धनुषाको जनकपुरधामा उपमहानगरपालिका-१७ का रामआशिष यादव पाँच वर्षदेखि साउदीको जेलमा छन्।
एउटै कम्पनीमा काम गर्ने रूपन्देही कन्चन गाउँपालिका-४ का दुर्गाप्रसाद शर्माको हत्या गरेको अभियोगमा यादवलाई मृत्युदण्ड सजाय सुनाइएको छ।
साउदीमा आरोपितका परिवार र पीडित परिवारबीच ब्लडमनी बुझ्ने सहमति नभए हत्यामा संलग्नलाई मृत्युदण्डको सजाय दिइने कानुन छ।
सोहीअनुसार यादवलाई पनि तत्कालका लागि पाँच वर्ष कैद सजाय तोकिएको थियो भने यो अवधिमा ब्लड मनीको सहमति हुन नसके मृत्युदण्ड दिइने अदालतले फैसला गरेको थियो।
अदालतले फैसला गरेको पाँच वर्ष केही महिनामा पुग्दै थियो। तर अदालतको समयभित्रै मृतकका परिवारलाई ब्लडमनी बुझ्न सहमत गराउनुको साथै ब्लडमनी वापत ४६ लाख २५ हजार रुपैयाँ संकलन गरी बुझाएपछि रामआशिष यादवको मृत्युदण्ड मिनाहा हुने भएको छ।
घटनाक्रम अनुसार रामआशिष यादव र दुर्गा प्रसाद शर्मा दुवै साउदी अरबमा एउटै कम्पनीमा काम गर्ने मात्र होइन, उनीहरूको कोठा पनि एउटै थियो। ड्युटीभरी कम्पनीमा काम गर्ने उनीहरू काम सकिएपछि कोठामा गएर सँगै खान्थे, सँगै रमाउँथे।
सन् २०१८ को अक्टोबर ६ तारिखको साँझ उनीहरूले कोठामा बसेर रमाइलो गर्ने सल्लाह गरे। दिनभरिको कामले थाकेका उनीहरू साँझ मदिरा सेवन गर्न थाले। मदिरा सेवनकै क्रममा कुनै दुई जनाबीच विवाद भएको थियो।
विवाद उत्कर्षमा पुगेपछि रामआशिषले दुर्गाप्रसादमाथि छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि रामआशिषलाई साउदी प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनीविरूद्ध दुई वर्षसम्म साउदीको ताबुक क्रिमिनल कोर्टमा हत्या अभियोगमा मुद्दा चलेपछि २०२० डिसेम्बर २० मा रामआशिषलाई दोषी ठहर गर्दै तत्कालका लागि ५ वर्षको कैद सजाय सुनाउँदै कारागार चलान गरिएको थियो।
कैद फैसला भएको ५ वर्षको अवधिमा मृतकका परिवारसँग ब्लडमनी (पैसा बुझाएर रिहा हुने) मा सहमति भए रिहा पाउने अन्यथा साउदीको कानुन अनुसार मृत्युदण्डको सजाय हुने फैसला भएको थियो। अदालतको फैसला अनुसारको ५ वर्ष पुग्न अब केही महिनामात्रै बाँकी छ।
रामआशिषले आफूसँगै काम गर्ने र बस्ने साथीको हत्या गरेर साउदीको जेलमा रहेको कुरा जनकपुरमा रहेकी उनकी श्रीमतीले थाहा पाए पनि ब्लडमनी तिरेर श्रीमानलाई जेलमुक्त गर्नसक्ने आर्थिक हैसियत थिएन।
१८, १५ र १० वर्षका तीन छोरीलाई हुर्काउनै हम्मे-हम्मे परिराखेको बेलामा श्रीमानको त्यस्तो खबरले उनीमाथि बज्रपात पर्यो।
अदालतले ब्लडमनी तिरे रामआशिष छुट्न सक्ने झिनो आशा देखाएको थियो। अदालतको फैसला दूतावास र कन्सुलर विभागले रामआशिषको परिवारलाई जानकारी गराएको थियो।
पारिवारिक तवरमा जानकारी आए पनि सरकारी तवरमा भने २०८० साल चैत १२ गते मात्रै कन्सुलर सेवा विभागले जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा एउटा पत्र पठाएको थियो।
पत्रमा ‘धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ का रामआशिष यादवको छुरा प्रहारबाट रूपन्देही कन्चन गाउँपालिका वडा नम्बर ४ का दुर्गाप्रसाद शर्माको हत्या भएको र उनलाई साउदी अदालतले मृत्युदण्ड फैसला गरिसकेको छ।
'यदि मृतकका परिवारसँग सम्पर्क गरेर ब्लडमनी बुझ्ने सहमति भए सोहीअनुसार र सहमति नभए पनि सोही अनुसारको जानकारी दिनू,’ उल्लेख थियो
