गएको शनिबार दिउँसो गुल्मीको इस्मा गाउँपालिका-४ कोटकटरीका सुरेन्द्रलाल विक छिमेकी थम्मनबहादुर अधिकारीको घरमा लागेको आगो निभाउन गएका थिए। वनमा लागेको आगोले भीषण डढेलोको रूप लिएर वस्तीमा पसेको थियो।
गाउँको चारैतिर रहेको जंगलमा बिहानैदेखि डढेलो लागेर धुवाँले ढाकिएको थियो। जंगलको डढेलो वस्तीमा आइपुग्ला भनेर उनले कल्पना गरेका थिएनन्। तर बिहान ११ बजेदेखि हावाहुरी चल्न थालेपछि भने सतर्क भएका थिए।
दिउँसो २ बजेतिर डढेलो वस्तीमा पस्न थालेपछि गाउँलेहरू त्रसित बनिरहेका थिए। तीनबजेतिर डढेलो छिमेकीको घरमा आएको थाहा पाएपछि छोरा बुहारीलाई घरको रेखदेख गर्न भन्दै उनी थम्मन बहादुरको घरतिर लागे।
सुरेन्द्र पुग्दा थम्मनबहादुरको ढुंगाले छाएका घर र गोठ दन्दनी बलिरहेका थिए। घर गोठ नै दन्दनी बलिरहेकोले गएर निभाउन सक्ने अवस्था थिएन।
छिमेकीहरूसँगै सुरेन्द्रले पनि माटो र पानी हालेर आगो निभाउन लाइमिली गरे। हावाहुरी र सुख्खा मौसममा घर गोठमा लागेको आगो दुईचार जना मानिसले फालेको पानी र माटोले नियन्त्रणमा आउने कुरै भएन। गाउँलेसँगै सुरेन्द्रले पनि थम्मनबहादुरको घर गोठ खरानी बनिरहेको हेरिरहे।
उता थम्मनबहादुरको घर गोठ जलिरहेको थियो, यता सुरेन्द्रका छोरा जीवनले आफूहरूको घरमा पनि आगो लागेको भन्दै अतालिदै बुवालाई फोन गरे।
सुरेन्द्रले गाडी चल्ने सडकको किनारमा दुईवटा घर बनाएका थिए। जंगलमा लागेको डढेलो घरसम्म आइपुग्ला भनेर सुरेन्द्रले सोचेकै थिएनन्। जे सोचेका थिएनन्, त्यही भइरहेको थियो। घरमा आगोले टिपेको खवर पाएपछि सुरेन्द्र दौडिएर घर आए।
उनी आइपुग्दा दुईवटै घर चारैतिरबाट दन्दनी बलिरहेका थिए। आधा घन्टा पहिले छिमेकीको घरमा लागेको आगो निभाउन गएका सुरेन्द्र अहिले भने आफ्नै घर जोगाइदिन गुहार मागिरहेका थिए।
रोजगारीको लागि कतारमा रहेका सुरेन्द्रका छोरा जीवन चार वर्षपछि केही दिन पहिले मात्र घर आएका थिए। एउटा घरमा जीवनकी पत्नी लक्ष्मीले फेन्सी र सिलाइ पसल चलाइरहेकी थिइन्। सुरेन्द्रले अर्को घरमा किराना पसल चलाएका थिए। दुईवटा पसलको आम्दानीले घरखर्च चलिरहेको थियो।
तर एकैछिनको आगोले दुईवटै घर र पसल सहित जीवनले कतारबाट ल्याएको धन–पैसा र सुन समेत जलेर नष्ट भएको सुरेन्द्रले बताए।
‘घर र पसलसहित छोराले विदेशबाट ल्याएको तिन तोला सुन र चार लाख रूपैयाँ पनि खरानी भयो,’ सुरेन्द्रले भने।
सुरेन्द्र र नमी कुमारीले जीवनभरको कमाइबाट २०६५ सालमा सडकको किनारमा ढुंगाले छाएर घर बनाएका थिए। छोरा विदेशमा रहेको र घरमा दुई–दुई वटा पसल चलाएकोले घरपरिवार राम्रै चलेको थियो। तर, एकै बेरको आगोले जीवनभरको सबै कमाइ धुवाँमा परिणत भएको उनले सुनाए।
