गत वैशाख ३० गते स्मल हेवन स्कुलको विद्यार्थी बोक्ने बसमा आगजनी गरेको आरोपमा प्रहरीले सरकारी विद्यालयका अध्यक्षलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
त्यसदिन ५/६ जनाको समूहले बिहान सवा ८ बजेतिर भरतपुर–२० दद्रहानी भन्ने ठाउँमा बागमती प्रदेश ०६–००१ क ००४५ नम्बरको स्कुल बसमा आगजनी गरेको थियो।
पेट्रोल बम प्रहार गरी बसमा क्षति पुर्याएको विषयमा अनुसन्धान गर्दै जाँदा ‘कमरेड महेस’ र ‘कमरेड महावीर’ भनेर चिनिने विश्वनाथ चौधरीको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश रिमालले बताए।
चौधरी भरतपुर–२५ स्थित राष्ट्रिय मावि शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन्।
एसपी रिमालले गत वैशाख २८ गते दिउँसो भरतपुर–२६ ज्योतिनगरस्थित सुर्योदय वोमी लघुवित्त संस्था लिमिटेडको कार्यालयमा आगजनी गर्ने कार्यमा पनि चौधरीको संलग्नता देखिएको बताए।
मास्क लगाएर मोटरसाइकलमा गएका दुई जना अपरिचित व्यक्तिले कार्यालयका कर्मचारीहरुलाई धम्की दिइ पेट्रोल जस्तो पदार्थ रहेको २ वटा सिसाको बोतल प्रहार गरी कार्यालयमा आगजनी गराएर भागेका थिए।
उक्त घटनाको सम्बन्धमा अनुसन्धान गर्दा विश्वनाथ चौधरी संलग्नता देखिएको र उनकै नेतृत्वमा समूहले बसमा पनि आगजनी गरेको एसपी रिमालले बताए।
यी घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
स्कुल बस जलाइएको दिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) जिल्ला समिति चितवनको लेटर प्याडमा संयोजक सुमनाको नाममा जारी गरिएको प्रेस विज्ञप्तीमा उक्त घटनाको जिम्मेवारी लिइएको थियो।
जेठ ११ गते विद्यालयबाटै पक्राउ परेका चौधरीमाथि चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।