जाजरकोटको भेरी नगरपालिका–३ की बिरता विश्वकर्माको २०६८ सालमा बनेको घर भूकम्पले भत्कायो। गत वर्ष कात्तिकमा गएको भूकम्पले उनको दुई तले कच्ची घर भत्काएको हो। त्यसयता केही समय त्रिपालमा दिन बिताएका उनको परिवार दुई कोठाको अस्थायी टहरा बनाएर त्यसमा सरेका छन्।
टिनले छाएको अस्थायी टहरामा दुई वटा साना कोठा छन्। चार जना नै त्यही टहरामा बस्दै आएका छन्। अस्थायी टहरा बनाउन सरकारले ५० हजार रूपैयाँ सहयोग गरेको थियो। प्रभावितले त्यसको दोस्रो किस्ता भने प्राप्त गरेका छैनन्। बिरताको टहरा बनाउन मात्र ७० हजार रूपैयाँ खर्च भएको छ।
उनको परिवारलाई त्यही टहरामा बस्न पनि सुरक्षित लागेको छैन।
‘टहरा पनि पानी पर्न सुरू भएपछि तल्लो भाग भत्किएर फेरि मर्मत गरेको हो, कच्ची नै भए पनि घरमा बसेजस्तो टहरामा बसेको नहुनेरहेछ,’ उनले भनिन्, ‘घरमा हुँदा सुरक्षित छु जस्तो लाग्थ्यो, टहरामा त घाम लाग्यो भने भित्र बस्न मिल्दैन, पानी पर्यो भने टिन बजेर सुत्न सकिँदैन, अझै चिसो समय त आउनै बाँकी छ।’
बिरतालाई जस्तै अस्थायी टहराभित्र त्रासमै बर्खा काटिरहेका बिरसिं कामीलाई पनि आउने हिउँदको चिन्ता सुरू भइसकेको छ। बर्खामा घाम–झरीले सताएजस्तै हिउँदमा टिनमुनि चिसोले दु:ख दिने डर उनलाई छ।
‘बर्खामा टहराभित्र जमिनबाट पानी पसेर दु:ख दियो, जमिन भासिएर टहरासहित खस्ने अरू जोखिम छ,’ बिरसिंले भने, ‘हिउँदमा पनि यत्तिकै बस्नुपर्यो भने शीत परेर सताउने होला, समयमै घर बनाउन सकिएन भने त अझै कति पो जोखिम आउने हो।’
जेनतेन बनाएको घर भूकम्पले भत्किकाइ दिएपछि अहिले टहरामा परिवार अटाउन मुस्किल भएको उनले बताए। टहरामा अहिले उनीसहित श्रीमती, छोरी, नातीनातिना बस्छन्। भूकम्पले भत्किएर आधा बनेको घर बर्खामा फेरि पानीले भत्काएको उनले बताए। बिरसिंहले टहरा बनाएको तल्लो भागका माटो बसेर जोखिम बढेको छ।
नानकला बुढाको अस्थायी टहरा पनि वर्षातका कारण भत्किन थालेको छ। उनले टहराको तल्लो भागमा पानी नपसोस् भनेर प्लास्टिकले ढाकेकी छन्। भूकम्पले चर्किएको जनिमभित्र पानी पसेपछि टहरा पनि जोखिममा रहेको नानकलाले बताइन्।
सरकारले समयमै घर बनाउन सहयोग गरिदिए हुन्थ्यो भन्ने नानकलालाई लागेको छ।
‘घाम लागेको दिन गर्मी भएर भित्र बस्न सकिँदैन, बिहान निस्किएर बेलुका भित्र पसे पनि हुन्छ,’ उनले भनिन्, ‘अब यसरी सधैँ पनि बस्न सकिँदैन, आफैले घर बनाउने क्षमता छैन, सरकारले सहयोग गरिदिएको भए हामीलाई बास बस्न सहज हुने थियो।’
नानकलाको परिवारमा पनि चार जना छन्। छोराछोरीलाई पढ्न समेत टहरामा मुस्किल पर्ने गरेको उनले बताइन्।