कन्सुलरबाट पठाइएको पत्र प्राप्त भएपछि रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मृतक र हत्यामा संलग्नका परिवारको खोजी सुरू गरेका थिए।
रूपन्देहीकै भएकोले उनले मृतकका परिवारलाई सबैभन्दा पहिले भेट गरे।
‘जे नहुनु थियो, त्यो भइसक्यो। एउटाको मृत्यु भइसक्यो अर्कालाई मृत्युदण्ड दिएर ऊ फर्किने होइन ब्लडमनी लिएर उसलाई मृत्युदण्ड पाउनबाट जोगाउन मैले धेरैपटक अनुनय गरेँ, रामआशिषको जीवनका लागि धेरैपटक हात जोडेर भिक्षा मागेँ,’ अर्यालले भने।
मृतकका परिवार, उनकी श्रीमती सीता शर्मा ब्लडमनी बुझ्न सहमत भएनन्। कन्सुलर विभागको पत्र बुझेपछिको तीन महिना प्रमुख जिल्ला अधिकारी अर्यालले दुबैका परिवारसँग निरन्तर भेट र छलफल गरे।
एकातर्फ दुर्गा प्रसादको परिवार ब्लडमनीका लागि सहमत हुन तयार भइरहेको थिएन, अर्कोतर्फ जिम्मेवार राजनीतिक दलका नेताहरूले समेत ब्लडमनीका लागि सहमत नभएकोले मृत्युदण्डका लागि जानकारी सहितको पत्र पठाउन दबाब दिइरहेका थिए।
प्रमुख जिल्ला अधिकारी अर्यालले यसै साता फेरि मृतकका परिवारसँग भेटे। मृतककी श्रीमती सीतासँग उनले बिन्ती गरे।
‘नियतिले तपाईंको सिन्दुर पुछिदियो तर, तपाईंले निर्णय गरेर अर्को एक जनाको सिन्दुर पुछिनबाट जोगाइदिनुस् रामआशिषको जीवन बचाइदिनुस् भनेर उनको धेरैपटक खुट्टा समातेँ, उनी टसमस नभएपछि आफूले कुनै पनि अवस्थामा ब्लडमनीका लागि सहमति भएन भनेर लेखेर नपठाउने भनेपछि अन्तिममा उनीहरू सहमतिमा आउन बाध्य भए,’ उनले भने।
‘कन्सुलरको पत्र प्राप्त भएपछि नै म निदाउन सकिरहेको थिइनँ। मैले हस्ताक्षर गरेर पठाएको जानकारी पत्रले साउदीको जेलमा बसेको नेपालीको जीवन मरणको निर्णय गथ्र्यो। मैले उसको मृत्युको लागि कसरी हस्ताक्षर गर्न सक्थेँ। मेरोा लागि त्योभन्दा ठूलो अभिशाप जीवनमा अरू कुनै हुंँदैनथ्यो अन्ततः मृतकका परिवारलाई ब्लडमनीका लागि सहमत बनाउन सकें,’अर्याल सम्झिन्छन्।
मृतकका परिवारले ब्लडमनी वापत ५० लाख रुपैयाँ मागे। अर्यालले रामआशिषको परिवारको आर्थिक अवस्थाबारे पहिले नै जानकारी लिइसकेका थिए। जनकपुरमा उनको परिवारको साढे सत्र धुर मात्रै जग्गा थियो। तीन जना दाइभाइ यो घटनापछि अलग भइसकेका थिए। रामआशिषकी श्रीमती रेनो कुमारीले जेनतेन तीन छोरीको पालनपोषण गरिरहेकी थिइन्।
उनले आफूसँग १५ धुर खेत, अढाइ धुरको घडेरी र त्यसमा बनेको फुसको घर बेचेर १० लाख जुटाउन सक्ने बताएकी थिइन्। परिवारले १० लाख जुटाए पनि बाँकी ४० लाख कहाँबाट जुटाउने।
अर्यालले सरकारका उच्च तहका अधिकारीसँग पनि यस बारेमा पटक पटक छलफल गरे।
रामआशिषको परिवारलाई बोलाएर बुटवलमा सम्पन्न श्रमाधान मेलामा सहभागी सरकारी अधिकारीहरूसँग भेट गराए।
‘विदेशमा अपराध गरेको व्यक्तिलाई सरकारको फोर्स प्रयोग गरेर फिर्ता ल्याउन नमिल्ने प्रचलन भएकोले सरकारी तहबाट सहयोग पाउन सकिएन,’अर्याल भन्छन्।
तीन महिनासम्मको धेरै ठूलो मेहनतले मृतकका परिवारलाई ब्लडमनी बुझ्न सहमति गराएका अर्याललाई अब रकम जुटाउने अर्को चुनौती थपियो। उनले सुरक्षा निकायका प्रमुखहरूसहित रूपन्देहीका उद्योगी व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयमा बैठक बोलाएर छलफल गरे। बाहिरी जिल्लाको कुनै व्यक्तिको लागि अहिलेको आर्थिक कठिनाइको समयमा ४० लाख जुटाउने प्रस्ताव गर्नु सजिलो थिएन।
उद्योगि व्यवसायीहरूको बीचमा उनले तीन वटा प्रश्न राखे।
