काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर परिसरको संरचना पुनःनिर्माण सुरू गरेको छ।
बिहीबार दक्षिण पश्चिम भागमा महानगरकी उपमेयर सुनिता डंगोलले शिलान्यास गर्दै पुनःनिर्माण थालनी गरिएको हो।
२०७२ सालको गएको विनाशकारी भूकम्पको कम्पनले भद्रकाली मन्दिर परिसरका संरचनाहरु जीर्ण अवस्थामा थिए। मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना पुनः निर्माण हुने छन्। त्यसको लागत ३६ करोड रुपैयाँ अनुमान गरिएको महानगरपालिकाले जनाएको छ।
यस्तै, ३४ करोड ८० लाख ७१ हजार रुपैयाँमा तुल्सी अम्बुजा जेभीले जेठ ६ गते पुनःनिर्माणको ठेक्का पाएको सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालले बताए।
संरचनाको निर्माण परम्परागत नेवारी शैलीमा बनाउन डिजाइन गरिएको छ। यस्तै संरचनामा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुने छन् भने छानो झिँगटीको राख्ने डिजाइनमा उल्लेख छ।
उत्तर भृकुटीमण्डपतर्फ दुई वटा ब्लक आपसमा जोडिएका हुने छन्। यस्तै दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) तीन वटा ब्लक हुनेछन्।
पुनःनिर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन (अवस्था तथा तथ्यको विवरण) तयार पार्ने काम पुरातत्व विभागलाई पाएको छ। अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकाली व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्ने बताइएको छ।