बुटवल–नारायणगढ सडक शिलान्यास भएको पाँच वर्ष पूरा भयो। सम्झौताअनुसार करिब दुई वर्षअघि नै सकिनुपर्ने काम हालसम्ममा ५१ प्रतिशत मात्र पूरा भएको छ।
२०१८ सालमा राजा महेन्द्रले निर्माणको शिलान्यास गरेको ५७ वर्षपछि २०७५ साल चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले स्तरोन्नत्तिको शिलान्यास गरेका थिए।
बुटवल राजमार्ग चौराहबाट चितवन गैंडाकोटसम्मको ११३ किलोमिटर लामो यो सडक दुई खण्डमा विभाजन गरी निर्माणको काम हुँदै छ। गैंडाकोटबाट दाउन्नेसम्मको ६४.४ किलोमिटरलाई पूर्वी खण्ड र दाउन्नेबाट बुटवल राजमार्ग चौराहासम्मको ४८.५ किलोमिटरलाई पश्चिम खण्ड मानेर काम हुँदै छ।
सडक विभाग र ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ बीच २०७५ माघ २४ गते सम्झौता हुँदा २०७९ साउन २२ सम्म साढे तीन वर्षमा सम्पन्न गर्ने शर्त थियो।
विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले हालसम्ममा दुईपटक म्याद थप गराएको छ।
सम्झौताको म्याद सकिएपछि पहिलोपटक एक वर्ष थपेर २०८० भदौ १२ सम्म पुर्याइएको थियो। थप अवधिमा ३० प्रतिशत जति मात्र काम भएपछि दोस्रोपटक ११ महिना थपेर २०८१ साउन ८ गतेसम्म पुर्याइएको छ।
यस अवधिमा काम पूरा नहुने पक्का भएको छ।
सडक विस्तार आयोजनाका अनुसार निर्माण सुरु गरेको पाँच वर्ष तीन महिना हुँदा समग्रमा ५१ प्रतिशत हाराहारी काम पूरा भएको छ।
कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत रहेको यस आयोजनामा एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण अनुदान रहेको छ। कुल लागतमा नेपाल सरकारले १५ प्रतिशत व्यहोर्नुपर्छ। एसियाली विकास बैंकले ३२ वर्षका लागि साढे एक प्रतिशत व्याजमा ऋण दिएको हो।
सहरी क्षेत्रमा ६ लेन, जंगल क्षेत्रमा ४ लेन र दाउन्ने खण्डमा तीन लेनमा बनिरहेको यो सडक आयोजनालाई सरकारले ‘राष्ट्रिय गौरवको आयोजना’ भनेको छ।
सडकमा वन्यजन्तु वारपार गर्न ओभरपास सहित पूर्वी खण्डमा १२ वटा ठूला र २२ वटा साना तथा पश्चिम खण्डमा ९ वटा ठूला र २१ वटा साना पुल बन्दै छन्।
ठेक्का सम्झौता अनुसार करिब २१ महिना अघि नै सकिनुपर्नेमा दुई पटक गरेर करिब दुई वर्ष म्याद थप हुँदा पनि आधा काम बाँकी रहेका विषयमा हामीले सडक आयोजनाको पश्चिम खण्डका प्रमुख शशांक मिश्रसँग कुरा गरेका छौँ ।
बुटवल–नारायणगढ सडक स्तरोन्नतिको काम हालसम्ममा कति सम्पन्न भयो?
यो सडकलाई दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ। पश्चिम खण्डमा जेठ ३ गतेसम्ममा साढे ५१ प्रतिशत काम भएको छ। पूर्वी खण्डमा पनि त्यही हाराहारीमा काम भएको हुनुपर्छ।
ठेक्का सम्झौता अनुसार त यो सडक साढे तीन वर्षमै पूरा हुनुपर्ने थियो । हालसम्ममा पाँच वर्षभन्दा बढी भएको छ। काम किन ढिलो भएको हो?
२०७५ माघमा सडक निर्माणको ठेक्का सम्झौता भए पनि सडकको अधिकारक्षेत्र भित्रका रूख कटानका लागि लामो समय अनुमति पाइएन। दुई वर्ष त रूख काट्ने र विद्युतका पोल सार्ने अनुमति लिनमै बित्यो। त्यसपछि कोभिड पनि बाधक बन्यो।
सुरुका दुई वर्ष रूख कटानको अनुमति नपाए पनि र कोभिडले रोकिए पनि त्यसपछिका तीन वर्षमा त काम लगभग सकिनुपर्ने होइन र?
सुरुका दुई वर्षमा खुरुखुरु काम गर्न पाएको भए तोकिएकै समयमा निर्माणको काम पूरा हुन्थ्यो होला। ठेक्का सम्झौता भएको पाँच वर्ष भए पनि पहिलो वर्ष सन् २०१९ मा ०.३९ प्रतिशत मात्र काम भयो। सन् २०२० मा पनि २.४३ प्रतिशत मात्र भयो।
त्यसपछिका दुई वर्ष क्रमशः १०.२२ प्रतिशत र १०.०२ प्रतिशत काम भयो। सन् २०२३ मा १७.७८ प्रतिशत काम भयो। सन् २०२४ को साढे चार महिनामा भने ११ प्रतिशत काम पूरा भएको छ।
कोभिडपछि पनि त सन्तोषजनक काम हुन सकेन नि?
