रूपन्देहीको रोहिणीका आगलागी पीडितहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति रूपन्देहीले राहत वितरण सुरू गरेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आगलागी पीडितहरूलाई तत्कालको राहत स्वरूप नगद रकम उपलब्ध गराउने निणर्य गरेपछि शुक्रबारदेखि राहत वितरण सुरू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
गत शुक्रबार भएको आगलागीबाट सबभन्दा बढी रोहिणी गाउँपालिकामा ५० भन्दा बढी घर पूर्ण रूपमा क्षति भएका छन्।
आगलागीबाट घरबारविहीन भएका परिवारलाई जिल्ला प्रशासनले शुक्रबारदेखि राहत वितरण सुरू गरेको हो।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोलीले शुक्रबार रोहिणीका १७ घरपरिवारलाई आगलागीबाट भएको क्षतिको आधारमा १५ देखि २० हजारका दरले राहत विवरण गरेको हो।
एक दुई दिनभित्रै सबै परिवारमा राहत रकम पुर्याउने प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।
रूपन्देहीको दक्षिणी भेगका गाउँहरूमा गहुँ काटेर खेतमा रहेको नलमा आगो लगाउँदा दिनहुँ आगलागीका घटना भइरहेका छन्। दिउँसोमा चलिरहेको तीव्र हावाहुरीको बेवास्ता गर्दै स्थानीयले खेतमा रहेको नलमा आगो लगाउँदा त्यही आगो फैलिएर बस्ती नै खरानी बन्ने गरेको छ।
रोहिणी गाउँपालिका वडा नं. ६ की सुरसती हरिजन गत शुक्रबार दिउँसो घरमै बसिरहेकी थिइन्। घरछेउकै खेतमा गहुँ काटेर छोडिएको नलमा आगो लागिरहेको थियो। दिउँसो एक्कासि तीव्र गतिमा हावा चल्यो। हावाहुरीले खेतमा लागिरहेको आगोलाई उडाएर बस्तीमा पुर्यायो।
हेर्दाहेर्दै छिनभरमै उनको घर खरानी भयो। उनको ६ जनाको परिवार अहिले छिमेकीको घरमा आश्रय लिइरहेको छ। रोहिणी ६ कै राजाराम हरिजन, सुन्नर चमार लगायत ५० भन्दा बढी घर खेतमा लगाएको आगलागीबाटै जलेर नष्ट भएका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार रूपन्देहीमा आगलागीबाट ८७ घर पूर्ण रूपमा खरानी भएका छन्। ७१ घरका सामान जलेका छन्। आगलागीबाट ५ सय ४ जना घरबारविहीन भएका छन्।
वैशाख महिनामा मात्र लागेको आगलागीबाट घर, अन्नबाली, लत्ताकपडा, नगद र चौपाया गरेर ६ करोड ५० लाख बढीको क्षति पुगेको जिल्ला प्रशासनको तथ्यांक छ। २४ वटा पशुचौपाया जलेका छन् भने २३ विगाहभन्दा बढी खेतको गहुँ जलेर नष्ट भएको छ।
स्थानीय बासिन्दाले ससानो कुरामा ध्यान नदिँदा आगलागीबाट ठूलो क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयले एक महिनाअघि नै जिल्लाका १६ वटै पालिकाका प्रमुखहरूलाई बोलाएर खेतबारीमा गहुँ काटेपछि आगो नलगाउन र त्यसबारे सचेतना फैलाउन अनुरोध गरेको थियो।
तर, पालिकाहरूले बेवास्ता गर्दा जिल्लाका अधिकांश ठाउँमा गहुँको नलमा आगो लगाउँदा त्यही आगोलाई हावाहुरीले बस्तीमा लगेर बस्ती नै खरानी भएका छन्।
प्रमुख जिल्ला अधिकारी अर्यालले आगलागीबाट ठूलो क्षति भएकोले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक राखेर आर्थिक सहयोगको लागि विभिन्न संघसंस्थासँग अपिल गरिएको बताए।
देशका अन्य प्रदेश भन्दा लुम्बिनी प्रदेशमा आगलागीबाट सबभन्दा धेरै जनधनको क्षति भए पनि प्रदेश सरकार पीडितलाई राहत दिनेतर्फ अहिलेसम्म मौन बसेको छ।
स्थानीय पालिकाहरूले आगलागी पीडितहरूको लागि प्रभावकारी राहत वितरण गर्न नसक्दा चर्को गर्मीमा आगलागी पीडित परिवारको विचल्ली भएको छ।
गत शुक्रबार नै खेतमा लगाइएको आगो फैलिएर रोहिणीस्थित पर्साका ७८ वर्षीय सुन्नर चमारको घर खरानी भयो। घरभित्रका अन्नपात लत्ताकपडा, भाँडावर्तन सबै जलेर खरानी भए। सुन्नरले एकहप्ता पछि जिल्ला विपद् व्यवस्थापन समितिले दिएको १५ हजार रुपैयाँबाहेक अन्य कुनै राहत नपाएको बताए।
जिल्ला विपद् व्यवस्थापन समितिले दिएको १५ हजार रुपैयाँ अत्यन्त न्यून भएको र त्यसबाट परिवारको भाँडावर्तन समेत किन्न नपुग्ने भन्दै उनले राहत रकम थपेर दिन आग्रह गरे।
‘यति राहत रकमले के गर्ने हो, घरसँगै भित्रका सबै सामान पनि जलेर खरानी भएका छन्। चर्को गर्मीमा परिवारलाई ओत लगाउने ठाउँ छैन, सरकारले हाम्रो लागि घर बनाइदिनुपर्छ,’ सुन्नरले भने।