मृतकका परिवारले उपचार खर्च बुझाउन नसकेपछि कपिलवस्तुका राजाराम थारूको शव ६ दिनदेखि पोखराको गण्डकी मेडिकल कलेजले दिन मानेको छैन।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बरका ५३ वर्षीय राजाराम थारूको गत शनिबार अस्पतालमा मृत्यु भएको थियो।
पर्वतको कुश्मामा घर निर्माणका लागि इँटा बोकिरहेका थारू गत वैशाख १६ गते आइतबार अचानक बेहोस भई ढलेपछि उपचारका लागि पोखरा पुर्याइएको थियो।
मृतकका छोरा समर थारूका अनुसार गण्डकी प्रादेशिक अस्पताल पोखराले उपचार गर्न नसक्ने बताएपछि थारूलाई गण्डकी मेडिकल कलेज लगिएको थियो।
गण्डकी मेडिकल कलेजमा परीक्षण गर्दा थारूको उच्च रक्तचापका कारण टाउकोमा रगत जमेको भन्दै आइतबार राति नै टाउकोको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरे पनि होसमा नफर्किएका थारूलाई सातदिन सम्म भेन्टिलेटरमा राखेको गण्डकी मेडिकल कलेजले गत शनिबार मृत घोषणा गरेको थियो।
तर उपचार खर्च नतिरेको भन्दै अस्पतालले अहिलेसम्म मृतकका परिवारलाई थारूको शव बुझाएको छैन। मृतकका छोरा समरले उपचार खर्च बुझाउन नसकेपछि बुवाको शव अस्पतालबाट ल्याउन नसकिएको बताए। बुवा र आफूसमेत घर निर्माणको काममा दैनिक मजदुरीको काम गर्दै आएको र उपचारवापत अस्पतालले भने अनुसारको रकम तिर्न सक्ने अवस्था नरहेको उनले बताए।
समरका अनुसार राजारामको उपचारको क्रममा सात दिन अस्पतालमा रहँदा दुई लाख भन्दा बढी रकम खर्च भइसकेको छ। टाउकाको शल्यक्रिया गर्दा चिकित्सकको शुल्क, भेन्टिलेटर तथा बेड चार्ज, औषधि खरिद लगायत भन्दै अस्पतालले ६ दिनमा पाँच लाख १६ हजार रुपैयाँको बिल मृतकका परिवारलाई थमाइदिएको थियो।
त्यसमध्ये ४७ हजार रुपैयाँ राजारामलाई अस्पतालमा भर्ना गर्दा धरौटी राखेका थिए भने औषधि खरिदका लागि डेढ लाखभन्दा बढी रकम अस्पताललाई बुझाइसकेको समरले बताए। औषधि खरिद र धरौटी रकम गरी २ लाख रुपैयाँ अस्पताललाई बुझाइसके पनि २ लाख ५१ हजार रुपैयाँ बुझाउन बाँकी रहेको भन्दै ६ दिनसम्म पनि बुवाको शव ल्याउन नसकिएको समरले बताए।
सम्पत्तिको नाममा एक टुक्रा जमिन समेत नरहेका समरले छरछिमेकी र गाउँका समाजसेवीहरूबाट संकलन गरेको दुई लाख रुपैयाँ औषधि खरिद र धरौटी बुझाउँदा सकिएको र बाँकी रकम बुझाउने आफ्नो क्षमता नभएको बताए।
‘२ लाख ५१ हजार रकम बुझाउन नसकेपछि अस्पतालबाट बुवाको शव ल्याउन सकिएको छैन। गाउँमा सबैको सहयोगबाट संकलन भएको दुई लाखभन्दा बढी रकम औषधि किन्दा र धरौटी राख्दा सकियो बाँकी पैसा कहाँ खोज्न जानु!,’ समरले गुनासो गरे।
कहीँ कतैबाट ऋण निकाल्न धरौटी राख्ने समेत जग्गा—जमिन नभएको र मृत्युपछि अस्पतालबाट बुवाको शव ल्याउन नसक्दा पीडा भएको उनले सुनाए।
‘बाँकी पैसा नबुझाएसम्म अस्पतालले शव लैजान नदिने भन्छ, पैसा बुझाउन नसक्दा अहिलेसम्म दाहसंस्कार गर्न सकिएको छैन,’ उनले भने।
वाणगंगा नगरपालिका वडा नम्बर ११ का पूर्ववडा अध्यक्ष सोम अर्यालले पनि मृतकका परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको बताए।
गाउँका सबै मिलेर २ लाख रुपैयाँ रकम संकलन गरी पठाए पनि साढे २ लाख रुपैयाँ बाँकी रहेको भन्दै रकम नबुझाउँदा सम्म शव लैजान नदिने भन्दै आफूहरूलाई पठाइदिएको उनले बताए।
‘पैसा बुझाएकाले मृतकको शव ल्याउन अस्पतालले नदिएको भनेपछि म पनि मेडिकल कलेज गएको थिएँ। पैसा बुझाएपछि मात्रै शव लैजान दिने भनेपछि त्यसै फर्कियौं,’ अर्यालले भने।
गण्डकी मेडिकल कलेजका प्रशासन प्रमुख कृष्ण पौडेलले मृतकको उपचारको क्रममा झन्डै साढे ५ लाख रकम खर्च लागेकोमा ६६ हजार रुपैयाँ छुट गरिसकेकोले बाँकी रकम बुझाउनुपर्ने बताए।
‘उहाँहरुको आर्थिक अवस्था कमजोर भएकैले यसअघि नै ६६ हजार रुपैयाँ छुट गरिसकेका छौं, सबै रकम छुट गरेर अस्पताल कसरी चलाउन सकिन्छ र?,’ उनले भने।
पौडेलले मृतकको शवलाई सुरक्षित साथ गण्डकी प्रादेशिक अस्पतालको मर्चरीमा राखिएको बताए।
‘उहाँहरुले बाँकी रकम लिएर आउँछौं भनेर गएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा शवलाई गण्डकी प्रादेशिक अस्पतालको मर्चरीमा सुरक्षित साथ राखेका छौं,’ पौडेलले भने।
जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी गंगाबहादुर क्षेत्रीले भने गण्डकी मेडिकल कलेजले शव राख्दा जिल्ला प्रशासन कार्यालयसँग कुनै समन्वय नगरेको बताए।
‘उपचारको क्रममा थारूको मृत्यु भएपछि परिवारले रकम बुझाउन नसकेपछि शव अस्पतालमै रहेको भन्ने सुनेको हो तर, शवलाई गण्डकी प्रादेशिक अस्पतालको मर्चरीमा राखिएको मलाई कुनै जानकारी छैन,’ क्षेत्रीले भने।