एउटा अपराधीलाई मृत्युदण्ड दिने कि मानवियताको हिसाबले बचाउने, दोस्रो धनुषाको मानिसलाई रूपन्देहीले किन बचाउने भन्ने कि मानवियताले भूगोल चिन्दैन भनेर जाने, यो सरकारको काम हो हामी व्यवसायी किन लाग्ने भन्ने कि रूपन्देहीका व्यवसायी दया र करूणाले युक्त छन् भनेर देशभरका मानिसलाई सकारात्मक सन्देश दिने’ अर्यालले प्रश्न राखेपछि व्यवसायीहरू रकम संकलन गर्न सहमत भए।
सबैभन्दा पहिले प्रमुख जिल्ला अधिकारी अर्यालले एक महिनाको तलब बराबर ५० हजार रुपैयाँ जम्मा गरे। नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन जना एसपी र दुई जना सहायक प्रमुख जिल्ला अधिकारी गरि पाँच जनाले जनही २५ हजारका दरले जम्मा गरे।
सिडिओ सहायक सुरक्षा निकायका प्रमुख लगायतले पैसा जम्मा गरेपछि छलफलमा सहभागी उद्योगी कमल मालपानीले ५ लाख रुपैयाँ जम्मा गरे। उद्योगी व्यवसायीहरु अमित गुप्ता ४ लाख, राजिव बेरिवाल २ लाख, राजेश अग्रवाल २ लाख, कृष्ण प्रसाद शर्मा १ लाख, गोपाल राना १ लाख गरि ३० जना उद्योगी र सुरक्षा अधिकारीबाट एउटै बैठकमा ३६ लाख २५ हजार रुपैयाँ जम्मा भयो।
जिल्ला प्रशासन मार्फत संकलन भएको ३६ लाख २५ हजार र रामआशिषको श्रीमती रेनोले घर घडेरी विक्री गरेर जम्मा गरेको १० लाख गरी ४६ लाख २५ हजार रुपैयाँ मंगलबार मृतकका परिवारलाई बुझाइएको छ।
‘ठूलो मेहनतले परिवारलाई सहमत गराउने र रकम संकलन गरेर ब्लडमनी बापतको ४६ लाख २५ हजार रुपैयाँ दुर्गा प्रसादको श्रीमतीलाई बुझायौं र सोही अनुसारको पत्र कन्सुलर विभागमा पनि पठाएका छौं। प्रमुख जिल्ला अधिकारी अर्यालले भने।
सुरूमा ब्लडमनी बुझ्न राजी नभएको मृतकको परिवारले ५० लाख रुपैयाँ माग गरेपछि रामआशिषको परिवारले उनी जीवित फर्किने आशा मारिसकेका थिए।
‘त्यति ठूलो रकम हामीले कहाँबाट जुटाउन सक्थ्यौं, ५० लाखको कुरा सुनेपछि आशा मारिसकेका थियौं, रेनोका मामा प्रभु यादवले भने।
मंगलबार जिल्ला प्रशासन कार्यालयको बैठक हल पीडा र खुसीको रोदनले भावुक बनेको थियो।
दिउँसो करिब चार बजेको समय बैठक हलको अगाडि प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीद्वय, प्रहरी प्रमुखहरू बसेका थिए। बायाँतर्फ उद्योगीका नेताहरू थिए भने मृतक दुर्गाप्रसाद र रामआशिषका परिवार लस्करै बसेका थिए।
ब्लडमनी बुझाउँदै गर्दा त्यहाँको माहोल भावुक बनेको थियो। दुर्गा प्रसादकी श्रीमती सीता रकम बुझ्दै गर्दा बलिन्द्र आँसु बगाइरहेकी थिइन्।
सीताले आँसुको धारा बगाउँदै उनको श्रीमानको हत्या गर्ने रामआशिषको ज्यान बचाउन पैसालाई साक्षी राखेर कागजमा हस्ताक्षर गरिन्। बैठक हलमा रूवाबासी चल्यो।
रामआशिषकी श्रीमनी रेनोले मेरो भगवान भनेर सिडिओ अर्यालको पाउ समाउन गएपछि सिडिओ अर्याल पनि भक्कानिए। केहीबेर हलमा रहेका सबैका आँखा रसाए। रेनो धेरैबेरसम्म छोरीहरूको काखमा रोइरहिन्।
आफूले आशा मारिसकेको अवस्थामा श्रीमानको जीवन रक्षाको लागि पैसा बुझाउँदै गर्दा रेनो खुसीका आँसु बगाइरहेकी थिइन्।
रूपन्देहीका सिडिओ र यहाँका व्यवसायी आफ्नो लागि भगवान भएर आएको रेनोले बताइन्।
उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष समेत रहेका दाता कृष्णप्रसाद शर्माले एउटाको मृत्यु भइसकेको अवस्थामा अर्कालाई पनि मृत्यु नै दिनु हुँदैन भन्ने मान्यता र दुइटा घरलाई बचाउनका लागि रकम संकलन गरेर हस्तान्तरण गरेको बताए।