दार्चुलाको शैल्यशिखर नगरपालिका–७, दोबाटा निवासी ४६ वर्षीया हरिना खत्री घरायसी प्रयोगका लागि पानी बोक्न दैनिक ६ घण्टा हिँड्छिन्। घरबाट पानीको मुहान जान ओह्रालो हिँड्नुपर्छ, ४५ मिनेट लाग्छ।
फर्किंदा पानीको भारीसँग उकालो हिँड्न एक घण्टा १५ मिनेट लाग्छ। दिनमा तीनपटक पानी नल्याई हुँदैन।
दुई घण्टा समय मुहानबाट सबैभन्दा नजिक घर हुनेका लागि हो। सबैभन्दा टाढाकालाई कम्तीमा साढे दुई घण्टा लाग्छ।
हरिना १५ वर्षको उमेरमा बिहे भएर हालको मालिकार्जुन गाउँपालिकाबाट शैल्यशिखर नगरपालिकाको दोबाटा आइन्। त्यही बेलादेखि हो उनले दैनिक ६ घण्टा पानी बोक्नु परेको।
'यसरी नै जीवनको ३० वर्ष बितिसक्यो, पानीको दुःख छुटेको छैन,' उनले भनिन्।
दोबाटा गाउँ शैल्यशिखर नगरपालिका–७ को उच्च लेकमा छ। यहाँ पानीको समस्या नयाँ होइन, अनेक पुस्ताले भोगेको हो।
हरिनाका अनुसार यी मुहान फेला परेको ४० वर्ष भयो। त्यसअघि दोबाटाका बासिन्दा अझ टाढाबाट पानी ल्याउँथे। अलिक नजिकै मुहान फेला परेपछि खुसी भए। पानी बोक्नु त छँदै थियो तर बाटो झन्डै आधा छोट्टियो।
२०६८ सालमा एक विदेश संस्थाले त्यही मुहानको पानी ‘लिफ्ट सिस्टम’ बाट गाउँमा पुर्याइदियो। जम्मा ४५ घरधुरीका लागि तीन वटा धारा बने तर पानी एउटामा मात्रै आयो। सबैलाई नजिक हुने गरी पनि भएन तर गाउँमै भएपछि धेरै सजिलो भयो। सबैभन्दा टाढाको घरकालाई एकोहोरो आधा लाग्थ्यो।
एउटा धाराको पानीले मात्र पुग्ने कुरै थिएन। लिफ्ट सिस्टमको क्षमता बढाउन शैल्यशिखर नगरपालिका र संघीय सरकारको संयुक्त खर्चमा अर्को आयोजना अघि बढ्यो।
संघीय सरकाले ५० लाख रुपैयाँ दियो। नगरपालिकाले २२ लाख रुपैयाँ थपेर ७२ लाख रुपैयाँको आयोजनाबाट दोबाटाका सबै घरमा पानी पुर्याउने लक्ष्य थियो।
काम स्थानीय उपभोक्ता समितिले गर्यो। ‘दोबाटा लिफ्ट खानेपानी योजना उपभोक्ता समिति’ का अध्यक्ष रहेका रामसिंह खत्रीका अनुसार उक्त आयोजना पूरा हुन करिब चार वर्ष लाग्यो।
पानीका मुहान दुईवटा छन्– तल्लो बसन्ते र मौता। यी दुबै मुहानमा पानी जम्मा गर्न एकएकवटा ट्याकी बनाइएका छन्।
२०७८ सालमा काम सम्पन्न भएपछि ३३ घरधुरीमा पानी पुग्यो। सबै घरमा नपुगे पनि आधाभन्दा बढीमा पुगेपछि सजिलो भयो। गाउँलेहरू खुसी भए।
त्यो खुसी दिगो भएन। पानी तान्न सैर्य ऊर्जा प्रबन्ध गरिएको थियो। सौर्य ऊर्जाका लागि ८ वटा प्यानल राखिएका थिए। सबै प्यानलले काम गर्दासम्म ३३ वटै धारामा पानी आयो।
बिस्तारै एकपछि अर्को गर्दै सौर्य ऊर्जा प्यानलले काम गर्न छाड्यो। केही महिनायता तीन वटा प्यानलमात्र चलेका छन्, पाँचवटा बन्द छन्।
सबै प्यानल चल्दाको तुलनामा अहिले एक चौथाइभन्दा कम मात्र पानी तानिन्छ।
पाँच वटा सौर्य प्यानल बन्द भएको दुई महिनाभन्दा धेरै भयो।
हाल गाउँलेले धाराबाट दैनिक करिब १५ लिटर पानी पाउँछन्। हरिनाका अनुसार घरायसी प्रयोग र गाईवस्तुसमेतका लागि दैनिक सरदर दुई सय लिटर पानी चाहिन्छ।
फेरि दैनिक ६ घण्टा हिँडेर पानी ल्याउनुपर्ने उही दुःख दोहोरियो।
उनले भनिन्, ‘घरमा खानेपानीको पाइप पुगेपछि सुखका दिन आए भन्ने सोचेकी थिएँ। भएन, हाम्रो दुःख किन जान्थ्यो र!’
