सन् १९२४, जुन ८।
अर्थात्, आजभन्दा सय वर्षअघि।
दिउँसो १२ बजेर ५० मिनेटको चर्को घाममा बेलायती नागरिक जर्ज म्यालोरी र एन्ड्र्यु 'स्यान्डी' इरभिन सगरमाथा शिखरतर्फ आफ्ना पाइला टुकुटुकु चाल्दै थिए। उनीहरूको लक्ष्य थियो, संसारकै अग्लो शिखरमा पहिलोपटक पुग्ने।
आठ हजार मिटरभन्दा माथि उनीहरू उक्लिसकेका थिए। अब हजार मिटरभन्दा कम उचाइ उक्लिन बाँकी थियो।
सहायक आरोही नोयल ओडेल अलि परबाट उनीहरूलाई नियाल्दै थिए। उनका आँखा सगरमाथा शिखरतर्फ पाइला चाल्दै गरेका मसिना थोप्लाजस्ता आकृतिमा अडिएका थिए।
एकपछि अर्को गर्दै दुई आकृति सँगसँगै अघि बढ्दै थिए। मौसम सफा थियो। तर हिमालमा मौसम कति बेला खराब हुन्छ, के भर!
नोयलले हेर्दाहेर्दै बादल मडारियो। ती दुई आकृति बादलका घेराभित्र हराए र नोयलले देख्दादेख्दै ओझेल भए।
ती आकृति फेरि देखिएलान् भनेर उनले धेरै बेर हिमालतर्फ आफ्ना आँखा अड्याए।
देखेनन्।
जर्ज र एन्ड्र्यु सगरमाथाको चुचुरो पुगेर फर्किएलान् भन्ने आशा बोकेर अरू सहायक आरोही र साथीहरू तलको क्याम्पमा पर्खिरहेका थिए। तर उनीहरू फर्किएनन्।
उनीहरूलाई मृत घोषणा गरियो।
त्यसपछि नौ वर्षसम्म सगरमाथा आरोहणको अभियान नै रोकियो र सन् १९३३ मा बल्ल फेरि सुरू भयो।
सगरमाथा चुचुरो पुग्ने प्रयासमा आजसम्म धेरैले ज्यान गुमाइसकेका छन्। तर सय वर्षअघिको जर्ज म्यालोरी र एन्ड्र्यु इरभिनको आरोहणलाई आजसम्म रोचक र रहस्यमयी घटना रूपमा स्मरण गरिन्छ।
कतिपयलाई विश्वास छ — उनीहरू सगरमाथा चुचुरोमै पुगेका थिए र फर्किने क्रममा ज्यान गुमाए।
के उनीहरू साँच्चै सगरमाथा शिखरमा पुग्न सफल भएका थिए? वा, उनीहरूको यात्रा बीचमै रोकिएको थियो?
आज हामी सय वर्षअघिको त्यही दुःखद तर रहस्यमयी आरोहणबारे चर्चा गर्दैछौं।
बीसौं शताब्दीलाई साहसिक यात्राको 'स्वर्ण युग' मानिन्छ। त्यस अघिसम्म के विश्वास थियो भने, सगरमाथामा कोही मान्छे बाँच्न सक्दैन। त्यसैले साहसिक यात्रीहरूका लागि यो अन्तिम विन्दु जस्तै बनेको थियो।
सन् १९१६ मा बेलायतका रसायनशास्त्री एवं हिमाल आरोही अलेक्जेन्डर केल्लासको अध्ययनले सगरमाथा आरोहण सम्भव भएको पुष्टि गर्यो। उनको अध्ययनले शारीरिक र मानसिक रूपमा बलियो व्यक्तिले सगरमाथाको सफल आरोहण गर्न सक्ने निष्कर्ष निकालेको थियो। त्यसपछि नै साहसिक यात्रा गर्नेहरू सगरमाथा चढ्न उत्साहित भएका थिए।
त्यही उत्साह जर्ज म्यालोरीमा थियो।
बेलायतको चेशायरस्थित मोबर्ली गाउँमा जन्मिएका जर्ज पादरीका छोरा थिए। सानैदेखि साहसी स्वभावका उनी सात वर्ष उमेरमै बुबा काम गर्ने चर्चमाथि चढेका थिए। सगरमाथाअघि उनी एल्प्स पर्वतमालाका थुप्रै हिमशृंखला चढिसकेका थिए। युरोप र एसियाका पर्वतमा 'रक क्लाइम्बिङ' र पदयात्रा गरेका थिए।
उनकी बहिनी एभीले जर्जलाई स्मरण गर्दै एक अन्तर्वार्तामा भनेकी छन्, 'जर्ज चढ्न सकिने हरेक कुरा चढ्थे।'
सन् १९१४ मा प्रथम विश्वयुद्ध सुरू हुनुभन्दा केही दिनअघि जर्जले आफ्नी प्रेमिका रूथसँग बिहे गरेका थिए। उनी रूथ र हिमालसँग त्रिकोणात्मक प्रेममा रहे। जब रूथसँग हुन्थे, उनी हिमाल सम्झिन्थे। र, हिमालमा हुँदा रूथलाई।
हिमाल आरोहण क्रममा महिनौं हराउँदा उनीहरू चिठीमार्फत् एकअर्काको सम्पर्कमा रहन्थे।
