पहिरोमा परेर परिवारका सबै सदस्य गुमाएका १७ वर्षीय पवन परियार ब्रतबन्ध गरेर किरिया बसेका छन्।
उनी पनि पहिरोमा परेका थिए। पहिरोले आधा शरीर डुबाइसकेको थियो। त्यहीबेला अंकलका छोरा कुमार परियार उद्धारमा गए। पहिरो पन्छाएर पवनलाई बाहिर निकाले।
‘पहिरो आइरहेको थियो। भाइ पहिरोमा आधा डुबेको थियो। त्यहीबेला हामी गएर बाहिर निकाल्न सक्यौं,’ कुमारले सेतोपाटीलाई भने।
पोखरा–१९ तल्लाकोट ठाँटीमा बिहीबार राति करिब १० बजे गएको पहिरोमा परेर पवनका बुवा ४६ वर्षीय कुलबहादुर परियार, आमा ४३ वर्षीया मनकुमारी परियार, हजुरआमा ८५ वर्षीया लक्ष्मी परियार, बहिनी १५ वर्षीय प्रशना परियार, दिदी प्रभा र भिनाजू अस्मित परियारले ज्यान गुमाए।
अविरल वर्षासँगै साँझ खाना खाएर सुत्न लागेका बेला अचानक पहिरो आउँदा उनीहरूको ज्यान गएको थियो।
‘ठूलो पानी परिरहेको थियो। अचानक ‘गड्याङ्ग’ आवाज आयो। पहिरो गयो भनेर हेर्न जाँदा भाइ (पवन) ले दाइ, दाइ, बचाऊ बचाऊ भनेर चिच्याएका थिए। हामीले पहिरो खोतलेर बचाउन सक्यौं,’ उनले भने।
उनका अनुसार हजुरआमा शौचालय गएर फर्किएपछि ढोका लगाउन पवन बाहिर निस्केका थिए। त्यहीबेला पहिरो आएर उनलाई बाहिर हुँत्याइदिएको थियो। पहिरोले कम्मर माथिसम्म गढेर बसेका थिए पवन।
पहिरोबाट भाइ पवनको उद्धार गरेका कुमारले आफ्नी आमा राधिका परियारलाई गुमाएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा भेटिएका कुमार अंकलको परिवार बचाउन जाँदा आमा घरबाहिर निस्किएकी थिइन्। त्यहीबेला आमा राधिकालाई पहिरोले पुरेछ।
पवन र कुमारका बुवाहरू दाजुभाइ हुन्। पवनको घरअगाडि कुमारको घर छ। पहिरोले पवनको घर पूर्ण रूपमा पुरेको छ भने कुमारको घर पछाडिसम्म पुगेको छ। सुवर्ण परियार र मानबहादुर लामिछानेको घर पनि पहिरोले क्षति पुगेको वडा सदस्य विकास आचार्यले जानकारी दिए।
पवनको घरमाथि बुधबार नै सानो पहिरो देखिएको थियो। पहिरोबाट पानी बगिरहेको थियो। मूल फुटेर जलमग्न थियो।
घरमाथि पहिरो गएर जोखिममा परेको थाहा पाएर पवनकी दिदी प्रभा र भिनाजू अस्मित बिहीबार साँझ घर गएका थिए। स्याङ्जाको अर्जुनचौपारी विवाह गरेर पुगेका उनीहरू पोखराको नदीपुर बस्थे। प्रभाले मन्टेश्वरीमा पढाउँथिन् भने अस्मितले पनि जागिर गरेका थिए।
बिहीबार साँझ प्रभा, अस्मित, कुमार र पवन सँगसँगै पहिरो भएको ठाउँसम्म पुगेका थिए।
उनीहरू पहिरो हेरेर फर्किएका थिए। पहिरोबाट बगेको पानी तर्काउन सक्ने थिएन। पानी परिरहेकाले जोखिम बढेकै थियो।
बिहीबार साँझ नै वडा सदस्य विकास आचार्य पनि पहिरो हेर्न पुगेका रहेछन्। उनले पहिरोको जोखिम भएकाले अन्यत्र गएर बस्न सुझाव दिएका थिए।
‘मैले हिजो साँझ ६ बजेतिर गएर खाना घरमै खाए पनि सुत्न अन्त जानु है। आज अन्तै सुत्ने व्यवस्था मिलाउनु। भोलि म आमा समूहको भवन हुन्छ कि स्वास्थ्य चौकीमा हुन्छ व्यवस्था गर्छु भनेको थिएँ। हुन्छ त्यही गरौंला भन्नुभयो। कतै जानुभएन। राति नै पहिरोमा पर्नुभएछ,’ उनले भने।
पहिरोमा अंकलका परिवारको उद्धार गर्न पुगेका कुमार आफै पनि घाइते भएका छन्। उनको हातमा पहिरोले ददारेको छ। डाक्टरले प्लाष्टर गरिदिएको छ। पहिरोमा उद्धार गर्दैगर्दा पनि निरन्तर पहिरो झरेकाले भागदौड गर्दा हात ददारेको उनले बताए।
‘पहिरोमा परेका आफन्तको खोजी गर्दा खोतल्दै गर्दा पनि पहिरो झरिराखेको थियो। ठूलो पहिरो आएर भागदौड गर्दा पर्खाल भत्किएर हात गहिरो गरी ददारेको छ,’ उनले भने।