‘जीवनभरको सबै कमाइ खरानी भयो, अब के नै बाँकि रह्यो र,’ उनले भने।
सुरेन्द्रको बलिरहेको घरको भिडियो अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको छ। जुन भिडियो जीवन आफैले खिचेका थिए। ‘घरमा आगो लागेपछि निभाउन सक्ने अवस्था थिएन, केही पर बाटोमा बसेर जलिरहेको घरको भिडियो आफैले खिचिरहेँ,’ जीवनले भने।
बुवाआमा र आफूहरूले अहिलेसम्म कमाएको सबै सम्पत्ति आगोले खरानी बनाए पनि परिवार सबै सकुसल रहेकोले भविश्यमा फेरि उभिन सक्ने साहस भने रहेको उनले बताए। जीवनले खिचिरहेको भिडियोमा पनि उनले बुवालाई त्यसैगरि ढाडस दिइरहेको सुनिन्छ।
‘जे नहुनु थियो भयो अब पिर मानेर जलेको सम्पत्ति फर्किंदैन, जहाँ पुगेर लडिन्छ त्यहीँबाट उभिएर हिँड्नुपर्छ,’ जीवनले भने। दुईवटा घर आगलागीमा खरानी भएपछि बुवा आमा, बहिनी, श्रीमती र ११ वर्षीय छोरासहित पछिल्लो एकसाता देखि छिमेकीहरूको घरमा आश्रय लिएर बसेको जीवनले बताए।
तत्कालको लागि गाउँपालिकाबाट उपलब्ध केही नगद, भाँडावर्तन, लत्ताकपडा र अन्नले परिवारको भोक मेटाइरहेको उनले बताए।
‘घरभित्रको सुन, नगद, अन्नपात, लत्ताकपडा केही पनि निकाल्न सकिएन, अहिले अरूले दिएको राहतको भरमा बसेका छौं,’ उनले भने।
गाउँपालिकाले बिहीबारदेखि स्वयं सेवक खटाएर आगलागीमा परेका घरका भग्नावशेष सफा गर्न सुरू गरेको छ। भग्नावशेष हटाएर त्यही ठाउँमा घर बनाउने जीवनले बताए।
दुई महिना अघि कतारबाट आएका जीवन वैशाख ९ गते कतार फर्किने तयारीमा थिए। आठ गते नै घरमा आगलागी भएपछि उनले एकमहिनाको लागि बिदा थप गरेका छन्। एकमहिनामा परिवार ओत लाग्ने घर बनाएर कतार फर्किने उनले बताए। गाउँमा दर्जनौँ घर र गोठ आगलागीमा परेर खरानी भएपछि उनिहरू पीडा देखेर आफूहरूले पनि मन बुझाएको उनले बताए।
गत शनिबार इस्मा गाउँपालिका मात्रै आगलागीबाट २६ वटा घर र दर्जनौ गोठ जलेर नष्ट भएका थिए।
नौं महिनामा लुम्बिनीमा आगोमा जलेर ३१ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको नौं महिनामा आगोमा जलेर ३१ जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार वैशाख १ गतेदेखि १२ गतेसम्मको अवधिमा मात्रै ६ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा १४ जना महिला, १० जना पुरुष र सातजना बालबालिका छन्। सबैभन्दा बढी गुल्मीमा ७ जनाको मृत्यु भएको छ। गुल्मीमा पछिल्लो १२ दिनमा ३ जनाको जलेर मृत्यु भएको छ। साउनदेखि चैतसम्म आगलागीमा परेर ४ जनाको मृत्यु भएको थियो।
त्यस्तै बर्दियामा साउनदेखि चैतसम्म तीन महिला, तीन बालबालिका र एक पुरूषको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीमा परेर रूपन्देहीमा चारजना, दाङमा चारजना, रोल्पा र पाल्पामा दुई–दुई जना तथा अर्घाखाँची, कपिलवस्तु, पश्चिम नवलपरासी, प्यूठान र बाँकेमा एकएक जनाको मृत्यु भएको छ।
