दाङ राजपुरका अग्नी पीडितका लागि राहत सामग्री वितरण गर्न जिल्ला प्रशासनको टोली पुग्दैछ।
प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले आफूहरू सोमबार दिउँसो २ बजेतिर त्रिपाल, भाँडा वर्तन लगायतका राहत सामग्री लगेर वितरण गर्न जान थालेको बताए।
अग्नी पीडितहरू गएराति बारी वा खुला चौरमा बसोबास गरेका थिए। त्यस्ता पीडितहरूलाई गाँस, बास र कपास जस्ता सामग्रीको अभाव भएको हुँदा त्यस्ता अत्यावश्यक सामग्री लगेर वितरणका लागि आफूहरू जान थालेको सुवेदीले जानकारी दिए।
गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले अग्नी पीडितलाई आइतबार बेलुका पालिकाको तर्फबाट चामल, दाल, नुन, तेलका साथै मानव कल्याण शाखाबाट लत्ताकपडा वितरण गरिएको बताए।
गाउँपालिकाका अध्यक्ष बुढाथोकीले सोमबार पनि आफूहरू रेडक्रस लगायत सहयोगी संघसंस्थालाई गुहारेर राहत वितरणका लागि जान थालेको जानकारी दिए।
राजपुर–७ हाडबासमा बगर नजिकको खरबारीको डढेलो बस्तीमा सल्किँदा २५ घर जलेर पूर्ण रूपमा नष्ट भएको बुढाथोकीले बताए।
गाउँका २७ मध्ये २५ घर जलेर नष्ट भएको र तीमध्ये १९ घरमा मात्रै मानिसहरू बस्ने गरेको बुढाथोकीले जानकारी दिए। ६ घर परिवार भने अन्यत्र बस्ने गरेका थिए।
आगलागीबाट खानेपानीका पाइपहरू जलेर नष्ट भएको हुँदा पूरै गाउँमा एउटा मात्रै खाने पानीको धारा जोगिएको हुँदा पानीको समेत हाहाकार भएको उनले बताए।
अध्यक्ष बुढाथोकीले अग्नी पीडितलाई गाउँपालिकाले जनही दश हजारका दरले तत्काल आर्थिक सहायता गर्ने निर्णय गरेको पनि जानकारी दिए।
अग्नी पीडितलाई जिल्ला प्रशासनले उपलब्ध गराउने जनही १५ हजार भने प्रहरी मुचुल्का र रिपोर्टका आधारमा उपलब्ध गराइने हुँदा अझै केही दिन लाग्न सक्ने प्रजिअ सुवेदीले जानकारी दिए।
प्रदेश सरकारले पनि अग्नी पीडितलाई जनही ४० हजारसम्म उपलब्ध गराउने कुरा गरिरहेको गाउँपालिकाका अध्यक्ष बुढाथोकीले बताए।
सबै निकायले अग्नी पीडितको पुर्नंवास निर्माणका लागि तत्काल नगद आर्थिक सहायता प्रदान गर्न आवश्यक रहेको पालिका अध्यक्ष बुढाथोकीले जानकारी दिए।
हाडबास गाउँ नै सखाप हुने गरी लागेको आगो अझै आसपासका सामुदायिक वन जंगलमा पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको बुढाथोकीले बताए।
आगो नियन्त्रणमा लिने प्रयास भने जारी छ।
नेपाल भारत सिमाना नाकामा पर्ने राजपुरको पानीको अभाव क्षेत्र हो। त्यसमाथि हाडबास गाउँसम्म पुग्ने मोटरबाटो अहिलेसम्म छैन । लमही नगरपालिका र गढवा गाउँपालिकाबाट पानी बोकेर गएका दमकल साँघुरो बाटोका कारण पुग्न सकेका थिएनन्।
जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार आगो निभाउन भनेर गएका सुरक्षाकर्मीलाई गढवाबाट हाडबाससम्म पुग्न साढे दुई घन्टा लागेको थियो। लमहीको अमेलियादेखि हाडबास पुग्न छोटो गोरेटो बाटो छ। तर, त्यसबीचमा पर्ने राप्ती नदीमा डुंगा चढेर जानुपर्ने अवस्था छ। एक जना मात्रै डुंगा चलाउने मानिस रहेको हुँदा त्यहाँ पनि समय लाग्ने गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताए। आगो निभाउन गएका सुरक्षाकर्मीको टोली राति १२ बजेपछि मात्रै हाडबासबाट फर्किएको मल्लले जानकारी दिए।
अधिकांश घरहरू आगोले जलेपछि उनीहरूका लागि खुला स्थानमा त्रिपाल टाँगेर बस्न ठाउँ निर्माण गरी सुरक्षाकर्मी फर्किएको उनले बताए।
बगर नजिकको खरबारीमा कसरी आगो लाग्यो? भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
‘आगो आफैँ लागेको हो भन्नुभन्दा पनि स्थानीय कसैले लगाएको हुनुपर्ने हाम्रो आशंका छ,’ उनले भने, ‘राहत वितरणको काम पूरा भएपछि त्यसबारे अनुसन्धान हुनेछ।’
खरबारीमा आगो लागेपछि सुरूमा गाउँले मिलेर निभाउने प्रयास गरेका थिए। तीव्र गतिको हावा हुरीले त्यो आगो फैलिँदै गएपछि स्थानीयले प्रहरी प्रशासन गुहारेका थिए। सुरक्षाकर्मी पुगे पनि हावा हुरीका कारण आगो निभाउन सम्भव नभएको र बस्तीसम्म फैलिएर गाउँ नै सखाप भएको प्रहरी अधिकारीहरू बताउँछन्।