‘घरमा बस्दा जस्तो टहरामा बस्दा नहुने रहेछ, राति सर्प–कीरा आएर टोक्लान भन्ने पनि उत्तिकै डर छ, छोराछोरीलाई पनि घरमा जस्तो पढ्ने वातावरण नहुने भयो।’
२०८० कात्तिक १७ गते गएको ५.७ रेक्टरस्केलको भूकम्पबाट प्रभावित परिवारहरू अहिले अस्थायी अवासमा बसिरहेका छन्।
उनीहरूलाई अस्थायी आवास निर्माणका लागि भनेर सरकारले ५० हजार रूपैयाँ सहयोग गरेको थियो। कतिपय परिवारलाई गैरसरकारी संस्थाहरूले पनि आवास निर्माणका लागि आर्थिक तथा सामग्री सहयोग गरेका थिए।
भूकम्पले शैक्षिक संस्थामा क्षति पुगेपछि प्रभावित बालबालिकाहरूहरूलाई अस्थायी अवासमा स्वःअध्ययनका लागि समेत समस्यामा परेका छन्।
‘घर नभएपछि टहरामा बसेका छौं, पानी नै भित्र पस्दिन्छ, सर्प, कीरा भित्र आउलान् भन्ने डर पनि उत्तिकै भयो,’ भेरी नगरपालिका–३ का नवीन महराले भने, ‘पढ्न पनि समस्या भएको छ, घरमा बसेर पढेको जस्तो टहरामा बसेर हुँदैन, घरमा बस्दा छुट्टै व्यवस्थित कोठा थियो।’
सरकारले घर बनाउन सहयोग गरेमा स्वःअध्ययनका लागि सहज हुने उनले बताए।
भूकम्पपछि आफूलाई गासकाे भन्दा बढी खाँचो बस्ने बासको भएको सीता सुनारले बताइन्।
‘हामीलाई रोजगारी दिनुपर्छ भन्ने छैन, पहिले ज्यालामजदुरी गरेरै जीविकोपार्जन गरेको हो, अब पनि त्यसैगरी गर्न सकिन्छ,’ उनले भनिन्, ‘तर टहरामा बसेर धेरै समय कटाउन मुस्किल छ, भूकम्पको भन्दा बढी डर टहरामा बस्दा अरू कुराको हुनेरहेछ।’
भूकम्पबाट प्रभावित जाजरकोटका परिवारमध्ये ४८ हजार ५१७ परिवार लाभग्राहीका रूपमा सूचीकृत भएका छन्। तीमध्ये ४१ हजार ३३८ परिवारलाई अस्थायी आवासका निर्माणका लागि सम्झौता भएको थियो।
तीमध्ये ३४ हजार ९५४ वटा अस्थायी आवास निर्माण भएका तथ्यांक जिल्ला विपद व्यवस्थापन समितिसँग छ। निर्माण भएको अस्थायी आवासमध्ये २ हजार २०८ वटाका लागि गैरसरकारी संस्था तथा अन्य निकायबाट सहयोग भएको थियो।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार हालसम्म १ अर्ब १ करोड ७९ लाख २५ हजार रूपैयाँ अस्थायी अवास बनाउन पहिलो किस्तावापत वितरण भएको छ। दोस्रो किस्ता भने वितरण हुन नसकेको उनले बताए। स्थानीय तहले लाभग्राहीलाई दिनुपर्ने दोस्रो किस्ता वितरण गर्न नसकेको रेग्मीले बताए।
उनका अनुसार जिल्ला विपद व्यवस्थापन समितिबाट १ अर्ब १८ करोड ४० लाख ७५ हजार रूपैयाँ स्थानीय तहलाई निकासा भइसकेको छ। भूकम्पबाट प्रभावितहरूलाई अस्थायी आवास निर्माणपछि अन्य कामका लागि परिपत्र नभएको उनले जानकारी दिए।
‘अस्थायी आवास बनिसकेका छन्, विपद पोर्टलमा दिनप्रतिदिन दर्ता हुने काम पनि भइरहेको छ,’ शर्माले भने, ‘यसपछि पुनर्निर्माणको लागि भने अरू निर्णय आएको छैन।’