बुटवल उपमहानगरपालिकाले २१ औं राष्ट्रिय धान दिवस मनाएको छ।
‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारासहित बुटवल उपमहानगरपालिका वडा नं. १८ अमर दुबौलीमा शनिबार सामुहिक रोपाइँ महोत्सव गरिएको हो।
बुटवल उपमहानरपालिका कृषि विकास शाखाको आयोजना तथा स्थानीय दुबौली आमा समुहको संमन्वयमा आयोजित रोपाइँ महोत्सवमा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कृषि नै सबैभन्दा महत्वपूर्ण पेसा भएकोले कृषि क्षेत्रको विकासमा सबै लाग्नुपर्ने बताए।
उनले कृषिको विकास र प्रवद्र्धनको लागि उपमहानगरपालिकाले विभिन्न योजनाहरु अगाडि सारेको बताउँदै खेतीयोग्य जमिन रहेका बुटवलका ११ देखि १९ सम्मलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गरिने बताए।
खेतीयोग्य जमिनलाई कृषि उत्पादनकै रुपमा प्रयोग गर्न आग्रह गर्दै नगरप्रमुख पाण्डेयले घर वरिपरि बाँझो रहेका जमिनमा पनि खेती गर्न आग्रह गरे।
रोपाइँ महोत्सवमा सहभागी भएका नगरप्रमुख, उपप्रमुख सँगै उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल, सूचना अधिकारी तुल्सा अर्याल, नगर प्रवक्ता तथा बुटवल १५ का वडा अध्यक्ष शिव राना, कृषि विकास शाखा प्रमुख सन्तोष जिसी लगायतले स्थानीयसँगै रोपाइँ गरेका थिए।
दही चिउरा खाँदै पञ्चेबाजाको तालमा गरिएको रोपाइँ महोत्सवमा स्थानीय थारु समुदायले विभिन्न साँस्कृतिक प्रस्तुती देखाएका थिए।
यस्तै राष्ट्रिय युवासंघ रुपन्देहीले पनि रोपाइँ महोत्सव गरेको छ।
युवासंघ रुपन्देही कृषि विभागको आयोजनामा सुद्धोधन गाउँपालिका वडा नं. ३ सखुवानीमा रोपाइँ महोत्सव गरिएको हो।
रोपाइँ महोत्सवमा बोल्दै युवासंघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले मुलुकको आर्थिक विकासका लागि युवाहरु उत्पादनतर्फ लाग्नुपर्ने बताए।
उनले युवाहरु विदेश पलायन भइरहँदा खेतीयोग्य जमिन बाँझो बनिरहेको भन्दै स्वदेशमै बसेर कृषिको माध्यमबाट परिवार र समग्र देशकै अर्थतन्त्रमा सुधार गर्न सकिन्छ भन्ने उदाहरण युवाहरुले दिनुपर्ने बताए।
युवासंघ रुपन्देहीका अध्यक्ष विकास जंग बस्नेतले भाषणमा गरेर मात्र देशमा आर्थिक क्रान्ति नआउने भन्दै आर्थिक क्रान्तिका लागि कृषि क्रान्ति जरुरी रहेको बताए।
युवासंघ कृषि विभाग प्रमुख समिर बस्नेतको खेतमा धान रोपाइँ महोत्सव गरेर युवाहरुलाई कृषि पेशातर्फ लाग्ने सन्देश दिईएको उनले बताए।
तस्बिरहरूः