा, पवनकुमार पासवान, र धनमाल लुकाउन सहयोग गर्ने अन्जना पुडासैनी केसी पक्राउ परेका थिए।
उनीहरूमाथि प्रहरीले चोरी तथा डाँका कसुरमा अनुसन्धान गरिरहेको छ।