महोत्तरीको मटिहानी नगरपालिका—६ स्थित जरलहवा टोल बुधबार बिहानसम्म सुन्दर, हराभरा र शान्त थियो। दिउँसो भएको आगलागीले यो टोल बेलुका खरानीमा परिणत भयो। त्यसपछि टोलभरी चिच्याहटमात्रै सुनिइरहन्छ।
बुधबार दिउँसो ६५ वर्षीया मुफिदा खातुन गर्मी छल्न घर छेउकै आँप रूखमुनि छहारीमा छिमेकी महिलाहरूसँग हँसी ठट्टा गर्दै थिइन्। केहीबेरमै उनले मानिस चिच्याउँदै गरेको सुनिन्।
‘हे दारै जाउ न यै, पाइन लक जल्दी अबैजाउ। आगि लाइग गेलै, घर जैर गेलै। बचाउ’ भन्दै गुहारिरहेका थिए। उनी आवाज आएतिर गइन्। महिलाहरू कलबाट बाल्टिनमा पानी भर्दै आगो निभाउन दौडादौड गरेका थिए।
छमेकीको घरबाट सल्केको आगो एकैछिनमा उनको घरसम्म आइपुग्यो। हावा बेजोड चलेको थियो। तीव्र रूपले फैलिएको आगो त्यहाँका सबै घरमा सल्कियो। कलबाट पानी भर्न बाल्टिन पनि रहेनन्।
उनको आँखै अगाडि सबै घर क्षणभरमै खरानी भए।
‘हामी रूँदै जोड जोडले कराइरह्यौं। मेरो बाख्रा घरभित्रै चिच्चाइरहेका थिए तर कसैले केही गर्न सकेन,' उनले भनिन्।
उनी एकैछिन चुपचाप बसिन्। अनि फेरि भनिन्, 'हामी बर्बाद भयौं। अब कसरी बाँच्छु? कहाँ बस्छु? के खान्छु।’
आगलागीमा उनको घरको सबै सामान जलेर नष्ट भएको छ। लत्ताकपडा, अन्न, पैसा, भाँडावर्तन कागजपत्र लगातका सबै समान खरानी भएका छन्। उनले लगाएको कपडा बाहेक केही छँदैछैन। आगलागीमा उनको चारवटा बाख्रा र २२ वटा कुखुरा जलेर मरे।
‘धान रोपाइँ—कटाइ गरेर मजदुरी गरेर डेढ क्विन्टल चामल जम्मा गरेको थिएँ। केही पैसा पनि थियो। चार वटै बाख्रा ब्याउनेबेला थियो। कुखुरा र बाख्रा बेचेर श्रीमानको मुटुको उपचार गराउन जनकपुर जाने सोचेकी थिएँ। सबै बर्बाद भयो। अब कसरी बुढाको उपचार गराउँछु! दबाइ बेगर बुढवा मरिहाल्छन्,’ उनले भनिन्।
चैत २४ गते सुशिला ठाकुर हेल्थ फाउण्डेसनले उनी सहितका मटिहानीका अति विपन्न परिवारलाई ग्यास सिलिण्डर र चुलो वितरण गरेको थियो। उक्त सिलिण्डर उनले खोलेकी पनि थिइनन्। आगलागीमा भरेको उक्त सिलिण्डरै पड्कियो।
जरलहवा टोलमा बुधबार भएको आगलागीमा परी १०५ वटा घर जलेर खरानी बनेका छन्। १० वटा घरमा आंशिक क्षति भएको छ। परालको कुन्यूबाट सल्किएको आगोले घर खरानी भएपछि टोलबासीको बिल्लीबाठ भएको छ। न कसैको घरमा खानेकुरा छ, न भाँडाकुडा न लत्ताकपडा नै। यहाँका रूखबिरूवा पनि जलेका छन्। यही बेला अधिकांश कलबाट यहाँ पानी आउन पनि छोडेको छ।
घर जलेको खरानी बढारेर त्रिपाल ओछ्याएर बसिरहेकी मुफिदा बिहीबार बेलुकीसम्म दुइटा बिस्कुट मात्रै खाएर बसिरहेकी थिइन्। घरिघरि उनको आँखाबाट आँसु झरिरहेको थियो। तर बाहिरको मानिस देखेपछि उनी मुख छोपेर आँसु पुछ्थिन्।
‘बुधबार राति चिनी र च्युरा खाएर सुतेँ। आज बिहान एउटा परिवारलाई ६ वटा बिस्कुट, पीठो, चामल, आलु बाँडेर गएछन्। मैले दिनभर बिस्कुट खाएरै बसेकी छु। चुलो र भाँडावर्तन भए पनि पकाएर खान्थेँ,’ उनले भनिन्।