चालु वर्षको साउनदेखि चैत्रसम्म सात सयवटा आगलागीका घटना भएका छन् भने वैशाख १ गतेदेखि १२ गतेसम्म मात्रै तीन सय २७ वटा आगलागीका घटना भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय अग्नि नियन्त्रण विशेष शाखाले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्षक रमेश कुमार बस्नेतका अनुसार आगलागीबाट पाँच सय ४५ वटा घर र चार सय ६ वटा गोठ जलेर नष्ट भएका छन्। जसमा परेर ६ सय ५० वटा पशु चौपायाको मृत्यु र एक सय ६९ वटा घाइते भएको प्रहरीले जनाएको छ।
सबैभन्दा बढी गुल्मीमा एक सय ८३ वटा आगलागीका घटना भएका छन्। यी घटनामा ७४ वटा घर र ८४ वटा गोठ जलेर नष्ट भएको बस्नेतले बताए। गुल्मीमा पछिल्लो १२ दिनमा मात्र भएका ४५ वटा आगलागीका घटनामा ४५ वटा घर र ५६ वटा गोठ जलेका छन्।
बस्नेतका अनुसार रोल्पामा एक सय ३२ वटा आगलागीका घटना हुँदा ६५ वटा घर र ५० वटा गोठ जलेका छन्। त्यस्तै कपिलवस्तुमा ८४, बाँकेमा ६८, रूपन्देहीमा ६३, अर्घाखाँचीमा ४५, पश्चिम नवलपरासीमा ४३, दाङमा ३७, प्यूठानमा ३६, बर्दियामा २०, पाल्पामा १० र रूकुम पुर्वमा पाँचवटा घर जलेर नष्ट भएका छन्।
प्रहरी वरिष्ठ उपरिक्षक बस्नेतका अनुसार आगलागीबाट २ सय १८ घरधुरी विस्थापित भएका छन्। आगलागीबाट ६१ करोड बढीको धनमाल जलेर नष्ट भएको छ। रूपन्देहीमा झण्डै १८ करोडको धनमाल जलेर नष्ट भएको छ।
अधिकांश आगलागीका घटना खेतबारी र वनमा लगाएको आगोबाट फैलिएर वस्तीमा पुगेको प्रहरीले जनाएको छ। सुख्खायाममा वनजंगलमा सुकेर झरेका पातपतिंगरमा सल्काएको आगो फैलिँदै गएर डढेलोको रुप लिएपछि हावाहुरीले वस्तीमा पुर्याउने गरेको छ।
एकसाता भित्र अर्घाखाँची, गुल्मी, प्यूठान, रूपन्देही, रोल्पा, पाल्पा लगायतका स्थानमा भएका अधिकांश आगलागीका घटना वनमा लागेको डढेलो वस्तीमा फैलिएपछि भएको प्रहरीले जनाएको छ। सामुदायिक र निजी वनबाट सल्केको डढेलोले घर, गोठ र पशुचौपाया मात्र होइन वन्यजन्तु समेत जलेर नष्ट भएका छन्।
कतिपय आगलागीका घटना भने गहुँ र जौ काटेर खेतबारीमा बाँकी रहेको ठूटामा आगो लगाउँदा वस्तीमा फैलिने गरेको छ। विशेषगरी तराईका जिल्लामा भएका आगलागीका घटना खेतबारीमा लगाएको आगोबाट हुने गरेको प्रहरीले जनाएको छ।
गत शुक्रबार र शनिबार गुल्मीको इस्मा, रेसुङगा, गुल्मीदरबार, रूरू, मुसिकोट लगायतका क्षेत्रमा भएका आगलागी बनबाटै वस्तीमा फैलिएका हुन्।
इस्मा गाउँपालिका विपद व्यवस्थापन शाखाका हरि घिमिरेका अनुसार २ नम्बर वडाको हस्तीचौर, सिदुङखा, ४ नम्बर वडाको तिम्लेखर्क कोटकटरी र मड्किनामा भएका आगलागी बारी र वनमा लगाएको डढेलोबाटै फैलिएका हुन्। सिदुङखाको रानी सामुदायिक वनमा लागेको डढेलो फैलिएर २ नम्बर वडाको हस्तीचौरको वस्तीमा पुगेको थियो।
