काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ हटाएको पाँच महिना नपुग्दै न्यूरोड क्षेत्रको सडकहरू पार्किङले भरिन थालेका छन्।
पार्किङ हटाएपछि न्यूरोडका सडक खुला थिए। मानिसहरू सहजै आवतजावत गर्थे। न्यूरोडमा ट्राफिक जाम कम हुँदै गएको थियो। तर महानगरले नियमन नगर्दा सडकमा फेरि जथाभावी पार्किङ हुन थालेको हो।
महानगरले गत माघ ९ गतेदेखि न्यूरोडमा पार्किङ हटाएको थियो। महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको झोँछे लगायतका ठाउँमा पार्किङ हटाएको थियो। तर अहिले यी ठाउँमा दुई/चार पाङ्ग्रे सवारी साधन पार्किङ हुन थालेका छन्।
मेयर बालेन शाह न्यूरोड क्षेत्रलाई 'भेहिकल फ्री जोन' बनाउने योजनामा थिए। त्यसैले स्मार्ट पार्किङ गर्न ठेक्का पाइरहेको कम्पनी ह्विल ट्रुली योर्ससँग सम्झौता सकिएपछि महानगरले नवीकरण नै गरेन।
पार्किङ गर्न नदिन र नियमन गर्न केही समय महानगरले नगरप्रहरी नै परिचालन गरेको थियो। यो क्रम लामो समय चले पनि निरन्तरता भने नभएको पाइएको छ।
महानगरले त्यति बेला गाडी, ट्याक्सी र मोटरसाइकल रोकेर राख्न दिँदैनथ्यो। 'पिक एण्ड ड्रप सिस्टम' लागू गरेको थियो। कोही यत्तिकै मोटरसाइकल रोकेर बसेको देखे नगर प्रहरीले सिट्ठी फुकिहाल्थ्यो, सवारीसाधन पार्किङ कम हुँदै गएको थियो।
यसले अर्कातर्फ बाटोमा गुड्ने सावरीसाधनलाई प्रशस्त ठाउँ दिएको थियो। जसले गर्दा ट्राफिक जाम कम भएको हो।
तर पछिल्लो समय जथाभाबी गाडी रोक्न थालिएको छ। खासगरी साँझको समय ट्याक्सी र निजी कारसमेत बाटो छेउ लस्करै रोकेर राखिएका हुन्छन्। मोटरसाइकल पनि त्यसरी नै रोकिएका हुन्छन्।
पहिलेजस्तो पार्किङ नभएपनि लामो समय सडक किनार रोकेर राखिने ट्याक्सी, निजी कार र मोटरसाइकलको लस्करले न्यूरोडलाई फेरि साँघुरो बनाएको छ। त्यहाँ पहिलेजस्तो सवारी साधन रोक्नेलाई सिट्ठी फुकेर हटाउन नगर प्रहरीहरू पनि छैनन्।
यति मात्र होइन, पार्किङ हटेर सडक चौडा भएपछि सवारी साधनले जथाभावी 'यू टर्न' गर्न थालेका छन्। यसले दुर्घटना जोखिम बढाउँछ। नियम नमान्ने सवारी चालकलाई कारबाही गर्न नगर प्रहरी र ट्राफिक प्रहरीले सक्रियता देखाएका छैनन्।
गाडीहरूलाई सडक किनार रोक्न नदिने हो भने पनि न्यूरोड धेरै फराकिलो हुन्छ। साँझ सहर घुम्न निस्केकाहरू सडकमै हिँड्न सक्छन्।
तर महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे भने न्यूरोडमा पार्किङ गर्न नदिएको दाबी गरेका छन्।
'त्यहाँ पार्किङ हुने गरेको छैन,' उनले भने, 'पिक एण्ड ड्रप सिस्टम नै लागू छ।'
पहिलेझैं सवारी साधन रोक्न नदिन नगर प्रहरीहरू किन देखिँदैनन् भन्ने प्रश्नमा उनले नगर प्रहरी अन्य ठाउँमा गएको बेलामा मात्र नदेखिएको दाबी गरेका थिए।
'नगर प्रहरीको संख्या कम छ। अन्य ठाउँको काममा गएको बेला हुनसक्छ,' उनले भनेका थिए, 'हामी एक्लैले मात्र गर्न खोजेर पनि सम्भव छैन, त्यसमा ट्राफिक प्रहरीको उत्तिकै भूमिका हुन्छ।'
पटक पटक ट्राफिक व्यवस्थापन कार्यालयसँग समन्वयका लागि गुहारेको उनले बताए। जबसम्म न्यूरोडमा पार्किङ 'फ्रि' बनाउन ट्राफिक प्रहरीले कडाइसाथ भूमिका खेल्दैन, तबसम्म नगर प्रहरीको एकल प्रयासले मात्र दीर्घकालीन नहुने उनले बताएका छन्।
महानगरले न्यूरोडका पार्किङको विकल्पमा धरहरा र काठमाडौं टावरमा निःशुल्क पार्किङ उपलब्ध गराउँदै आएको छ।
सबै तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी