भर्खरै डायबेटिज (मधुमेह) लागेका मान्छेले 'इन्टरमिटेन्ट फास्टिङ' (निश्चित समयमा मात्रै खाने) गरे त्यसले तौल, रगतमा ग्लुकोजको मात्रा र रक्तचाप घटाउने देखिएको छ।
तीन महिनाअघि अमेरिकन हार्ट एसोसिएसनको सम्मेलनमा प्रस्तुत गरिएको एक शोधको सारांशले इन्टरमिटेन्ट फास्टिङ गर्ने मान्छेको मुटु र रक्तसञ्चार सम्बन्धी रोगबाट मृत्यु हुन सक्ने सम्भावना झन्डै दोब्बर हुन्छ भनेर झस्काएको थियो। अहिले भएको अर्को नयाँ अध्ययनले यो फास्टिङले डायबेटिजका बिरामीलाई फाइदा गर्ने देखाएको हो।
निश्चित समयमा मात्रै खाने र अन्य समयमा नखाने इन्टरमिटेन्ट फास्टिङ धेरै किसिमले अभ्यास गर्न सकिन्छ। कसैले हप्तामा कुनै एक वा दुई दिन एकदमै थोरै खाने र अरू दिन सामान्य मात्रामा खान्छन्। कसैले दिनभरिमा कुनै निश्चित समयावधिमा मात्रै खान्छन्।
यी भिन्नभिन्न र विपरीत खालको परिणाम देखाएका अध्ययनहरूले बेग्लाबेग्लै किसिमका इन्टरमिटेन्ट फास्टिङ गर्ने व्यक्तिहरूको अध्ययन गरेको थियो।
जुन अध्ययनमा मुटु र रक्तसञ्चार सम्बन्धी रोगका कारण मृत्यु हुने जोखिम लगभग दोब्बर हुन्छ भन्ने देखिएको थियो, त्यसका सहभागीहरूले आठ घन्टाको अन्तरालमा मात्रै खाएका थिए — अर्थात् दिनको १६ घन्टा केही नखाने र आठ घन्टाभित्र मात्रै खाने (१६:८ फास्टिङ)।
भर्खरै डायबेटिज लागेकालाई फाइदा हुन्छ भनेर देखाउने अध्ययनमा भने फाइदा महसुस गरेका सहभागीले ५:२ फास्टिङ — अर्थात् पाँच दिन सामान्य खाने र दुई दिन थोरै खाने गरेका थिए।
जामा जर्नलमा शुक्रबार प्रकाशित पछिल्लो शोध टाइप-२ डायबेटिज लागेका मान्छेमा गरिएको थियो।
चीनमा संसारमै सबभन्दा धेरै मधुमेह लागेका मान्छे छन्, कम्तीमा १४ करोड। त्यस्तै आधाभन्दा बढी वयस्कको तौल धेरै वा मोटा छन्।
चीनमा मोटपन भएका र भर्खरै टाइप-२ डायबेटिज लागेका ४०५ वयस्कमा यो अध्ययन गरिएको थियो। त्यसमध्ये ३३० जनाभन्दा धेरै पूरा समय सहभागी भएका थिए। उनीहरूको औसत उमेर ४६ वर्ष थियो। त्यस्तै मध्ये झन्डै दुई-तिहाई पुरूष थिए। उनीहरूमा १६ हप्तासम्म अध्ययन गरी आठ हप्तापछि फलोअप गरिएको थियो।
सहभागीहरूको लामो समयसम्मको रगतमा ग्लुकोजको मात्रा नाप्ने हेमोग्लोबिन ए१सीको औसत स्तर ७.९ अंक थियो। हेमोग्लोबिन ए१सी ६.५ अंक वा त्यो भन्दा माथि भयो भने डायबेटिज लागेको मानिन्छ। डायबेटिज नियन्त्रणमा राख्न त्यसलाई ७ भन्दा तल राख्न चिकित्सकले सल्लाह दिन्छन्।
सो अध्ययनमा धेरै सोचविचार नगरी केहीलाई ५:२ फास्टिङ गर्न लगाइएको थियो। केहीलाई मेटफर्मिन नामको डायबेटिजको औषधी चलाइएको थियो र बाँकीलाई इम्पाग्लिफ्लोजन भन्ने अर्को औषधी चलाइएको थियो।
५:२ फास्टिङ गर्न लगाइएकालाई हप्ताको पाँच दिन सामान्य र दुई दिन (लगातार होइन) पुरूषलाई ६०० क्यालोरी र महिलालाई ५०० क्यालोरी खान दिइएको थियो।
पाँच दिन सामान्य ब्रेकफास्ट, लन्च र बेलुका हल्का डिनर दिइन्थ्यो। दुई दिन भने ब्रेकफास्टमा एउटा अन्डा, लन्चमा केही फलफूल र तरकारी र बेलुका सलाद दिइन्थ्यो। हरेक खानामा स्वास्थ्यवर्द्धक फ्याट, प्रोटिन, भिटामिन र खनिज लगायत भएको पेय पदार्थ दिइन्थ्यो।
१६ हप्तापछि नाप्दा ५:२ फास्टिङ गर्नेको तौल औसतले २१ पाउन्ड (साढे नौ किलो) घटेको थियो भने डायबेटिजको औषधि खाएकाको तौल १२-१३ पाउन्ड (करिब साढे पाँच किलो) घटेको थियो।
त्यस्तै लामो समयसम्म रगतमा ग्लुकोजको मात्रा नाप्ने हेमोग्लोबिन ए१सीको स्तर पनि ५:२ फास्टिङ गर्नेको धेरै घटेको थियो। उनीहरूको हेमोग्लोबिन ए१सी औसतमा १.९ अंकले घटेको थियो। उता मेटफर्मिन प्रयोग गर्नेको १.६ अंकले र इम्पाग्लिफ्लोजन प्रयोग गर्नेको १.५ अंकले घटेको थियो।
५:२ फास्टिङ गर्नेमध्ये ८० प्रतिशतको हेमोग्लोबिन ए१सी ६.५ अंकभन्दा कम थियो। आठ हप्तापछि फलोअप गर्दा पनि ५:२ फास्टिङ गर्नेमध्ये ७७ प्रतिशतको हेमोग्लोबिन ए१सी ६.५ अंकभन्दा कम थियो।
अमेरिकन डायबेटिज एसोसिएसनले घटीमा तीन महिनासम्म हेमोग्लोबिन ए१सी ६.५ अंकभन्दा कम रह्यो भने डायबेटिज हटेको मान्छ।
चीनमा गरिएको पछिल्लो अध्ययनमा डायबेटिजको औषधी खाएकाको तुलनामा ५:२ फास्टिङ गर्नेको कम्मरको नाप, रक्तचाप र ट्राइग्लिसराइड्स पनि धेरै घटेको थियो।
अध्येताहरूले ५:२ फास्टिङले डायबेटिजलाई पुर्याउने फाइदाबारे अरू धेरै अध्ययन गरिनुपर्ने औंल्याएका छन्। तर आफ्नो अध्ययनले भर्खरै डायबेटिज लागेका मान्छेका लागि ५:२ फास्टिङ राम्रो हुन सक्ने देखाएको भनेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)