पवनको घर र राम आचार्यको घर वारिपारि छ। बीचमा सडक। पहिरो झरेको थाहा पाउनासाथ रामले नै वडा सदस्य विकासलाई खबर गरेका थिए। विकास पनि त्यहीँ नजिकका थिए। विकासले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायत उद्धार टोली बोलाएर राति १ बजेसम्म सबै परिवारको उद्धार गरिसकेका थिए।
पवनको उद्धार गर्दा भने स्थानीय युवा मात्र थिए। उद्धार टोली आएर पहिरोबाट निकाल्दा १५ वर्षीय प्रशना परियारको सास बाँकी नै थियो। अस्पताल ल्याउँदा ल्याउँदै उनको मृत्यु भएको रामले बताए।
‘जेसिबी र उद्धार टोली लगाएर छिटो-छिटो नै उद्धार गरेका थियौं। सानी नानीलाई जीवितै भेटेको थियौं,’ उनले भने, ‘अस्पताल ल्याउँदा ल्याउँदै सकिएछ।’
पहिरोमा परेर पोखरा–३२ चैनपुर बाह्रबिसेमा पनि ३ जनाको ज्यान गएको छ। शुक्रबार बिहान सवा २ बजेतिर स्थानीय ४० वर्षीय आरती ओझाको घर पुरिँदा ११ वर्षीय छोरी अनुष्का ओझा र १८ वर्षीय अनिता ओझा परेका छन्।
पढ्नका लागि आरतीका भाइका छोरा ९ वर्षीय प्रतीक सुवेदी पनि पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोमा पुरिएको आरतीको ढाड भाँचिएको छ। टाउको र खुट्टामा पनि चोट लागेको छ। उनको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। आरतीका श्रीमान शिवराज ओझा रोजगारीका लागि भारत छन्। साथीहरूले उनलाई ल्याउँदै गरेको आरतीका भाइ अमृत कँडेलले बताए।
उपचारमा ल्याउँदा बेहोस आरतीको अहिले होस आएको छ। पहिरोमा पुरिँदाको चोटको दुखाइले उनी आत्तिएको अमृतले बताए।
‘दिदी बेडमा दुख्यो भनेर रोइरहनुभएको छ। छोरीहरूलाई खोजिदेऊ। फोन गरिदेऊ भन्नुहुन्छ,’ उनले भने, ‘उनीहरू पनि पहिरोमा पुरिएको दिदीले थाहा पाउनुभएको छैन।’
त्यसैगरी कास्कीको मादी गाउँपालिका–११ तल्लो ताप्लेकी ८० वर्षीय वृद्ध मैतकुमारी गुरूङले आँखा कम देख्थिन्।
राति शौचालय जान ५५ वर्षीय छोरा ओमबहादुरले डोर्याउँदै बाहिर निकालेका थिए। त्यही बेला पहिरोमा पुरिएर आमा मैतकुमारीको मृत्यु भएको मादी– ११ का वडाध्यक्ष चलचित्र गुरूङले बताए।
‘राति शौचालय लैजान आमालाई छोराले डोर्याएर बाहिर निस्केछन्। त्यहीबेला पहिरो झरेर घर पुरेछ। आमालाई घरको ढोकाले किचेछ। छोरालाई पहिरोले हुँत्याएछ। छोरा पनि पहिरोमा गडेर सामान्य घाइते भएका छन्,’ उनले भने।
बाढी र पहिरोबाट पीडित भएका व्यक्तिको राहत र उद्धारमा कुनै कसर बाँकी नराखेको कास्कीका सिडिओ भरतमणि पाण्डेले बताए। उद्धार गरिएका व्यक्तिलाई पुनर्स्थापना र राहतका लागि पनि स्थानीय तहसँग समन्वय गरेको बताए।
‘कास्कीको तीनवटै ठाउँमा पुगेर मैले उद्धार र राहतको अवस्था बुझेको छु। यस्तो झरीमा पीडितलाई त्रिपालमा राख्नुभन्दा सामुदायिक भवन वा आफन्तको घरमा राख्न वडाध्यक्षसँग समन्वय गरेको छु,’ उनले भने, ‘उद्धारपछि राहत पनि छिट्टै वितरण हुन्छ।’
सरकारले बाढी, पहिरो लगायत प्राकृतिक विपत्तिमा परेर कम्तीमा एक जना परिवारका सदस्य गुमाएका परिवारलाई २ लाख रुपैयाँ नगद राहत दिन्छ। एकै परिवारका एक जनाभन्दा बढी सदस्यको ज्यान गएमा प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले बढाएर राहत रकम प्रदान गरिने सिडिओ पाण्डेले बताए।
पीडित परिवारसँग भेटेर आफूले जानकारी लिएको भन्दै उनले उपचार खर्च पनि जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत् तिर्ने बताए।
‘पीडित परिवारको खातामा आइतबारसम्म राहत रकम पठाउने गरी तयारी गरेका छौं,’ उनले भने, ‘रेडक्रसले दिनुपर्ने खाद्यान्न र भाडाकुँडा पनि तत्काल वितरण हुन्छ।’