रूपन्देहीको कोटहिमाईस्थित एक सरकारी विद्यालयको बस निजी विद्यालयलाई भाडामा लगाएको पाइएको छ।
कोटहीमाई गाउँपालिका- ५ मझगावाँस्थित मर्चवार आदर्श माध्यमिक विद्यालयले सरकारी बजेटमा किनेको लु १ क ५५८१ नम्बरको बस बुद्ध इनोभेटिभ रिसर्च एण्ड टेक्निकल इन्स्टिच्युट प्रालिलाई भाडामा लगाएको छ।
लुम्बिनी प्रदेश सरकारको २५ लाख रुपैयाँ अनुदान र विद्यालयबाट २ लाख ७८ हजार रुपैयाँको साझेदारीमा २०७९ साल फागुनमा विद्यालयले बस खरिद गरेको थियो। तर, त्यही बसलाई बुद्ध इनोभेटिभ रिसर्च एन्ड टेक्निकल इन्स्टिच्युट प्रालिले भाडामा लिएर विराट सम्राट स्कुलका विद्यार्थी बोक्दै आएको छ।
विद्यालयले मासिक २५ हजार भाडा लिने गरी २०८० साउन ७ गतेदेखि लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ मा रहेको बुद्ध इनोभेटिभ रिसर्च एन्ड टेक्निकल इन्स्टिच्युट प्रालिलाई भाडामा दिएको जनाएको छ। उक्त भाडा समेत बजारमा चलिरहेको भाडाभन्दा ज्यादै न्यून हो।
सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि तथा विद्यार्थीको सुविधाका लागि खरिद गरिएको बसलाई निजी विद्यालयलाई भाडामा लगाएर सरकारी साधनको दुरूपयोग गरेको भन्दै स्थानीयले कारबाहीको माग गरेका छन्।
‘पहिलो कुरा त आवश्यकता र क्षमताको अध्ययनबिना विद्यालयलाई बस खरिदका लागि प्रदेश सरकारले अनुदान रकम दिनु हुँदैनथ्यो। माग गरेका कारण सरकारले रकम दिएको हो भने सरकारी बजेट दुरूपयोग गर्नेलाई कानुनी कारबाही गर्नुपर्छ,’ स्थानीय अष्टदेव यादवले भने।
लुम्बिनी प्रदेशका तत्कालीन शिक्षा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँले सरकारी विद्यालयका विद्यार्थीलाई सहज होस् भनेर सरकारी बजेटमा खरिद गरिएको बस निजीलाई भाडामा लगाएर दुरूपयोग गर्न नपाइने बताए।
‘म मन्त्री भएको समयमा विद्यालयले माग गरेको कारणले रकम निकासा गरेको हुँ अहिले निजी विद्यालयलाई न्यून मूल्यमा भाडामा लगाएको सुनेपछि दु:ख लागेको छ,’ खाँले भने।
आफूले केही समय पहिला भाडामा दिएको थाहा पाएपछि उक्त बस चलाउन नसक्ने भए प्रदेश सरकारलाई फिर्ता दिन भनेको उनले बताए।
‘त्यो स्कुलले चलाउन नसक्ने भए सरकारलाई फिर्ता दिएपछि सरकारले चलाउन सक्ने विद्यालयलाई दिन्छ,’ उनले भने।
‘विद्यालयमा बस आएको खबरले हामीलाई निकै उत्साहित बनाएको थियो, तर हाम्रो विद्यालयले उक्त बस सञ्चालन गर्न नसकेर निजी विद्यालयलाई भाडामा दिँदा मन दुखेको छ,’ स्थानीय अभिभावक गुरूबच्चन यादवले भने।
यादवका अनुसार उक्त बस त्यस क्षेत्रका बासिन्दाले समेत विवाह पार्टी, वनभोजका समयमा भाडामा लिने गरेका छन्।
स्थानीयहरूका अनुसार गएको फागुन २७ गते गणेश सामुदायिक प्राथमिक विद्यालयलाई वनभोजमा जानका लागि १२ हजार रूपैयाँमा भाडामा दिइएको थियो। केही महिनाअघि सोही विद्यालयको एक शिक्षकको छोरीको विवाहमा पनि सोही बस प्रयोग गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक धनञ्जय त्रिपाठीले स्थानीय सरकारले बस सञ्चालनमा कुनै चासो नदेखाएकोले भाडामा दिन बाध्य भएको बताए।
‘अहिले विद्यालय पूर्ण रूपमा स्थानीय सरकारको अधीनमा रहेको छ। बस चलाउने भनेर विद्यालयमा विद्यार्थीहरूबाट कुनै शुल्क लिइएको छैन, त्यसैले चालकलाई तलब दिन समेत नसकेपछि गाउँपालिकामा सञ्चालन खर्च माग गर्दा कुनै वास्ता गरिएन,’ उनले भने, ‘बसको इन्धन, मर्मत लगायतका खर्च कहाँबाट व्यहोर्ने ?,’ प्रधानाध्यापक त्रिपाठीले प्रश्न गरे।
त्रिपाठीले विद्यालयका १४ वटा व्यावसायिक सटरहरू भाडामा दिइएको भए पनि सोको भाडा समेत ३ वर्षदेखि उठ्न नसकेकोले विद्यालय चरम आर्थिक संकटमा फसेको बताए।
कोटहीमाई गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक मनोहर चौधरीले बस खरिदका लागि प्रदेश सरकारलाई सिफारिस गरिदिनुस् भनेकोले सहजीकरणका लागि पत्राचार गरेको भए पनि सञ्चालनका लागि गाउँपालिकाबाट खर्च व्यहोर्ने कुनै सहमति नभएको बताए।
‘उहाँहरूले बस किन्नका लागि सिफारिस गरिदिनुस् भन्नु भएपछि हामीले सिफारिस दिएका हौं, त्यो बाहेक अरू होइन,’ उनले भने।
बस सञ्चालनका लागि विद्यालयको आफ्नै पर्याप्त स्रोत रहेको र तिनको सदुपयोग नभएको प्राविधिक सहायक चौधरीले बताए।
‘सामुदायिक विद्यालयका लागि खरिद गरिएको बस निजी विद्यालयलाई भाडामा दिन मिल्दैन,’ उनले भने।