एउटा आँखामा पट्टी छ। हातमा पुर्जी र औषधिको झोला छ। कहिले नेताकहाँ धपेडी लाउँछन् त कहिले पत्रकार खोज्दै हिँड्छन्।
खेलाडीको लापर्बाहीले देब्रे आँखामा ज्योति नफर्किने गरी क्षति पुगेपछि मिथिला नगरपालिका–६ का ५१ वर्षीय रामभरोस महतो भौंतारिदै उक्त अवस्थामा पुगेका हुन्।
गत फागुन ११ गते ढल्केवर चोकमा हक्की खेलाडीले प्रहार गरेको बल उनको आँखामा लागेको थियो। व्यस्त सडकमा ‘मदन भण्डारी स्पोर्टस् एकेडेमी’ टिमका १४ वर्षीया जागृति यादवले हक्की अभ्यास गर्ने क्रममा प्रहार गरेको बलले रामभरोसको आँखामा गहिरो चोट लागेको थियो।
उनले उपचार र क्षतिपूर्तिका लागि प्रहरीमा निवेदन दिए। एकेडेमीका सचिवालय सदस्य नन्दु काउचाले प्रहरीसमक्ष उपचार गराइदिने प्रतिबद्धता जनाएका थिए।
सहमतिको साक्षीका रूपमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र हिमालय युवा क्लबका संरक्षक अरूण कुमार महतोले हस्ताक्षर गरेका थिए। पीडित पक्षसँग सहमति गरेका एकेडेमीका पदाधिकारीहरूले सहमति पालना गरेनन्, प्रतिबद्धता पूरा गरेनन्।
एउटा आँखो गुमाएका रामभरोस अहिले अलपत्र परेका छन्। उनी न्यायका लागि भौंतारिएका छन् तर कतैबाट सहयोग पाएका छैनन्।
‘म गरिब त छँदै थिए अब असहाय पनि भएँ। घरमा रङ लगाउने काम गरेर परिवार पालेको थिएँ, बालबच्चा पढाएको थिएँ। अब कमाउन नसक्ने भएँ। छोराको पढाइ छुटेको छ,’ उनले भने, ‘अब मेरो परिवार कसरी चल्छ, कसरी पेट भरिन्छ, ठूलो चिन्ता परेको छ।’
आँखामा क्षति भएपछि उनले काम गर्न सकेका छैनन्।
उनी उपचारका लागि ढल्केवर, जनकपुर, लहान र काठमाडौंका आँखा अस्पताल गए। हालसम्म उपचारमा ४० हजार रुपैयाँ खर्च भएको उनले बताए।
सबै अस्पतालका चिकित्सकले एउटै कुरा भनेका छन्– तपाईंको आँखाको ज्योति फर्काउन सकिन्न, लेन्स राख्न पनि नमिल्ने गरी क्षति भएको छ।
रामभरोसले हालसम्म एकेडमीबाट जम्मा ८ हजार रुपैयाँ पाएका छन्।।
‘त्यति पैसा (८ हजार) दिएर पन्छिरहनुभएको छ। मलाई क्षतिपूर्ति पनि चाहिँदैन। मेरो आँखा पहिलाको जस्तै बनाइदिनुपर्यो,’ उनी भन्छन्, ‘नभए मेरो आँखा फुटाउनेलाई कानून बमोजिमको कारबाही हुनुपर्यो। क्षतिपूर्ति पनि दिनुपर्यो।’
गत फागुन १४ गते धनुषाको महेन्द्रनगरमा आयोजित ‘प्रथम मदन भण्डारी कप महिला राष्ट्रिय हक्की प्रतियोगिता’ मा सहभागी हुन खेलाडीहरु आएका थिए। ती खेलाडीहरु ढल्केवरको श्रीराम होटलमा बसेका थिए।
प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी थियो।
यसरी भयो घटना
फागुन ११ गते शुक्रबार बिहान ६ बजे अन्य दिनझैँ रामभरोस दुध पुर्याउन निस्केका थिए। उनले साइकल डोर्याएका थिए।
