भौतिक पूर्वाधार विकास मन्त्रालयको इन्जिनियर हुँ भन्दै रूपन्देही र पोखराका होटल र ट्याक्सी चालकलाई ठगेको आरोप लागेका एक व्यक्ति बेपत्ता भएका छन्।
घर पश्चिम नवलपरासीको बर्दघाट र नाम नैनसिंह चौधरी बताउने ती व्यक्ति निर्माणाधीन सिद्धबाबा सुरूङमार्गको अनुगमनको लागि आएको भनेर बुटवलको कालिकानगरस्थित ‘वेस्टर्न एसियन होटल’ मा एक साता बसेका थिए।
वेस्टर्न एसियन होटलका एक सञ्चालक शोभाखर बन्जाडेका अनुसार ती व्यक्तिले असार २३ गते बिहान साढे ११ बजे होटलमा आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि राखेर कोठा बुक गरेका थिए।
ती व्यक्ति टाउकोमा बेसबल क्याप र मुखमा हमेसा कालो मास्क लगाउँथे। बस्दाबस्दै होटलका कर्मचारीसँग पारिवारिक सदस्य जस्ता भएका थिए।
तिनले रूपन्देहीका विभिन्न आयोजनामा कार्यरत ५० जना इन्जिनियहरूसँग आयोजनाबारे छलफल गर्ने र एक रात होटलमै बस्ने भनेर खाजा र खानाको दररेट तय गरी साउन २ गतेका लागि हल र थप कोठा बुक गराएका थिए।
तिनको हाउभाउ र बोलीव्यवहारबाट होटलका कर्मचारीहरू उनी मन्त्रालयका इन्जिनियर हुन् भन्नेमा ढुक्क थिए।
हल र थप कोठा बुक गराएका ती व्यक्तिले असार ३० गते होटलका सञ्चालकसँग ४० हजार रूपैयाँ मागे।
बुटवलबाट पोखरा पुगेर ती व्यक्तिले लेकसाइडको ‘द एसियन होटल’ र ट्याक्सी चालकलाई पनि ठगे।
असार ३१ गते बिहान पोखराको द एसियन होटलबाट बुटवलको वेस्टर्न एसियन होटलका अर्का सञ्चालक लक्ष्मण बन्जाडेलाई फोन आयो।
त्यही फोनपछि उनीहरूले आफूहरू ठगिएको थाहा पाए।
‘पोखराको द एसियन होटलबाट नैनसिंह चौधरी भन्ने व्यक्ति तपाईंको होटलमा बसेको हो कि होइन भनेर फोन आयो। मैले हो, ८ दिन यहाँ बसेर हिजो साँझ पोखरा जानुभएको हो भनें,’ लक्ष्मणले भने, ‘त्यो व्यक्ति त ठग रहेछ, राति यहाँ बसेर ट्याक्सी चालकलाई अलपत्र छोडेर बिहानैदेखि फरार छ भनेपछि म झसंग भएँ।’
लक्ष्मणले ती व्यक्ति बसेको कोठामा खोलेर हेरे। उसको कुनै सामान थिएन। ठगिएकै हो भन्ने पक्का भयो।
उनका अनुसार असार ३० गते बिहान होटलबाट निस्किएका ती व्यक्तिले अनलाइनमार्फत मगाएको सामानको पैसा तिर्न नपाएको भनेर ४० हजार रूपैयाँ ‘क्युआर’ गरिदिन आग्रह गरे।
लक्ष्मणले विश्वास गरेर क्युआर कोडमार्फत ४० हजार रूपैयाँ पठाइदिए।
त्यसअघि ती व्यक्तिले अनलाइनमार्फत मोबाइल फोन सेट मगाएका थिए। अनलाइनको मान्छे डेलिभरिका आउँदा तिनी होटलमा थिएनन्। तिनले फोन गरेर रकम बुझाएर मोबाइल राखिदिनू भनेर आग्रह गरे। साँझ फर्केर आउनासाथ नगद फिर्ता गरे।
ती व्यक्तिले ४० हजार रूपैयाँ ‘क्युआर’ गरिदिन आग्रह गर्दा ट्याक्सी चालक केशव सापकोटाको फोन प्रयोग गरेका थिए।
केशवले भने, ‘मेरो मोबाइलमा रकम ट्रान्सफर हुने बित्तिकै मैले उसकै नम्बरमा पठाइदिएँ।’
केशवलाई पनि किन सिधै आफ्नो मोबाइलमा नमगाएर मेरोमा मगायो भन्ने शंका लागेको थियो तर उनले कुनै समस्या पर्यो होला भन्ने ठाने। थप शंका गरेनन्।
ती व्यक्ति असार ३० गतेसम्म बुटवलमा बस्दा ‘पठाओ’ भाडामा लिएर घुम्थे। चालकसँग उनले आफू सैलुङ कन्स्ट्रक्सनको इन्जिनियर हुँ भनेका रहेछन्।
आफू साउन पहिलो हप्तासम्म बुटवलमै बस्ने, होटल र यातायातको सबै खर्च मन्त्रालयबाट एकैपटक भुक्तानी हुने भनेर होटलका मुख्य व्यक्तिलाई विश्वास दिलाएका थिए।
पठाओ चालकलाई पनि त्यसै भनेका थिए। कामकै सिलसिलामा पोखरा जानुपरेको र भोलि नै फर्कने भन्दै असार ३० गते लु १ ज ३६९१ नम्बरको ट्याक्सी लिएर पोखरा गए।