स्थानीय बासिन्दा राम मिश्रका अनुसार २०६८ सालमा विदेशी संस्थाले बनाइदिएको लिफ्टबाट पानी आउँदैछ, बिग्रेको चाहिँ सरकारी आयोजना हो।
पुरानो आयोजनाबाट पनि पानी घटेको छ।
सौर्य प्यानल त बिग्रैकै छ, पानी तान्न दुई वटा पम्प चलाउने ‘कन्ट्रोल सिस्टम’ पनि बिग्रेको छ। पम्प पनि दुईवटै बिग्रेका छन्।
योजनाका अध्यक्ष खत्रीका अनुसार एउटा पम्प किन्न साढे तीन लाख रुपैयाँ चाहिन्छ। कन्ट्रोल सिस्टम किन्न एक लाख १२ हजार चाहिन्छ।
वडा कार्यालय र नागरपालिका कार्यालय दुबैबाट नयाँ खरिद वा मर्मतका बजेट माग गर्दा ‘अहिले छैन’ भन्ने जबाफ पाउने गरेको उनले बताए।
दोबाटा गाउँ निवासी ५५ वर्षीया धनदेवी खत्रीका अनुसार मुहानमा पानी भर्न पालो कुर्नुपर्छ। बाटामा लाग्ने समय हिसाब गरेर मात्र हुँदैन। कहिलेकाहीँ त झगडा पनि हुन्छ।
‘एक घण्टा हिँडेर मुहानमा पुग्नुपर्छ। गाग्री र जिर्किनको लाइन हुन्छ। पालोको कुरामा झगडा पनि हुन्छ। कहिले त हानाहान नै हुन्छ,’ धनदेवी भन्छिन्, ‘हामीलाई पानीको धेरै दुःख छ। पानी बोकेरै जिन्दगी बित्ने भयो।’
हरिनाले मुहानबाट पानी बोकेको तीस वर्ष भयो। पानी बोक्न धेरैजसो उनी नै जान्छिन्। आजकाल कहिलेकाहीँ बुहारी पनि जान्छिन्।
अचेल हरिनालाई कम्मर दुख्ने समस्या छ तर पानी नबोकी हुँदैन। उनले भनिन्, ‘१५ वर्षको उमेरदेखि पानी बोक्दाबोक्दा थाकिसकें। दिनमा तीनपटक पानी ल्याउँछु, ६ घण्टा हिँड्नुपर्छ।’
पानीको सबैभन्दा ठूलो समस्या महिनावारी भएको बेला महिलाले भोग्नु परेको छ। सरसफाइका लागि पानीको अभाव हुन्छ।
‘महिनावारी भएका बेला मुहानमा जान मिल्दैन। नजिकमा खोलो पनि छैन। बोकेकै पानीले काम चलाउनुपर्छ,’ हरिना भन्छिन्, ‘तीन दिन त धेरै गाह्रो हुन्छ। सुत्केरीलाई पनि त्यस्तै समस्या पर्छ।’
कतिपय घरमा स्कुल जाने बालबालिकाले पनि पानी बोक्नुपर्छ। कतिपय बालबालिका कहिलेकाहीँ स्कुल छाडेर पानी बोक्न जान्छन्।
शैल्यशिखर नगरपालिका–७ का विभिन्न गाउँमा ‘लिफ्ट सिस्टम’ बाट चलेका चार वटा खानेपानी योजना बन्द रहेका छन्।
वडा अध्यक्ष पुष्पराज जोशीका अनुसार बर्खामा चट्याङ परेर हरेक वर्ष उपकरणमा क्षति पुग्ने गरेको छ। गत वर्ष दोबाटा लिफ्ट खानेपानी योजना दुईपटक मर्मत भएको थियो। अहिले पनि मर्मतका लागि नगरपालिकामा छलफल भएको उनले बताए।