ढल्केवरस्थित एक होटलको अगाडि हक्की अभ्यास गरिरहेका खेलाडीले प्रहार गरेको बल उनको देब्र आँखामा जोडले लाग्यो। आँखाबाट रगत बग्यो।
घटना सम्झिँदै उनले भने, ‘एकछिन त होसै हरायो। बाँच्दिनँ कि जस्तो लागेको थियो।’
उनले आफूलाई अस्पताल पुर्याउन हारगुहार गरे। खेलाडी टिमका एक व्यक्तिले ढल्केवरस्थित आँखा अस्पताल पुर्याए। चिकित्सकले ‘लहान आँखा अस्पताल’ का लागि रिफर गरिदिए। तिनै व्यक्तिले मोटरसाइकलमा राखेर लहान पुर्याए।
आँखो सुन्निएर भुक्क भएको थियो। चिकित्सकले सुन्निएको ठिक भएपछि मात्र उपचार हुनसक्छ भनेर केही औषधि दिए, भोलि बिहान आउनू भने।
उपचारको हुने भरोसा लिएर रामभरोस भोलिपल्ट बिहान अस्पताल पुगे। चिकित्सकले निकै बेर लगाएर परीक्षण गरे।
सबै रिपोर्ट हेरेपछि चिकित्सकले उपचार हुन नसक्ने निष्कर्ष सुनाए। रामभरोसले चिकित्सकको भनाइ उद्धृत गरे, ‘आँखा ड्यामेज (नष्ट) भयो। अब यो आँखाले हेर्न सक्नुहुन्न। उपचार सम्भव छैन।’
उनको होसहवास उड्यो। अन्धकारले छोप्यो।
उपचार नहुने टुंगो भएपछि रामभरोसले खेलाडीलाई कारबाही गरी आफूलाई क्षतिपूर्ति दिलाइदिन इलाका प्रहरी कार्यालय ढल्केवरमा जाहेरी दिए। प्रहरीले आयोजक संस्था मदन भण्डारी स्पोर्टस् एकेडेमीका पदाधिकारीलाई बोलायो।
अध्यक्ष आचार्य एउटा टोली नै लिएर प्रहरीमा गए। ठुलो अस्पतालमा उपचार गराउने प्रतिबद्धता जनाउँदै लिखित सहमति गरे।
कतै भएन उपचार
आचार्यले रामभरोसलाई तत्कालै पाँच हजार रुपैयाँ दिएर काठमाडौंको ‘नेपाल नेसनल हस्पिटल’ जान सुझाब दिए।
रामभरोस एकजनालाई साथमा लिएर काठमाडौं पुगे। चिकित्सकले परीक्षण गरे तर निष्कर्ष लहानको भन्दा फरक आएन।
‘ध्रुवसरले भनेकै अस्पतालमा जचाएँ। एक सातामा आउनू भने। फेरि जाँदा डाक्टरले ज्योति फर्काउन सकिँदैन भने,’ उनले निराशा प्रकट गरे, ‘काठमाडौंमा धेरै पटक ध्रुवसरलाई फोन गरेँ तर उहाँले भेट्न मान्नुभएन। अहिले उल्टोपुल्टो कुरा गर्नुहुन्छ।’
रामभरोस तिलगंगा आँखा अस्पताल पनि गए। त्यहाँ पनि उही जबाफ पाए– उपचार हुँदैन।
उनले निराश मुद्रा र शुष्क स्वरमा भने, ‘अब यो आँखाबाट हेर्न सक्छु भन्ने आश मरिसक्यो। संसार देखाउने आँखा खेलाडीले ख्यालख्यालमा लुटे।’
यस्तो छ कानूनी प्रावधान
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १४ मा कुटपिट वा अंगभंगसम्बन्धी कसूर अन्तर्गत १९१ नम्बर बुँदामा ‘कुटपिट गर्न नहुने सम्बन्धी’ व्यवस्था छ।
त्यसको दफा २ मा कसैले कसैलाई कुनै किसिमको शारीरिक पीडा पुर्याएमा निजले कुटपिट गरेको मानिने कुरा लेखिएको छ।
दफा ३ मा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ।
