दाङको तुलसीपुरबाट १३ किलो अफिमसहित तीन जना पक्राउ परेका छन्।
रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का ४० वर्षीय टेकबहादुर बोहरा, आठबिसकोट– २ की ४५ वर्षीया मनकुमारी बोहरा र मुसिकोट नगरपालिका–६ का ३० वर्षीय मोहन पुन पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोख्रेलका अनुसार उनीहरू अघिल्लो दिन बिहान मात्रै दाङको तुलसीपुर उपमहानगरपालिका–८ शुभबिहानी टोल आएका थिए। त्यहाँ डेरा बस्दै आएका एक आफन्तकहाँ उनीहरू पाहुना लाग्न आएका थिए।
प्रहरीले गोप्य सुराकका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मंगलबार बेलुका साढे ६ बजेतिर उनीसहित जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा सात जना प्रहरी खटिएका थिए। टोलीले खानतलासी गर्ने क्रममा तीन जनाबाट १३ किलो अफिम फेला पारेको हो।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।