बुटवलबाट नुवाकोट दोभान जान सडक विस्तार नगर्दा सडकखण्ड जोखिमपूर्ण बनेको विज्ञहरूले धारणा दिएका छन्।
बुटवलको बेलबासदेखि पाल्पाको दोभानसम्म जानका लागि महत्वपूर्ण विकल्पको रुपमा निर्माण गरिएको यो सडक विज्ञहरूको सुझाव विपरित बनाउँदा अत्यधिक उकालो र सवारीसाधनले थेग्नै नसक्ने गरी मोडहरू रहेका छन्।
डिभिजन सडक कार्यालय बुटवलका अनुसार २०५२ सालतिर स्थानीयले आफूलाई दैनिक आवतजावत गर्न आफै ट्र्याक खोलेको सडकलाई संघीय सरकारले बजेट दिएर केही चौडा बनाएको थियो। पछि प्रदेश मातहत गएपछि त्यसैमाथि कालोपत्रे गरियो।
विज्ञ र सडक निर्माणमा लामो समयदेखि संलग्न इन्जिनियरहरूले उक्त सडकको दुरी लामो बनाएर भए पनि जोखिम हटाउन सुझाव दिएका थिए। तर वन कार्यालयले अनुमति नदिएपछि सडक अत्यन्त जोखिम पूर्ण बनेको डिभिजन सडक कार्यालयको भनाइ छ।
डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर महेश्वर लम्सालले बुटवल देखि नुवाकोट सम्मको दुरीलाई थप दुई किलोमिटर बढाएर भए पनि मोड, घुम्ति र उकालो घटाउने प्रयत्न गरे पनि वन कार्यालयले अनुमति नदिएपछि सम्भव नभएको बताए।
‘पहिले नुवाकोटका स्थानीयले आफूखुसी खोलेको ट्रयाकलाई चौडा गर्ने समयमै हामीले दुरी बढाएर भएपनि मोडहरू घटाउने प्रयास गरेका थियौं। त्यो गर्न सकेको भए उकालो पनि कम हुने थियो तर, वनले अनुमति दिएन,’ लम्सालले भने।
उनका अनुसार स्थानीयले बनाएको ट्र्याकको लम्बाइलाई केही लम्बाउन पाएको भए बुटवलदेखि नुवाकोट सम्मको अहिलेको करिब ९ किलोमिटरको दुरी २ किलोमिटर बढ्न सक्थ्यो। तर मोडहरू भने अहिले रहेका ३१ बाट घटेर १० वटामा आउँथ्यो।
‘बेलवासदेखि नुवाकोटसम्मको करिब ९ किलोमिटर लम्बाइको यो सडकमा ३१ वटा मोड छन् भने उकालो दर १५ प्रतिशत भन्दा बढी छ। जुन अत्यन्त जोखिमपूर्ण हो। २ किलोमिटर लम्बाउन सकेको भए मोडसँगै उकालो दरपनि ८ प्रतिशतमा आउँथ्यो, लम्सालले भने।
उनका अनुसार अहिले उक्त सडकमा उकालो दर १५ प्रतिशत भन्दा बढी छ। अर्थात १ सय मिटर दुरीमा १५ मिटर उकालो छ।
रुपन्देही र पाल्पाको सिमा क्षेत्रमा रहेको ऐतिहासिक नुवाकोट बुटवलको उत्तरपश्चिम चुरे पहाडको शिरमा छ। पाल्पाली सेनवंशिय राजा मणिमुकुन्द सेनको गृश्मकालिन दरबारको भग्नावेशष, प्राचिन भैरव मन्दिर, तोपहान लगायतका संरचनाहरूका कारण नुवाकोट ऐतिहासिक क्षेत्र हो। नुवाकोटबाट बुटवल, भैरहवादेखि भारतको सुनौली र नौतनहवासम्मको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ।
हरियाली जंगलको चिसो हावा चल्ने नुवाकोट पछिल्लो समय घुम्न र तराईको गर्मी छल्न जानेहरूको उपयुक्त गन्तव्य बनिरहेको छ।
पछिल्लो समय नुवाकोट विकास संरक्षण समितिले नुवाकोटमा विभिन्न संरचना निर्माण गरेपनि त्यहाँ दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्नको लागि पुग्न थालेका छन्।
