गुल्मीको इस्मा गाउँपालिका-४ कोटकटरीकी ४५ वर्षीय ज्ञानी अधिकारी गत शनिबार दिउँसो औषधि लिन घमिर गाउँ गएकी थिइन्। घरमा उनका ८१ वर्षीय ससुरा गोविन्द र सात वर्षकी छोरी थिए।
दिउँसो १ बजेतिर घमिर पुगेकी ज्ञानीलाई छिमेकीहरूले घरनजिकै डढेलो आएको भन्दै फोन गरे। घरदेखि केही तल बारीको छेउमा बिहानैदेखि आगो लागेको थियो। त्यो आगो आफ्नो गाउँमै आउला भन्ने उनले सोचेकी थिइनन्। छिमेकीको फोन आएपछि भने उनी दौडिँदै घरतिर लागिन्। आफ्नो भन्दा तल्लो घर परालको टौवासँगै जलिरहेको थियो। उनले माथितिर आफ्नो घर हेरिन्। घरसम्म आगो पुगिसकेको थिएन। ढुक्क भइन्।
तर बेस्मारी हावाहुरी चल्यो।
यो हावाले लपेटेर आफ्नो घरसम्मै आगो लैजान्छ कि भनेर उनको मन आत्तियो। हतार हतार घर पुगिन्। वृद्ध ससुरा र नाबालक छोरीलाई छिमेकीको घरमा सुरक्षित बस्न भन्दै उनले घरभित्रका सामान बाहिर निकाल्न थालिन्। महत्वपूर्ण कागजपत्र सहितका दुइटा ठूला बाकस आँटीमा थिए। छिमेकी साथी कमलाको सहयोगमा बाकसलाई बारीमा ल्याएर राखिन्।
घर र गोठनजिकै दाउराको कट्कुरो थियो त्यसलाई भत्काइदिइन्। गोठमा सुकेको घाँस र नलको थुप्रो थियो त्यसलाई पनि बारीतर्फ फालिदिइन्। कसैगरी आगो आयो भने धेरै क्षति नहोस् भनेर यति काम गर्दागर्दै हावाले गोठमा आगोको लप्का ल्याइपुर्याएको थियो।
गोठमा नौ वटा बाख्रा थिए। आगोको लप्काको पर्वाह नगरी गोठभित्र पसिन् र बाख्राको खोरको ढोका खोलिदिइन्। भकारोमा गाई बाँंधेको थियो। दाम्लो फुकालेर बारीतिर धपाइन्। भकारोमा एउटा भैंसी बाँधेकी थिइन्। भैंसीको दाम्लो फुकाउन नभ्याउँदै आगोको लप्काले घर र गोठ छोपिसकेको थियो।
अब भने गोठभित्र छिरेर भैंसीको दाम्लो फुकाउन सक्ने उनको उपाय थिएन। अनि उनी बारीतिर गइन्।
बारीको डिलमा बसेर जलिरहेको घर र गोठ हेरिरहिन्। भैंसीलाई उनले बचाउन सकिनन्। थकथकी लागिरह्यो।
‘घर गोठ जलेको हेर्दाहेर्दै म त बारीमै बेहोस् भएछु, छिमेकी दिदीबहिनीले बोकेर आफ्नो घरमा ल्याउनुभएछ। होस् आएपछि गएर हेर्दा घर गोठ सबै खरानी भइसकेको थियो,’ उनले भनिन्।
६ दिनदेखि छिमेकीकहाँ आश्रय लिएर बसेकी ज्ञानी आफ्नो विवाह भएपछिको ३० वर्ष रगत, पसिना, सपना सबै एक गरेर कमाएको सम्पत्ति आगोले खरानी बनाइदिएको कुराले आहत छिन्।
‘१५ वर्षमा मेरो बिहे भएको हो। त्यसपछिका ३० वर्ष रगतपसिना खर्चेर घर-गोठ जोडेका थियौं। एकैछिनको आगोले सबै खरानी बनायो,’ उनले भनिन्।
ज्ञानीका श्रीमान थम्मन रोजगारीको लागि दिल्लीमा छन्। कान्छो छोरा पनि पढाइका लागि बाबुसँगै दिल्लीमा गएका थिए। जेठो छोरा बिहीबार मात्रै सानिमासँग बुटवल गएका थिए। घरमा छोराछोरी कोही नभएको बेला आगलागी हुँदा घरभित्रको सामान जोगाउन नसकिएको उनले बताइन्।
‘छोराछोरी सबै घरमा भएको भए पनि लत्ताकपडा, अन्नपात, भाँडाकुँडा जोगाउन सकिन्थ्यो। भकारोमै भैंसी जल्ने थिएन होला,' उनले सेतोपाटीसँग भनिन्, ‘घरभित्र १० मुरी कोदो थियो, आटो बनाउन ७ मुरी मकैको कात्रा बनाएर राखेकी थिएँ सबै खरानी भयो।’
उनका अनुसार, घरभित्र रहेको ग्याँसको सिलिण्डर निकाल्न नसक्दा पड्किएर झनै ठूलो क्षति भयो।
२०७२ सालको भूकम्पले ढुंगे घर र गोठ भत्काएपछि थम्मन र ज्ञानीले चारवर्ष अगाडि मात्र अहिलेको घर बनाएका थिए।
‘दैवले पनि हामीलाई नै फर्कीफर्की दु:ख दिइरह्यो, भूकम्पले ढुंगे घर र गोठ भत्काएपछि टिनले छाएर घर गोठ बनाएका थियौं,अहिले आगोले सबै खरानी बनायो,’ उनले भनिन्।
ज्ञानी मात्र होइन वैशाख महिनामा मात्र गुल्मीमा आगलागीबाट ४५ वटा घर र ५६ वटा गोठ जलेर नष्ट भएका छन्। शनिबार एकैदिन भएको आगलागीबाट सबभन्दा बढी इस्मा गाउँपालिकामा क्षति भएको छ।
इस्मा गाउँपालिकाका विपत् व्यवस्थापन शाखाका हरि घिमिरेका अनुसार एकैदिन भएको आगलागीबाट वडा नम्बर २ मा १४, ४ मा १० र ६ मा दुई वटा घर जलेका छन्।
वडा नम्बर २ को हस्तिचौर, सिदुङखा, ४ को तिम्लेखर्क कोटकटरी र मड्किनामा आगलागीबाट ठूलो क्षति भएको घिमिरेले बताए।
घिमिरेका अनुसार गाउँपालिकाबाट आगलागी पीडितहरूलाई राहत वितरणका काम भइरहेको र बिहीबारदेखि भग्नावशेष पन्छाएर जोगिएका सामान निकाल्ने काम सुरू भएको छ।
‘अहिले हामी कोटकटेरीमा ज्ञानी अधिकारीको जलेको घरको भग्नावशेष पन्छाइरहेका छौं, भग्नावशेष पन्छाएर उहाँहरूको पुनर्स्थापनाको लागि घर टहरा निर्माणको काम सुरू गर्छौं,’ घिमिरेले भने।