संविधान सभा सदस्य कमलेश पुरी गोस्वामीले अतिक्रमण गरेको सार्वजनिक जग्गा रूपन्देही जिल्ला प्रशासनले खाली गराएको छ।
गोस्वामीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११, मसिनामा आफ्नै घरसँग जोडिएको सार्वजनिक जग्गा र बाटो अतिक्रमण गरी आफ्नै जग्गासँग गाभेर पोखरी र बगैंचा बनाएका थिए। जग्गा खाली गराउन पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि रूपन्देही प्रशासनले डोजर लगाएर तारबार भत्काइदिएको हो।
तारबार भत्काउन आइतबार रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको नेतृत्वमा सुरक्षा टोली र लुम्बिनी सांस्कृतिक नगरपालिकाको टोली पुगेको थियो।
सिडिओ अर्यालका अनुसार गोस्वामीले आफ्नो जग्गासँग जोडिएको १५ कट्ठाभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण गरी तारबार गरेका थिए। तारबार हटाउने सम्बन्धमा गोस्वामी परिवारले कुनै काम नगरेपछि डोजर चलाएको उनले बताए।
'गोस्वामीले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा उजुरी परेको थियो। त्यसैका आधारमा छानबिन गर्दा पुष्टि भएपछि तारबार भत्काएका हौं,' उनले भने।
यो जग्गामा बोर्ड राखेर संरक्षणका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकालाई जिम्मेवारी दिइएको उनले जानकारी दिए।
गोस्वामीले सोही जमिनसँग जोडिएको पोखरी बनाउँदा समेत अतिक्रमण गरेको पाइएको छ। त्यसैले पोखरीमा परेको सार्वजनिक जग्गा छाडेर डिल उठाउन निर्देशन दिइएको सिडिओ अर्यालले बताए।
'गोस्वामीलाई बगैंचा र पोखरीले ओगटेको जग्गा छाडेर मात्र तारबार गर्न र पोखरीको डिल उठाउन भनेका छौं। उहाँले नगरे नगरपालिकामार्फत् काम गराएर रकम असुल हुनेछ,' उनले भने।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका अमिन सागर बेवारे बिकका अनुसार गोस्वामीले रूपन्देहीको साविक मसिना '६ ख' को कित्ता नम्बर ३१६ र ४०३ सँग जोडिएको सार्वजनिक जग्गा अतिक्रमण गरेका हुन्। कित्ता नम्बर ४०३ सँग जोडिएको सार्वजनिक जग्गामा दक्षिणतर्फ जाने बाटोको प्रवेशद्वारमा तारजाली लगाएर बाटो बन्द गरिएको थियो।
जिल्ला प्रशासन, नापी, मालपोत कार्यालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्राविधिक टोलीले जग्गा नापजाँच गरी अतिक्रमण भएको प्रतिवेदन आएपछि डोजर चलाइएको बिकले बताए।
गोस्वामीका आफन्त प्रमोदपुरी गोस्वामीले सार्वजनिक जग्गा छुट्ट्याएर अब आफ्नो जग्गामा मात्र तारबार लगाइने बताए।
'अहिले पनि कब्जा गरिएको होइन। यत्तिकै खाली रहेको जग्गामा तारबार मात्र लगाइएको हो। तारबार गरेको सार्वजनिक भनिएको जग्गामा न खेती गरिएको छ, न त कुनै संरचना बनाइएको छ। अब प्रशासनले भत्काएपछि सार्वजनिक जग्गा छाडेर तारबार गर्छौं,' उनले भने।
तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीबाट संविधान सभा सदस्य निर्वाचित कमलेश पुरी गोस्वामी लुम्बिनी क्षेत्रमा रही मधेसको राजनीतिमा सक्रिय छन्।
गोस्वामीसँगै अन्य केही व्यक्तिले समेत सो क्षेत्रमा सार्वजनिक जग्गा हडपेको स्थानीयको आरोप छ।
सिडिओ अर्यालले गोस्वामीले अतिक्रमण गरेको जग्गामा आइतबार सांकेतिक रूपमा डोजर लगाइएको र अब अन्यत्र अतिक्रमण गरिएका जग्गा पनि खोजी गरी संरक्षण गरिने बताए।