विश्वयुद्ध सकिएपछि सन् १९१९ मा पर्वतारोहीहरूको पहिलो संगठन 'अल्पाइन क्लब' र सगरमाथा आरोहणका लागि 'रोयल जियोग्राफिकल सोसाइटी' नामक समिति गठन भयो। सगरमाथा आरोहणको सम्भाव्यता अध्ययन र नक्सांकन गर्न बनेको टोलीका एक सदस्य जर्ज पनि थिए।
सन् १९२१ मा उनीहरूले 'ब्रिटिस माउन्ट एभरेस्ट एक्सपिडिसन' नामक अभियानमार्फत् सगरमाथा आरोहणको योजना बनाए। त्यति बेला सजिलो मानिने दक्षिण अर्थात् नेपालको बाटो प्रतिबन्धित थियो। त्यसैले उनीहरू उत्तर अर्थात् तिब्बतको बाटोबाट सगरमाथातर्फ लम्किए।
उनीहरू सगरमाथासम्मै त पुगेनन्, तर त्यहाँसम्म पुग्ने बाटो पत्ता लगाए। हिमाल, हिउँ र त्यहाँको वातावरणबारे जानकार भए। त्यो यात्रामा उनीहरू २३ हजार ३० फिटसम्म पुगे। त्यो आफैमा त्यस बेलाको कीर्तिमानी उचाइ थियो। सगरमाथाको उचाइ २९ हजार २ फिट मानिन्थ्यो।
त्यसको एक वर्ष नपुग्दै, सन् १९२२ मा जर्ज फेरि सगरमाथामा आफ्नो पाइला टेक्न गए।
त्यसअघिको अध्ययनका आधारमा '१९२२ ब्रिटिस माउन्ट एभरेस्ट एक्सिपिडिसन' अभियान अघि बढेको थियो। यो यात्रामा उनीहरू २६ हजार ८ सय फिटसम्म पुगे। यो अर्को कीर्तिमानी उचाइ बन्यो। तर नर्थकोलभन्दा अगाडि हिमपहिरोमा पुरिएर सात जना भरियाको मृत्यु भएपछि यात्रा रोकियो।
त्यो यात्राबाट जर्ज बिथोलिए। हिमालसँग सधैं निकट उनी केही समय हिमालबाट टाढै बसे र त्यो घटना भुल्ने प्रयास गरे। यसबीच उनले आफ्नी श्रीमती र बालबच्चासँग धेरै समय बिताए।
सन् १९२४ मा सगरमाथा आरोहणको अर्को योजना बन्यो।
त्यो योजनाको हिस्सा बन्ने अवसर जर्ज गुमाउन चाहँदैन थिए। अनि श्रीमती रूथलाई गरेको बाचा पनि पूरा गर्न चाहन्थे।
उनले रूथलाई भनेका थिए — म तिम्रो फोटो सगरमाथा शिखरमा छाडेर आउँछु।
तेस्रोपटक सगरमाथा आरोहणको प्रयासमा जुटेका म्यालोरीलाई सन् १९२३ मै एक पत्रकारले सोधेका थिए, 'तपाईं किन माउन्ट एभरेस्ट चढ्न चाहनुहुन्छ?'
सायद यो प्रश्न जर्जलाई धेरैले सोधेका थिए।
उनी चिढिन्छन् वा ठ्ट्यौली पारामा जबाफ फर्काउँछन्, 'बिकज इट इज देयर।'
अर्थात्, 'किनकि त्यो त्यहाँ छ।'
३७ वर्षबाट ३८ लाग्नै लागेका जर्जलाई यसपटक सगरमाथा शिखर पुगिएन भने जीवनमा कहिल्यै पुग्न सक्दिनँ भन्ने डर पनि थियो।
त्यसैले उनी कस्सिए।
उनले अक्सफर्ड विश्वविद्यालयमा रसायनशास्त्र पढिरहेका विद्यार्थी एन्ड्र्यु इरभिनलाई आफ्नो सहयात्री छाने। २१ वर्षीय एन्ड्र्युलाई सगरमाथा उचाइमा आवश्यक पर्ने अक्सिजनको मेसिन चलाउने राम्रो ज्ञान थियो।
जर्ज र एन्ड्र्यु अरू सहायक आरोही तथा क्यामराम्यानका साथ महिनौं लगाएर आफ्नो गन्तव्यतर्फ लम्किए। जुन ६ मा सगरमाथाको नर्थकोल स्थित क्याम्प-४ बाट माथि उक्लिँदै गर्दा सहायक आरोही नोयल ओडेलले उनीहरूको तस्बिर खिचेका थिए।
सुरूदेखि जर्ज र एन्ड्र्युको सगरमाथा यात्राको भिडि ओ खिच्दै आएका क्यामराम्यान जोन नोयलले जुन ७ मा उनीहरूको अन्तिम भिडिओ खिचेका थिए। जोन उनीहरू सफल यात्रा गरेर फर्किएको भिडिओ खिच्ने आकांक्षाका साथ आतुर भई बसेका थिए।
त्यसै दिन जर्जले करिब ८ हजार मिटर माथिबाट जोनलाई अन्तिम चिठी लेखे। क्याम्प-६ बाट अगाडि बढ्न नसकेका भरियाहरू क्याम्प-५ तर्फ झर्दै गर्दा जर्जले उक्त चिठी एक भरियाको हातमा थमाएका थिए।
चिठीमा लेखिएको थियो, 'हा मी सम्भवतः भोलि (जुन ८ मा) मौसम सफा हुनेबित्तिकै निस्किने छौं। हामीलाई साँझ ८ बजेतिर चुचुरोतर्फ बढ्दै गरेको हेर्दा ढिला नहोला!'
