काठमाडौंको त्रिचन्द्र क्याम्पस परिसरभित्र रहेको घन्टाघरको प्रबलीकरण (रेट्रोफिटिङ) सुरू गरिएको छ।
२०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्र रहेर गएको भूकम्पबाट घन्टाघरमा क्षति पुगेकोले मर्मत भइरहेको हो।
घन्टाघर रेट्रोफिटिङको काम एक वर्षदेखि भइरहेको थियो। केही दिनदेखि भने घन्टाघरको बाहिरी भाग पनि रेट्रोफिटिङ गर्ने काम भइरहेको छ।
यो पनि: जो ३२ वर्षदेखि घन्टाघरको समय मिलाउँदै छन्
सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) ले घण्टाघर पुनर्निमाणको काम गर्दै आएको छ।
आयोजनाका निर्देशक कोषनाथ अधिकारीका अनुसार पछिल्लो एक वर्षदेखि घण्टाघर पुनर्निमाण हुँदै आएको छ। घण्टा घरलाई प्रबलीकरण गर्ने काम भइरहेको हो।
साथै त्रिचन्द्र क्याम्पसको हातामा रहेको एक भवनलाई भत्काएर पुन: बनाइएको छ। अहिले लगभग ५० प्रतिशत काम सकिसकेको आयोजना निर्देशक अधिकारीले बताए।
‘यो आर्थिक वर्षमा हामीले ६० प्रतिशतसम्म काम सक्ने प्रयास गरिरहेका छौं। अर्को वर्षसम्म यसको काम सक्ने योजना छ,’ उनले भने।
घन्टाघर पुनर्निमाण गर्ने काम न्यु टेक्निकल कन्स्ट्रक्सन कम्पनीले पाएको छ। दुई वर्षभित्र पुनर्निर्माणको सक्ने गरी ठेक्का दिइएको थियो।
घण्टा घरको घडीले समय देखाउन छाडेको भन्दै प्रतिनिधि सभा बैठकमै सांसदहरूले सरकारको ध्यानाकर्षणसमेत गराएका थिए। घन्टाघरको घडी दम दिएपछि चल्ने प्रकृतिको छ।
अब यसलाई स्वचालित प्रकृतिको बनाउने गरी काम भइरहेको आयोजना निर्देशक अधिकारीले बताए।
घन्टाघर वीरशमसेर राणा प्रधानमन्त्री हुँदा निर्माण गरिएको थियो।
तस्बिरहरू: