तान्जानियन नागरिक डोनाल्ड ज्याक्सन मबुगा अहिले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचाररत् छन्।
६८ वर्षका उनी अहिले लागुऔषध नियन्त्रण ब्युरोको नियन्त्रणमा छन्।
फ्लाई दुबईको उडानबाट उनी जेठ २७ गते काठमाडौं आइपुगेका थिए। नेपालको यात्रा उनले इथियोपियाको एडिडास अबाबाबाट सुरू गरेका थिए। यसबीच उनी दुबई ट्रान्जिट हुँदै काठमाडौं आइपुगे।
काठमाडौं आएर पनि उनी सरासर ठमेलस्थित होटलमा पुगेका थिए। उनको काठमाडौंको बसाइ हप्तादिनको मात्रै थियो।
‘एक पुरूष ठूलो मात्रामा लागुऔषध बोकेर आउँदैछ’ भन्ने सूचना ब्युरोको टोलीले पाएको थियो। त्यही सूचनाको विश्लेषण गर्दै प्रहरीले विमानस्थलबाटै मबुगालाई पहिचान गर्यो।
निगरानी गर्दै उनको होटलसम्म पुग्यो। कोठामा प्रहरीले १८ वटा क्याप्सुल फेला पारेको थियो।
ब्युरो प्रमुख एसएसपी दिनेश आचार्यका अनुसार क्याप्सुलभित्र कोकिन फेला परेको थियो।
सोधपुछ गर्दा उनीसँग थप कोकिन निकाल्न बाँकी नै थियो। अस्पतालमा लगेर मबुगाको एक्सरे गराइएको थियो।
एक्सरेमा थप क्याप्सुल देखा परे। चिकित्सकले उनलाई औषधी दिएर ५९ वटा क्याप्सुल निकालिएको एसएसपी आचार्यले बताए।
‘उनीबाट कुल ७७ वटा कोकिनका क्याप्सुल बरामद भएका थिए। उनीबाट एक किलो २०६ ग्राम कोकिन बरामद भएको हो,’ उनले भने।
मबुगाले क्याप्सुल इथियोपियाबाटै निलेर काठमाडौंसम्म आइपुगेका हुन्। इथियोपियामा उक्त कोकिन निलेसँगै उनी केही नखाई ट्रान्जिट पार गर्दै काठमाडौंसम्म आइपुगेका हुन्। होटल पुगेर मात्रै उनले ती क्याप्सुल निकाल्नका लागि चिसो पेय पदार्थ खान थालेको प्रहरीले जनाएको छ। त्यसैबीच प्रहरी उनी बसेको होटल पुगेको हो।
‘यस्ता लागुऔषधका क्याप्सुल निलेर ल्याउँदा खास्सै केही खाँदैनन्। तातो पदार्थहरू प्लास्टिक पग्लिन सक्ने भएकाले खाँदैनन्,’ एसएसपी आचार्यले भने, ‘आफूलाई जीवित राख्न मिल्ने गरी अलिअलि खान्छन्।’
यसरी निलेर ल्याउँदा मानिसको ज्यान समेत जोखिममा हुन्छ। पेट भित्रका क्याप्सुल फुटेमा मानिसको ज्यान जाने सम्भावना उच्च रहन्छ।
उनीमाथि सोधपुछ गरी प्रहरीले थप एक जना महिलालाई फेला पारेको थियो। जेठ ३० गते नै इमिरेट्स एयरलाइन्सबाट ब्राजिल हुँदै एक जना बोलिभियन नागरिक काठमाडौं आइपुगिन्।
३३ वर्षीया लौरा क्रुज टिकोना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमनतर्फ जाँच गरेको थियो। उनले निलो झोला बोकेकी थिइन्।
जसमा १२१ वटा फेन्सी लुगाहरू थिए। ती लुगामा एकै खालका बटनहरू थिए।
त्यही ठूला बटनभित्र उनले कोकिन लुकाएर ल्याएको फेला पारेको थियो। उनीबाट प्रहरीले दुई किलो १०० ग्राम कोकिन बरामद गरेको थियो। ब्युरोको टोलीले उनलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
त्यसैगरी असार १ गते पनि थप एक जना भेनेजुलियन नागरिक काठमाडौं आइपुगेका थिए। उनी ३९ वर्षीय साइमन एन्टोनियो अल्फोन्जो राडा हुन्।
प्रहरीले उनी काठमाडौं ओर्लिए पनि पक्राउ गरेको थिएन। उनीमाथि निगरानी बढाउँदै गयो। उनी काठमाडौं महानगर-२६ स्थित एक होटलमा बस्न पुगे। उनीमाथि पनि शंका लागेर प्रहरीले केही दिन निगरानी गर्यो।
निगरानी गरेपछि असार ४ गते ब्युरोको टोली उनको होटलमा पुग्यो। उनी बसेको कोठाबाट प्रहरीले ९२ वटा क्याप्सुल निकालिसकेको अवस्थामा फेला पारेको थियो।
उनीबाट ९२ वटा क्याप्सुलमा १ किलो १९८ ग्राम कोकिन बरामद भएको हो।
उनी भने इथियोपियाबाट नभई ब्राजिलको सापाउलोबाट निलेर काठमाडौंसम्म आइपुगेका हुन्।
यसरी पक्राउ परेका तीनै जनामाथि सोधपुछ गर्दा कोकिनको बजार भारत भन्नेतर्फ केन्द्रित थियो। यसअघि पनि पटकपटक कोकिन बरामद भए पनि त्यसको बजार नेपालमा नभई भारत नै भन्ने तथ्य खुल्ने गरेको थियो।
प्रहरीले त्यही ट्रेन्डलाई पछ्यायो। कसैले लिन आउने भन्ने खुलेपछि प्रहरीले कुरेको थियो।
असार ४ गते नै भारतबाट नयाँ दिल्ली हुँदै डेलिभरी लिन मिजोरमकी २७ वर्षीया लालसुआत्संगी काठमाडौं आइपुगेकी थिइन्। त्यसपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेकी भारतीय नागरिकलाई ५० हजार भारू दिने भनिएको थियो। अन्य विदेशी नागरिकलाई काम सकेपछि ३ हजार देखि २३५ हजार डलरसम्म दिने वचन दिएको अनुसन्धानबाट खुलेको छ।
उनीहरूको नेपालसम्मको यात्रा र होटल बसाइको खर्च पनि गिरोहले नै व्यहोर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको हो।
प्रहरीले चारै जनाबाट बरामद गरेको चार किलो ५०४ ग्राम कोकिन अवैध बजारमा १५ करोड ७६ लाख जति पर्छ। उनीहरूमाथि ब्युरोले लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही अघि बढाएको छ।