कर्णाली नदीमाथिको झोलुंगे पुलमा आइतबार बिहान फसेका खच्चडहरूको उद्धार कार्य जारी छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय बासिन्दाको समेत सहयोगमा पुलमा फसेका खच्चड उद्धार गरिरहेका छन्।
अछामबाट चामल लिन दैलेखको आठबीस नगरपालिकाको राकम बजार आउँदै गरेका १३ वटा खच्चड पुलमा फसेका थिए।
अछामका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाका अनुसार ती खच्चडहरू अछामबाट चामल लिन दैलेख आउँदै गर्दा पुलमा फसेका थिए।
‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई पुलमा फसेका खच्चड उद्धार गर्न परिचालन गरिएको छ,’ उनले भने, ‘विकट स्थान र घटनाबारे आज बिहान ११ बजेमात्रै खबर आइपुगेको थियो।’
अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीसलाई जोड्ने कर्णाली नदी माथिको उक्त पुलको एकछेउका लठ्ठा चुडिँदा खच्चड अड्किन पुगेका थिए। लठ्ठा चुडिँएको भागको पुल झुकेपछि १३ खच्चर जालीमा छिरेका थिए।
पुलको जाली काटेर खच्चडहरूको उद्धार गरिएको हो।
‘सुरक्षाकर्मी र स्थानीयले पुलको जाली काटेर खच्चडलाई कर्णाली नदीमा खसालिरहेका छौं, केही खच्चड तैरिएर किनारमा आए, केहीलाई डुंगामार्फत् निकालिएको छ,’ आठविस ६ का वडाध्यक्ष नवराज शर्माले भने।
उनकाअनुसार हालसम्म चार वटा खच्चडलाई नदीमा खसालिएको छ। नदीमा एउटा डुंगा राखिएको छ।
उद्धार गरिएको खच्चडहरूको उपचारका लागि मेडिकल टिम बोलाइएको वडाध्यक्ष शर्माले बताए।
उनकाअनुसार कतिपय खच्चड जाली काटेर खसाले पनि बगरमा पर्ने भएकाले त्यसको लागि अर्को विकल्प खोजिएको छ।
‘नदीमा खस्ने खच्चड त बाँच्ने सम्भावना छ, बगरमा झर्ने खच्चडलाई उद्धारमा कठिन छ,’ उनले भने, ‘तत्काल नदीमा खसाल्न मिल्नेलाई उद्धार गर्ने र छेउमा भएकाहरूका लागि अर्को विकल्प खोजिरहेका छौं।’
यो पनि: कर्णाली नदी माथिको झोलुंगे पुलको जाली फुत्किँदा फसे १३ खच्चर