तिनाउ नदीमा भइरहेको उत्खननका कारण विद्युतका टावरहरु जोखिममा परेपछि संरक्षणको पहल सुरू भएको छ।
तिनाउ नदी आसपासका स्थानीय तहहरुले ठेक्का दिएपछि उत्खनन् अनियन्त्रित हुँदा बुटवलदेखि मैनहियासम्मको १३२ केभी विद्युत प्रसारण लाइनका विद्युत टावरहरु जोखिममा परेका छन्।
पछिल्लो पटक सियारी गाउँपालिकाले सियारीको वडा नं. ७ र तिलोत्तमाको वडा नं. १४ को सिमाना भर्ता घाटमा लगाएको ठेक्कापछि गरिएको उत्खननका कारण तिलोत्तमा १४ को बाग्धुरा, चम्कीपुरमा रहेको विद्युतको ४०–४५ नम्बरको टावर जोखिममा परेको छ।
सियारी गाउँपालिकाले लगाएको ठेक्कापछि उत्खननको जिम्मा पाएको पर्वत कुश्माको रमेश कन्स्ट्रक्सनले विद्युत टावरको १४ मिटर नजिकसम्म उख्खनन् गरेपछि नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखा र स्थानीयले विरोध जनाएका थिए।
विद्युत प्राधिकरणले उत्खननका कारण विद्युत टावर भत्किने जोखिम भएको भन्दै उत्खनन् कार्य रोक्न जिल्ला प्रशासन कार्यालय र सियारी गाउँपालिकामा निवेदन दिएको थियो।
नेपाल सरकारले गिटी ढुंगा बालुवा उत्खनन् बिक्रि तथा व्यवस्थापन सम्वन्धी मापदण्ड २०७९ को दफा १३ मा विद्युत हाइटेन्सन लाइनको १ सय मिटर वरिपरी उत्खनन् गर्न नपाइने व्यवस्था छ।
तर, सो नाकामा भने विद्युत हाइटेन्सन लाइनको १५ मिटर दुरीमै स्काभेटर प्रयोग गरी ठेकेदार कम्पनीले उत्खनन् गर्दै आएको छ।
विद्युत प्राधिकरणको निवेदनपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तत्काल उत्खनन् रोक्न मौखिक निर्देशन दिएका थिए।
शुक्रबार प्रजिअ अर्याल समेतको सहभागितामा नदीजन्य पदार्थको जिल्ला अनुगमन समितिले गरेको स्थलगत अनुगमनपछि विद्युतका पोलहरुको सुरक्षाको प्रवन्ध मिलाएर मात्र उत्खनन् गर्न दिने निर्णय गरेको छ।
प्रमुख जिल्लाा अधिकारी अर्याल, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँ, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिंह राठौर, शसस्त्र प्रहरी गण नं. २७ हेडक्वाटरका प्रमुख आनन्द थापा, नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखाका इञ्जिनियरहरु नारायण प्रसाद पौडेल, सूर्य प्रसाद पाण्डे लगायत स्थानीयको समेत सहभागितामा भएको छलफलपछि उक्त निर्णय गरिएको हो।
छलफलपछि सियारी गाउँपालिकाले उत्खननका लागि लगाएको ठेक्काका कारण विद्युतको टावरमा क्षति हुने जोखिम देखिएकोले उत्खनन् तिनाउ खोलाको पश्चिमतर्फ मात्र केन्द्रित गर्ने र तिनाउको हालको बहावलाई समेत पश्चिमतर्फ डाइभर्ट हुने गरी सामग्री निकाल्ने निर्णय भएको छ।
तिनाउ खोलाबाट नदीजन्य सामग्री उत्खनन गर्दा विद्युत प्रसारण लाइनलाई असर नपर्ने गरी निकाल्नुपर्ने तथा विद्युतको टावरमा क्षति पुग्ने सम्भावित जोखिमलाई मध्यनजर गरी उत्तर तर्फ केन्द्रित नदीको हालको बहावलाई पश्चिमतर्फ डाइभर्ट गर्ने निर्णय भएको छ।
अनुगमन टोलीले सियारी ७ को भर्तापुर नाकाको अनुगमन तथा निरिक्षण गरी नदी संरक्षणका लागि सबैले सहकार्य गर्ने निर्णय गरिएको हो।
तिलोत्तमा नगरपालिका वडा नम्बर १४ सँग सिमाना जोडिएको उक्त घाटमा गरिएको उत्खननले जोखिममा परेको विद्युतको टावरको सुरक्षाको लागि ग्याबिन पर्खाल लगाउने र त्यसका लगानीको लागि विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखा, सियारी गाउँपालिका र तिलोत्तमा नगरपालिकाबीच छलफल गर्ने निर्णय गरिएको छ।
तिनाउ नदीको पुर्वतर्फ तिलोत्तमा तर्फको किनार हुँदै बुटवलदेखि मैनहियासम्म १३२ केभी विद्युत प्रसारण लाइन छ। जुन विद्युत प्रसारण लाइनबाट भैरहवा लुम्बिनी सडक आसपासका दर्जनौं ठूला उद्योगहरुमा विद्युत आपूर्ति गरिएको छ।
नदीजन्य पदार्थको उत्खननका कारण विद्युत प्रसारण लाइनको एउटा टावरमा मात्र क्षति पुगे विद्युत प्राधिकरणलाई मर्मतको लागि डेढ करोड भन्दा बढी आर्थिक भार पर्ने छ भने उद्योगहरुमा डेढ महिना भन्दा बढी विद्युत आपूर्ति बन्द हुनेछ।
प्रमुख जिल्ला अधिकारी अर्यालले नदीजन्य पदार्थको उत्खननका कारण विद्युतको टावरमा क्षति पुग्ने जोखिम बढेपछि त्यसको संरक्षण गरेर मात्र स्थानीय पालिकाहरुले ठेक्का लगाउने विषयमा छलफल भएको बताए।
तिलोत्तमा-१४ सँग सिमाना जोडिएको तिनाउको भर्ता घाटमा सियारी गाउँपालिकाले गत चैत ९ गते उत्खननका लागि ठेक्का आह्वान गरेको थियो। जसअनुसार पर्वत कुश्माको रमेश कन्स्ट्रक्सनले १ करोड ३३ लाख रुपैयाँमा भर्ता घाटबाट ४ लाख १५ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्ने ठेक्का पाएको थियो।
सोही ठेक्का अनुसार उक्त कम्पनीले गत वैशाख २४ गतेदेखि उत्खनन् सुरु गरेको थियो। ठेक्का सम्झौता अनुसार जेठ मसान्तसम्म उत्खनन् गर्ने अनुमति पाएको उक्त कम्पनीले जेठ ९ गतेसम्म साढे तीन लाख घनमिटर भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गरिसकेको छ।
सियारी गाउँपालिकाका प्राविधिक किरण क्षेत्रीका अनुसार उक्त कम्पनीले उत्खनन् गरेको २ लाख ९५ हजार घनमिटर नदीजन्य पदार्थ नाँपजाँच गरी लगिसकेको छ भने केही नदीजन्य पदार्थ नाँपजाँचका लागि घाटगद्धी गरेको छ।
सियारी गाउँपालिकाले लगाएको ठेक्कामा उक्त कम्पनीले तिलोत्तमा तर्फ तिनाउको किनारमा समेत आएर उत्खनन् गर्न थालेपछि स्थानीयले विरोध गर्दै आएका थिए।