पोखरा पुगेर लेकसाइडको द एसियन होटलमा ३० गते रातिका लागि आफूलाई र ट्याक्सी चालकलई एकएक कोठा बुक गरेर बसे। भोलिपल्टै बिहानैदेखि ती व्यक्ति सम्पर्कविहीन भए।
त्यसपछि उनले आफ्नो मोबाइल फोन बन्द राखेका छन्। बुटवल र पोखराका होटलमा फोन नम्बर टिपाएका थिए। त्यही नम्बरबाट होटलमा फोन गर्थे।
ट्याक्सी चालक केशव सापकोटाका अनुसार ती व्यक्तिले ३१ गते बिहान बैठक छ, ठिक समयमा पुग्नुपर्छ भनेका थिए। बिहान ती व्यक्ति कोठामा थिएनन्। त्यसपछि बेपत्ता भए।
‘आज पोखरा जानुपर्ने भयो। भोलि बुटवल फर्किएपछि भाडा दिन्छु भनेको थियो, भाडा १५ हजार (रूपैयाँ) दिने कुरा थियो,’ केशवले भने, ‘पोखरा पुगेपछि भोलिपल्ट बिहानै मलाई र होटललाई ठगेर गरेर फरार भयो।’
केशवमार्फत नै पोखराको होटलले बुटवलको होटलमा सम्पर्क गरेको थियो।
केशवले इलाका प्रहरी कार्यालय, बुटवलमा ठगीको उजुरी दिएका छन्।
वेस्टर्न एसियन होटल र पठाओ चालकले पनि ती व्यक्तिविरूद्ध प्रहरीमा उजुरी दिएका छन्। होटल सञ्चालकले नगद ४० हजारसहित कोठाभाडा, खाना र खाजाको गरी ६० हजार रूपैयाँभन्दा बढी ठगेर फरार भएको जनाएका छन्।
‘एक महिना बस्ने, इन्जिनियरहरूको भेला गर्ने र होटललाई राम्रो बिजनेस दिने भनेर हामीलाई ढुक्क पारेका थिए,’ लक्ष्मणले भने, ‘कामको सिलसिलामा सरकारी व्यक्तिहरू आउँथे, होटलमा बस्थे। अन्तिममा कार्यालयबाटै भुक्तानी हुन्थ्यो। अहिले पनि त्यस्तै होला भन्ठानेका थियौं, ठग रहेछ।’
पठाओ चालक अनन्त डुम्रेले उसलाई सात दिन रूपन्देहीका विभिन्न ठाउँमा पुर्याएको र साउनको पहिलो साता एकैपटक भाडा दिने भनेको बताए। उनले उल्टै सापटी भन्दै ३ हजार रूपैयाँ दिएको पनि बताए।
अनन्तले भाडा बापतको १८ हजार र सापटीको ३ हजार गरी २१ हजार रूपैयाँ ठगेको भन्दै इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका छन्।
ती व्यक्ति असार २१ गतेदेखि २३ गतेसम्म योगीकुटीस्थित ‘द फ्लामिंगो’ होटलमा बसेर त्यहाँ पनि पैसा नतिरी हिँडेको थाहा भएको छ। फ्लामिङगोमा पनि चाइना कन्स्ट्रक्सन कम्पनीले बनाइरहेका आयोजनाहरूको अनुगमनको लागि मन्त्रालयबाट आएको भनेका रहेछन्।
‘उसको कुरा सुन्दा सहज लाग्थ्यो। चाइना कन्स्ट्रक्सनले गरेका कामको अनुगमनको लागि मन्त्रालयबाट आएको भनेर २१ गतेदेखि २३ गतेसम्म होटलमै बसेको थियो,’ द फ्लामिंगोका महाप्रबन्धक भानुकुमार राईले भने, ‘अरू पाहुना पनि आउँछन्, थप तीन वटा कोठा चाहिन्छ भनेको थियो तर २३ गते होटलबाट निस्किएको व्यक्ति त्यसपछि सम्पर्कमा छैन।’
भानुकुमारका अनुसार ती व्यक्तिको कुरा गर्ने शैली र व्यवहार सामान्य थियो। दुई दिनको बिलमा १८ हजार रूपैयाँ छ।
‘मान्छे हेर्दा, कुरा गर्दा सबै नर्मल (सामान्य) लाग्थ्यो। अनुगमनका लागि मन्त्रालयबाट आएको भनेपछि हामीले चाइना कन्स्ट्रक्सनमा पनि सोधेका थियौं,’ भानुकुमारले भने, ‘कन्स्ट्रक्सनले त्यस्तो कुनै जानकारी छैन, होटलको खर्च व्यक्तिसँगै लिनू भनेको थियो।’
ती व्यक्तिले द फ्लामिंगोमा टिपाएको मोबाइल नम्बर असार २३ गतेदेखि बन्द छ।
इलाका प्रहरी कार्यालय, बुटवलले होटल सञ्चालक, ट्याक्सी चालक र पठाओ चालकले दिएको उजुरीमा अनुसन्धान भइरहेको जनाएको छ।
इलाका प्रहरीका प्रमुख रहेका डिएसपी विजयराज पण्डितले कार्यालयमा आएको निवेदनका आधारमा फरार व्यक्तिको खोजी भइरहेको बताए।