नुवाकोटलाई पर्यटकीय गन्तव्य बनाउन बुटवलका उद्योगी व्यवसायीहरूले होटल तथा रिसोर्ट संचालन गरिरहेका छन् भने सिद्धार्थ केबलकार प्रालिले केबलकार निर्माण गरिरहेको छ। जसको परीक्षण संचालन भइसकेको छ।
नुवाकोट घुम्न जानेहरूको संख्या बढिरहँदा छिनछिनमै आउने मोड र अत्यन्त उकालो सडकका कारण त्यहाँ पुग्ने यात्रुहरूको यात्रा भने जोखिमपूर्ण बनिरहेको छ।
दैनिकजसो साना तिना दुर्घटना भइरहेपनि ठूला दुर्घटना बाहेकका सूचनाहरू बाहिर आउँदैनन्। साना दुर्घटनाका सूचना बाहिर नआएपनि त्यहाँ पुग्नेहरू भने अप्ठ्यारो सडकको जोखिमबारे चर्चा गरिरहन्छन्।
बुधबार साँझ नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार यही सडकमा दुर्घटनामा पर्यो। बुटवल भूप्वाईन्टको मोडबाट सय मिटर भन्दा तल झरेको कार दुर्घटनामा परी तीन जनाको मृत्यु भयो भने दुई जना गम्भिर घाइते भए।
उक्त दुर्घटनामा बुटवलमा निजी क्षेत्रमा कुशल बजार व्यवस्थापकको रुपमा चिनिने यशोदा फुड्स प्रालीका बजार प्रमुख रामप्रसाद शर्मा (छविलाल) सहित उनका विद्यालयका सहपाठीहरू तिलोत्तमा–३ की ५७ वर्षीय आशा श्रेष्ठ र ५० वर्षीय भगवती श्रेष्ठको मृत्यु भयो।
सँगै एसएलसी दिएका ब्याजी साथीहरूको नुवाकोटमा भेला गरी उनीहरू बुटवल फर्किँदै गर्दा दुर्घटनामा परेका थिए। यो दुर्घटनाले बेलबास नुवाकोट सडकको जोखिमबारेको बहस बाहिर ल्याएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा–दोभान खण्डको पहिरोको उच्च जोखिमबाट बच्नका लागि बुटवल बेलबास–नुवाकोट–दोभान सडकलाई वैकल्पिक मार्गका रुपमा अगाडि सारिएको थियो।
सिद्धबाबामा पहिरो गएर घण्टौं सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र पर्ने समस्याको अन्त्य गर्नका लागि यो सडक निर्माण गरिएको थियो।
तर सडकमा भएको अत्यधिक उकालो र जटिल मोडका कारण चालकहरू यो सडकमा सवारी चलाउन उत्साहित देखिँदैनन्। नत नुवाकोटदेखि दोभान सम्म सडक कालोपत्रे नै हुन सकेको छ।
इन्जिनियर लम्साल भन्छन्, ‘यो सडक सिद्धबाबा सडकखण्डको विकल्प बन्नै सकेन, त्यो बनाउनका लागि उकालोको ग्रेड ६ प्रतिशत भन्दा तल झार्नु पर्छ त्यो नगरेसम्म ठूला सवारीसाधन संचालन गर्न सम्भव नै छैन्। अहिले यो दुई पांग्रे सवारीमा गर्मी छल्न जाने पर्यटकीय सडक मात्रै बनेको छ।’
संघीय सरकार मातहतमा रहेकै आर्थिक वर्ष २०७२/०७३ मा पहिलो चरणको ठेक्का सम्झौता भएको यो सडक समयमा निर्माण सम्पन्न नहुँदै प्रदेशलाई हस्तान्तरण भइसकेको छ। अहिले बेलबासदेखि नुवाकोटसम्मको करिब ९ किलोमिटर प्रदेश डिभिजन सडक कार्यालय रुपन्देही र नुवाकोटदेखि दोभानसम्मको ८ किलोमिटर प्रदेश सडक डिभिजन कार्यालय पाल्पाले हेर्दै आएको छ।
इन्जिनियर लम्साल तत्कालका लागि सडकको लम्बाई बढाउन सम्भव नभए जोखिम कम गर्नका लागि क्रस बेरियर, डेडिकेटर पोष्ट र अत्यावश्यक स्थानहरूमा वाल लगाइ सुरक्षित बनाउनु पर्ने बताउँछन्। यसका साथै प्रयाप्त सडक रेखा चिन्ह र ट्राफिक संकेतहरू बनाउनु पर्ने उनको सुझाव छ।