काममा ढिलाइ हुनुको अर्को कारण निर्माण सामग्रीको अभाव पनि हो। सडक निर्माणको इआइए (इन्भारोमेन्टल इम्प्याक्ट असिस्मन्ट) गर्दा बर्दघाटको एस मोडबाट तीन लाख ७५ हजार घनमिटर निर्माण सामग्री निकाल्न मिल्छ भनिएको थियो।
इआइएमा उल्लेख भएको र वन मन्त्रालयले स्वीकृत दिएको भए पनि जिल्ला वन कार्यालयले निकाल्न दिएन। निर्माण कम्पनीले २०८० वैशाखमा नेपाल सरकारलाई तीन लाख ७५ हजार घनमिटरकै राजस्व रकम बुझाइसकेको छ तर त्यहाँबाट एक लाख घनमिटर पनि निकाल्न पाएन।
बुटवलतर्फबाट पनि निर्माण सामग्री ल्याउने भनिएको थियो तर विभिन्न कारणले ल्याउन सकिएन। निर्माण सामग्रीको समस्या नभइदिएको भए सन् २०२३ मा कामको प्रगति ३० प्रतिशतभन्दा बढी हुनसक्थ्यो।
ढिलो हुनुको कारण जिल्ला वन कार्यालय पनि हो भन्न खोज्नुभएको हो?
चेन अफ कमान्ड त हुनुपर्ने होला नि! नेपाल सरकारले गरेको निर्णय मन्त्रालयले पालना गर्नुपर्ने, मन्त्रालयले गरेको निर्णय विभागले र विभागले गरेको निर्णय मातहतका कार्यालयले कार्यान्वयन गर्नुपर्ने हो।
केही दिनअघि पनि सडकको नक्सांकन अनुसार एस मोडबाट सामग्री निकाल्न दिनुहोस्, निकाल्न पाइएन भने वर्षामा समस्या हुन्छ भनेर जिल्ला वन अधिकृतसँग छलफल गरेको हो। हुन्छ, सल्लाह गरौँला भन्नुभएको थियो, काम गर्न थालेपछि बन्द गराउनुभएछ।
हामी सबै देशकै विकासको काम गरिरहेका छौँ तर एकअर्कालाई सहयोग गर्ने नियत कसैको भएन।
अहिले निर्माण सामग्रीको अवस्था कस्तो छ?
अहिलेलाई सुनवल, देवदह र खैरेनीबाट निर्माण सामग्री ल्याएर काम भइरहेको छ। अहिले कुनै समस्या छैन। अहिले त प्रत्येक महिना ३.३ प्रतिशतका दरले प्रगति भइरहेको छ।
पश्चिम खण्डमा करिब ३० किलोमिटर सडक कालोपत्रे भइसकेको छ। असार मसान्तसम्म १० देखि १२ प्रतिशत थप काम पूरा हुन्छ भन्ने अपेक्षा छ।
वर्षातको समय आउन लागिसक्यो, सबैभन्दा अप्ठ्यारो रहेको दाउन्ने क्षेत्रको सडक कालोपत्रे भएको छैन, वर्षातमा समस्या हुँदैन?
समस्या हुन सक्छ भनेर नै निर्माण कम्पनी अहिले दाउन्ने क्षेत्रमा केन्द्रित छ। वर्षा अगावै दाउन्नेतर्फको १० किलोमिटर मध्ये पाँच किलोमिटर सडक कालोपत्रे गरिसक्छौँ।
बर्दघाटबाट उकालो चढ्दै गर्दाको एस मोडको एकडेढ किलोमिटर सडक अहिले नै कालोपत्रे भइसकेको छ। बाँकी चार किलोमिटर पनि असारभित्रै कालोपत्रे गर्ने लक्ष्य छ, नभए पनि ग्रावेल हुन्छ।
देवदहबाट बुटवलतर्फ पनि कालोपत्रे गर्ने काम भइरहेको छ। अहिले कल्भर्ट बनाउने, भित्तातर्फ पर्खाल लगाउने, नाली बनाउने काम भइहरेको छ। असारसम्ममा अधिकांश भागमा कालोपत्रे हुन्छ भन्ने हाम्रो विश्वास छ।
वर्षामा कतै पनि आवागमनमा कुनै समस्या हुन नदिने काम भइरहेको छ। बजार क्षेत्रमा विद्युतका पोल स्थानान्तरण गर्दा विद्युत कटौती गर्न समस्या भएको छ। त्यो पनि मिलाएर स्थानान्तरण गर्छौं। मिश्रपछि हामीले उक्त सडक आयोजनाको पूर्वी खण्डका प्रमुख आशिष थापामगरसँग पनि कुरा गरेका छौँ।
हिउँदभरि धुलो खाएका यात्रुले वर्षातभरि हिलो खानुपर्ने होला, होइन त?
वर्षा हुँदासम्ममा पूर्वी खण्डको अधिकांश क्षेत्रमा कालोपत्रे भइसक्छ। कालोपत्रे गर्न नसकिएको ठाउँमा राम्रो ग्रावेल भइसक्छ, धुलो र हिलोको समस्या हुन दिँदैनौं। वर्षातमा बाटो अवरुद्ध हुँदैन। धुलो र हिलोको समस्या हुँदैन।
हालसम्ममा पूर्वी खण्डमा कति काम भएको छ?
जेठ लाग्दासम्ममा ५१ प्रतिशतभन्दा बढी काम भइसकेको छ। जति हुनुपर्ने थियो त्यति नभए पनि अहिले सबैतिर धमाधम काम भइरहेको छ। पूर्वी खण्डमा दाउन्ने क्षेत्रमा अलिक बढी समस्या छ। चाँडै कालोपत्रे गर्न सकिँदैन तर वर्षाअघि नै ग्रावेल गरिसक्ने हाम्रो योजना छ।
चोरमाराबाट गैंडाकोटसम्म कतै दुईतर्फी र कतै एकतर्फी गरेर ४० किलोमिटर कालोपत्रे भइसकेको छ। वर्षाअघि थप ८-१० किलोमिटर सडक कालोपत्रे गर्न सकिन्छ कि भनेर लागेका छौँ।