इस्मा- १ को वनमा लागेको डढेलो निभाउने क्रममा स्थानीय १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका ७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका थिए। उनीहरूको हात खुट्टा र अनुहार जलेको प्रहरीले जनाएको छ। डढेलोका कारण खानेपानीका पाइप जलेपछि गाउँमा खानेपानीको अभाव भएको छ। मदाने र मालिकामा पर्ने गुराँसे वनमा पनि डढेलो लागेको छ।
शुक्रबार र शनिबार नै अर्घाखाँचीको भूमिकास्थान र शीतगंगा नगरपालिका तथा पाणिनि गाउँपालिकामा भएका आगलागीबाट २० घर, २३ गोठ, ११ बाख्रा र ६ वटा भैँसी जलेर नष्ट भए।
वस्ती नजिकै रहेका वनहरूमा लगाएको आगो वस्तीमा प्रवेश गरेपछि ठूलो भौतिक क्षती भयो। सनिवार बिहानतिर वनमा लागेको आगो दिउसो १ बजेतिर भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ धारापानीको वस्तीमा पसेको थियो।
आगलागीबाट भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलाम खिल्जी लगायतका गाउँका दर्जनौं घर र गोठ जलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए। भीषण आगलागीले गाउँनै सखाप भएको छ।
पाल्पामा पनि वनमा लगाएको डढेलोले ठूलो जनधनको क्षति बनाएको छ। सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रैनादेवी छहरा गाउँपालिका वडा नम्बर सिद्धेश्वरका ५५ वर्षीय टोपबहादुर बुढा आगो निभाउने क्रममा गम्भीर घाइते भएका छन्। माथागढी गाउँपालिका ४ झडेवा जामुनडाँडामा डढेलो निभाउने क्रममा ६५ वर्षीय पूर्णबहादुर कामु मगर घाइते भएका छन्।
पाल्पाकै सिद्धेश्वरको साउने, मोहरे क्षेत्रका सामुदायिक वनमा लागेको डढेलो वस्तीमा पसेपछि भविश्वर पाण्डेय र रामनाथ पाण्डेयको घर गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठका अनुसार तानसेनको श्रीनगर,बतासे डाँडा, वनदेवी क्षेत्र, सेतीपोखरी लगायतका क्षेत्रमा पछिल्ला केही दिनयता आगलागी भइरहेको छ।
पाल्पाकै बगनासकालीको चिर्तुङ्धारा, पोखराथोक, रिब्दीकोट, कुसुमखोला, पालुङमैनादी, लगायतका जंगल क्षेत्रमा डढेलो लागेको छ। तिनाउ गाउँपालिकाको दोभान, झुम्सा, कचल, रैनादेवी छहरा गाउँपालिकाको जुठापौवा, सत्यवती, बल्ढेङगढी लगायतका वन क्षेत्रमा दैनिकजसो डढेलो लागिरहेको छ। वैशाख लागेपछी पाल्पामा आगलागीका घटनामा पनि वृद्धि हुँदै गएको छ।
पाल्पामा दैनिक आठ दश स्थानमा आगलागीका घटना हुने गरेको सूचना अधिकारी श्रेष्ठले बताए।
त्यस्तै प्यूठानका विभिन्न जंगलहरुमा पनि आगो लागेको छ। झिमरूक गाउँपालिका वडा नम्बर ३ को विभिन्न वस्तीमा आगोलागी भएपछि लाखौको क्षति भएको छ।