स्थानीय उस्मिदा खातुनले बच्चाहरूलाई बिस्कुटले नपुग्दा रोइरहेको बताइन्।
‘मेरी भाउजूको तीन जना छोराछोरी छन्। मेरी छोरी छन्। च्युरा राति नै सकियो। बिहान बिस्कुट खाए तर बच्चाहरूलाई भात चाहिने रहेछ। यिनीहरू भोकाउँदा हामीलाई असह्य हुन्छ। कपडा पनि केही छैन न पैसा बचेको छ,’ उनले भनिन्।
उनकी आमाले बुधबार बिहान छोराले अहमदावादबाट पठाएको ५० हजार रूपैयाँ बैंकबाट झिकेर ऋण तिर्न घरमा राखिरहेकी थिइन्। तर पैसासहित सबै सामान जलेर नष्ट भएको उनले बताइन्।
‘मेरी बैनीको बिहेका लागि गाउँबाट ल्याएको ऋण तिर्न दाइले आफ्नो चार महिनाको कमाइ पठाएका थिए। आमाले पचास हजार बैंकबाट झिकेर ल्याउनुभएको थियो। त्यो पैसा खरानी भयो,’ उनले सुनाइन्।
यो बस्तीमा पोहोर साल समेत आगालागी भएको थियो। त्यतिबेला १० वटा घर जलेको थियो। ६ जना परिवारले मात्रै घर बनाउन सकेका थिए। बाँकी परिवार विस्थापित भएर आफन्तको घरमा बस्न हिँडेका थिए।
‘पोहोर पनि घर जल्यो। घर बनाउन नसक्नेहरू आफन्तकहाँ गए। तर म कहीँ जान सकिनँ, ममात्र छैन तीनवटा छोरी छन्, यिनलाई लिएर कहाँ जाउँ! म एक्लैले तिनलाई हुर्काउँदै छु,' स्थानीय बेचनी नदाफले भनिन्, ‘मजदुरी गरेर र केही कर्जा लिएर ६ महिनाअघि मात्रै घर बनाएकी थिएँ, यसपालि फेरि जल्यो। न पोहोर साल घरको सामान बच्यो न यसपालि। कसरी छोरी पालुँ! कसरी गुजारा गरूँ।’
मटिहानी नगरपालिकाले आगलागी पीडितलाई राहत पुर्याएको बताउँछ। मेयर हरि मण्डलका अनुसार खाने कुरा र त्रिपाल बाँडिएको छ।
‘हामी खानेकुरा, भाँडाकुडा त्रिपाल बाँडेका छौं। बासको व्यवस्था पनि गर्न लागेका छौं। लगभग एक हप्तामा सेटल भइहाल्छ त्यस हिसाबले तयारी गरेका छौं,’ उनले भने, ‘प्रारम्भिक डाटा हेर्दा ४ करोड जतिको क्षति भएको छ। हामी पीडितलाई दीर्घकालीन निकासका लागि छलफल गरिरहेका छौं। प्रदेश र संघ सरकारसँग पनि समन्वय गरिरहेका छौं।’
जिल्ला विपद व्यवस्थापन कार्यालय महोत्तरीले आगलागी पीडितलाई प्रति परिवार २० हजार रूपैयाँ र नगरपालिकाले पाँच हजार रूपैयाँ दिने निर्णय गरेको उनले बताए।
उक्त आगलागीबाट भएको क्षति पहिचान गरी राहत दिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव गोगनबहादुर हमालको नेतृत्वमा टोली परिचालन गरिएको छ।
घटनाबारे सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्न उक्त टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य, प्राधिकरणका उपसचिव डिजन भट्टराई र प्राधिकरणकै उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्मा छन्।
टोलीले क्षतिको पहिचानका साथै पीडितलाई राहत तथा पुनःस्थापनाका लागि सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहसँग आवश्यक समन्वय गरी आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनेछ। टोलीले जिल्ला विपद् व्यवस्थापन समितिलाई आवश्यक सहयोग तथा सहजीकरणसमेत गर्ने प्राधिकरणले जनाएको छ।