परिच्छेद १४ कै १९२ नम्बरको दफा २ मा कसैले कसैलाई जानीजानी कुटपिट गर्दा आँखाको हेर्ने शक्तिहीन गरी वा आँखा फोरी दृष्टिविहीन बनाइदिएमा अंगभंगको कसुर गरेको मानिने प्रावधान छ।
यस्तो कसुर गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।
अर्को दफामा एउटै किसिमको काम दिने एउटाभन्दा बढी अंग हुनेमा एउटा अंगमात्र बेकम्मा पारिदिएको भए आधा सजाय हुने तथा अंगभंग भएको खत निको भई कामलाग्ने भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साह पीडित पक्षसँग गरेको सहमतिअनुसार पीडकले क्षतिपूर्ति तिर्नुपर्ने बताउँछन्।
उनले प्रहरीले पहल गरिरहेको पनि बताए।
‘एक हप्ताभित्र उनीहरू (आयोजक संस्थाका अधिकारी) लाई बोलाएका छौं। सहमतिबाट पछि हटे कानून बमोजिम हुन्छ,’ उनले भने।
पीडितसँग सहमति गरेका मदन भण्डारी स्पोर्टस् एकेडेमीका सचिवालय सदस्य काउचाले दिएको फोन नम्बरमा उनीसँग सम्पर्क हुन सकेन।
सहमतिपत्रमा साक्षी भएर हस्ताक्षर गरेका एकेडेमीका अध्यक्ष आचार्यले घटनाको विषयमा अनभिज्ञता प्रकट गरे।
‘घटना कहाँ र कसरी भएको हो भन्ने विषय अझै बुझिसकेको छैन। मैले सत्यतथ्य बुझ्नुपर्छ। खेलाडी हाम्रो आयोजक टिमको भए पनि त्यसको जिम्मा बाबुराम सरको थियो,’ उनले भने ‘तपाईं बाबुराम सरसँग बुझ्नुहोस्। कानूनभन्दा पनि व्यावहारिक रूपमामा मिलाउनुपर्छ भन्ने मेरो मान्यता हो। क्षतिपूर्ति जायज माग हो।’
उनले वैशाखभित्रै एकेडमीको केन्द्रीय कमिटी बैठक हुने र घटनाबारे गम्भीर छलफल हुने बताए।
आचार्यले बाबुराम सर भनेका व्यक्ति नेपाल हक्की संघका कोच बाबुराम नेपाल हुन्। उनले जेठ ३ गते मदन भण्डारी स्पोर्टस् एकेडमी केन्द्रीय कमिटीको बैठक हुने र रामभरोसको जीविकाका लागि कुनै निर्णय हुनसक्ने कुरा आफूले सुनेको बताए।
उनका अनुसार रामभरोसको आँखामा हक्कीको बलले नभई बल ठोक्किएको ढुंगो उछिट्टिएर चोट लागेको हो। प्रहरीले बोलाएपछि आफू पनि गएको र एकेडमीका अधिकारीहरूले उपचार गरिदिने वचन दिएको उनले बताए।
उनले भने, ‘मैले एकेडमीका मान्छेसँग कुरा गर्दा केन्द्रीय कमिटीको बैठकबाट उहाँ (रामभरोस) का लागि केही उपाय गरिदिने सुनेको छु । मानवीय हिसाबले पनि उहाँलाई सहयोग गर्नुपर्छ।’
कसरी तिर्ने ऋण!
पीडित व्यक्ति रामभरोसको आर्थिक अवस्था निकै कमजोर छ। उनको एउटा सानो घर छ। जमिनका नाममा त्यही घडेरी मात्र छ। घरमा रङ लगाउने नै उनको मुख्य पेसा र आम्दानीको स्रोत थियो।
उनले छोरीको बिहेमा ९ लाख रुपैयाँ ऋण लागेको र मासिक तीन रुपैयाँका दरले ३६ प्रतिशत व्याज तिर्ने गरेको बताए। घरमा खाने अन्नको अभाव छ। घरखर्च पनि ऋणमा चलाउनु परेको छ।
रामभारोसको प्रश्न छ– सडकमा हक्की खेल्ने अधिकार कसले दियो?