काठमाडौंको कपन क्षेत्रका घरहरू वर्षेनि डुबानमा पर्छन्।
यहाँका यज्ञमती र चखुँचा खोलाको बाढी घरभित्र पस्दा स्थानीयहरूले सास्ती खेप्दै आएका छन्। यसपालि पनि बाढीले घरहरू डुबानमा पारिसकेको छ।
कपनका खोलाहरूको बाढी बस्तीमा नजाओस् भनेर स्थानीय सरकारदेखि संघीय सरकारसम्मले विभिन्न योजनामा बजेटसमेत हाल्छन्। काम पनि हुन्छ तर बाढी बस्ती पस्न रोकिँदैन। जनतालाई वर्षेनि बर्खामा फेरि बाढीले दु:ख दिन्छ।
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने कपनका केही ठाउँमा खोला खोतल्ने काम गरेको थियो। तर यसले तीब्रता पाउन सकेन। गत वर्ष साउन २६ गतेदेखि नै महानगरले खोला खोतल्न थाले पनि योजना अझै अलपत्र नै छ।
महानगरले ह्विमपाइप निकालेर खोलालाई आफ्नै स्वरूपमा फर्काउने काम सुरू गरेको थियो। अहिलेको बर्खा सुरू हुनुअघि नै महानगरले यो योजनाको काम सक्ने भने पनि नसकिँदा स्थानीय बासिन्दालाई सास्ती छ।
गत वर्ष साउन २५ गते काठमाडौं महानगर प्रहरी बलको टोली कपनको मिलन चोकस्थित खहरे खोला खोतल्न पुग्दा स्थानीय र नगर प्रहरीबीच झडप नै भएको थियो।
महानगर प्रहरी बलले त्यसबेला समन्वय नगरी डोजर लिएर खोला खोतल्न थालेको आरोप थियो। सोही विवादपछि काठमाडौं महानगर र बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिबीच तीन बुँदे सहमति भयो।
काठमाडौं महानगरपालिका वडा नम्बर ६ र ७ का वडाध्यक्ष र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र १२ का वडाध्यक्षबीच तीन बुँदे सहमति भएको थियो। त्यसको भोलिपल्टदेखि डोजरले लगाएर खोला खोतल्ने काम सुरू गरिएको थियो।
धोबिखोलादेखि साततल्लेसम्मको बुढानीलकण्ठ- १० र काठमाडौं महानगर- ७ को सीमा भागमा नापजाँच भई वाल लगाइसकिएकोले उक्त भागको सतहमा रहेको पुरानो खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने सहमति भएको थियो।
काठमाडौं र बुढानीलकण्ठ जोड्ने सिमाना बेलिब्रिज राख्ने अन्य ठाउँमा भने बक्स कल्भर्ट राख्ने सहमति पनि भएको थियो।
खोला खोतल्न थालेपछि गत वर्ष भदौमा पनि कपनको जनजीवन अस्तव्यस्त बनेको थियो। बाढीले काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाबीच सिमानामा पर्ने कपनको खहरे खोलाछेउका बिजुलीका पोलहरू ढलेका थिए।
पूर्वयोजनाबिना खोला खोतल्ने सहमति गरेर डोजर चलाउँदा अहिले जनजीवन कष्टकर बनिरहेको स्थानीयहरू बताउँछन्।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी।