कोही पनि बालबालिका विद्यालयभन्दा बाहिर नरहून् भन्ने उद्देश्यले अहिले देशभर विद्यालय भर्ना अभियान सञ्चालन भइरहेको छ।
निजी विद्यालयका सञ्चालकहरू मात्र होइन विद्यार्थीहरूको संख्या घट्न थालेपछि कतिपय सामुदायिक विद्यालयका व्यवस्थापन समिति र शिक्षक कर्मचारीहरू नै विद्यार्थी खोज्दै घरदैलो अभियानमा हिँड्ने गर्छन्।
तर, रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेको एउटा सामुदायिक विद्यालयमा भने प्रधानाध्यापक, शिक्षक अभिभावक संघका अध्यक्ष र व्यवस्थापन समितिका पदाधिकारीहरूले मदिरा सहितको भोज चलाउने गरेका छन्।
सिद्धार्थनगर नगरपालिका वडा नं. १३ स्थित सु–संस्कृत माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र राय, समितिका सदस्य अशोक श्रेष्ठ, प्रधानाध्यापक रविन्द्र यादव र शिक्षक अभिभावक संघका अध्यक्ष विनोदकुमार खराल सहितका व्यक्तिहरूले विद्यालयभित्रै मदिरा सेवन गरिरहेको भिडिओ सार्वजनिक भएको छ।
गत आइतबार राति १० बजेतिर विद्यालयभित्र जिम्मेवार व्यक्तिहरूले मदिरा सेवन गरिरहेको थाहा पाएपछि स्थानीय केही युवाहरू भित्र जाँदा उनीहरूले मदिरा खाइरहेका थिए।
विद्यालयका अध्यक्ष र प्रधानाध्यापक नै विद्यालयभित्र मदिरा सेवन गरिरहेको भेटेपछि स्थानीय युवाहरूले शिक्षा आर्जन गर्ने मन्दिरजस्तो पवित्र थलोमा मदिरा सेवन गर्न मिल्छ? भनेर प्रश्न सोधेका थिए। जवाफमा उनीहरूले विद्यालयमा मदिरा सेवन गर्न हुँदैन भनेर कहाँ लेखिएको छ? भन्दै जवाफ फर्काएका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र रायले विद्यालयको क्यान्टिनमा नास्ता खान बसेको बेलामा आफूहरूलाई फसाउनको लागि कसैले भिडिओ खिचेर सार्वजनिक गरेको प्रतिक्रिया दिए।
‘विद्यालयमा काम गर्दैगर्दा भोक लागेपछि विद्यालयकै क्यान्टिनमा खाजा खाएका थियौं। हामीले खाजा खाइरहेको बेला रक्सीका बोतल ल्याएर राखिदिएर हामीलाई फसाउन खोजिएको हो,’ रायले भने।
अध्यक्ष रायले आफूहरूलाई फसाउन मदिराका बोतल ल्याएर आफूहरूलाई फसाउन खोजिएको दाबी गरे पनि सार्वजनिक भएको भिडिओमा भने उनीहरूले मदिरा खाइरहका थिए भने बसिरहेको बेञ्च र टेबलमा पहिले नै मदिरा भरिएको र खाली बोतल राखिएका थिए।
भिडिओमा एकातर्फ डेस्क बेञ्चमा बसेर उनीहरूले मदिरा खाइरहेको देखिन्छ भने अर्कोतर्फ टेबलमाथि किताबहरूको थुप्रो देखिन्छ।
शिक्षाको मन्दिर मानिने विद्यालयभित्र अध्यक्ष र प्रधानाध्यापक सहितका जिम्मेवार व्यक्तिहरू नै मदिरामा लठ्ठीएर बसेको भिडिओ बाहिरिएपछि सिद्धार्थनगर नगरपालिकाले विद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई तीन दिनभित्र स्पष्टीकरण दिन भन्दै पत्र काटेको छ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले विद्यालयका जिम्मेवार व्यक्तिहरू नै विद्यालयभित्र मदिरा खाएर बस्नु लज्जाजनक कार्य भएको भन्दै तीन दिनभित्र त्यसको जबाफ दिन भन्दै पत्र काटिएको बताए।
‘विद्यालयमा मदिरा खाइरहेको भिडिओ मैले पनि हेरेँ, भिडिओमा व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, प्रधानाध्यापक र शिक्षक अभिभावक संघका अध्यक्ष देखिनुहुन्छ, यस्तो घृणित कार्य कसरी भयो भनेर स्पष्टीकरण मागेका छौं, एक दुई दिनमा जबाफ आउला,’ नगरप्रमुख खानले भने।