जर्जले हतारमा चिठी लेख्दा बिहान ८ बजेलाई साँझ भनेर लेखेको हुन सक्ने अनुमान अनुसन्धाताहरूले गरेका छन्।
जुन ८ मै अन्तिमपटक सहायक आरोही नोयल ओडेलले दुई मसिना आकृति हिमालतर्फ बढेको देखे। के ही क्षणमै ती आकृति बादलबीच हराए ।
जर्ज म्यालोरी र एन्ड्र्यु इरभिन के ही दिनसम्म नफर्किएपछि उनीहरूलाई मृत घोषणा गरियो।
यो घटनाको करिब ७५ वर्षपछि, सन् १९९९ मे १ मा अर्को एउटा घटना भयो।
अमेरिकी पर्वत आरोही कोर्नाड एंकरले सगरमाथा चढ्दै गर्दा सेतो मार्बलजस्तै चहकिलो आकृति देखे।
राम्ररी नियाल्दा त्यो मानिसको शरीर थियो। त्यो मृत शरीरले लगाएको कप डामा लेखिएको भेटियो — जर्ज म्यालोरी।
जर्जलाई अन्तिमपटक पश्चिमतर्फ जाँदै गरेको नोयल ओडेलले देखेका थिए। तर उनको मृत शरीर ठीकविपरीत पूर्वतर्फ फेला परेको थियो।
जर्जको खुट्टा भाँचिएको थियो र उनले हिउँतर्फ आफ्नो हात फैलाएका थिए। उनको साथमा केही कागजपत्र र चिठी थिए, जुन ७५ वर्षसम्म सकुशल थिए। उनको हातको घडी १० बजेर १५ मिनेटमा रोकिएको थियो। हिमालको उचाइ नाप्ने अल्टिमेटरका काँटा हराएका थिए।
नोयल ओडेलले जर्ज र एन्ड्र्युलाई अन्तिमपटक दिउँसोको समयमा देखेका थिए। जर्जको निधन त्यसै दिन दिउँसो भएको हुँदो हो त उनले 'स्नो ब्लाइन्डनेस' बाट बच्न हिउँमा सनग्लास लगाएका हुँदा हुन्! तर उनको मृत शरीरको लुगाको भित्री खल्तीमा सनग्लास फेला पर्यो। यसले उनी शिखरमा पुगेको र रातको समय तल ओर्लिएको हुन सक्ने धेरैले आकलन गरे।
सबभन्दा रोचक कुरा, सबै कागजात सुरक्षित भेटिँदा पनि म्यालोरीकी श्रीमती रूथको फोटो फेला परेन।
उक्त फोटो उनले सगरमाथा आरोहणपछि चुचुरोमा छाड्ने बाचा गरेका थिए। यसले पनि उनले सगरमाथा आरोहण गरेको हुनुपर्ने विश्वास बढायो।
जर्जसँगै सगरमाथा चुचुरो टेक्न हिँडेका एन्ड्र्युको भने अहिलेसम्म शरीर फेला परेको छैन। उ नको 'आइस-एक्स' भने जर्जको शरीरभन्दा ८ सय फिट पर फेला परेको थियो।
जर्जसँग सानो क्यामरा पनि थियो। त्यो उनको शरीरसँगै फेला परेन। त्यसैले एन्ड्र्युनसँग हुन सक्ने आकलन गरिएको छ। त्यो क्यामरा भेटिए त्यसले कैद गरेका तस्बिर निकाल्न सकिने 'कोडाक' कम्पनीका विज्ञहरूले बताएका छन्। सायद उक्त क्यामराले जर्ज र एन्ड्र्यु सगरमाथा चुचुरोसम्म पुगेको वा नपुगेको बताउन सक्थ्यो!
तर न क्यामरा फेला परेको छ, न एन्ड्र्युको शरीर।
सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथा चुचुरोमा पुग्ने पहिलो व्यक्ति बने।
तर उनीहरूभन्दा ४१ वर्षअघि नै आ रोहणमा हिँडेका जर्ज म्यालोरी र एन्ड्र्यु इरभिनले स गरमाथा चुचुरो टेके कि टेकेनन्?
सय वर्षअघिको त्यो रहस्य अहिलेसम्म सगरमाथामै दफन छ।
***