बुटवल उपमहानगरपालिकाले वडा कार्यालयमा ६० वर्षमाथिका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अन्य अशक्तहरूका लागि स्वास्थ्य परीक्षण गर्ने अभियान चलाएको छ।
विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले वडा कार्यालयमा पुगेर स्वास्थ्य परीक्षण गर्छ।
‘बाआमासँग नगरप्रमुख स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श’ नाम दिएर चालु आर्थिक वर्षमा सुरु भएको उक्त कार्यक्रम प्रभावकारी बनेको उपमहानगरको निष्कर्ष छ।
पहिलो चरणमा उपमहानगरका १९ वटै वडामा ज्येष्ठ नागरिकहरूले स्वास्थ्य परीक्षण गराएका थिए। सामान्य समस्या भनेर बेवास्ता गरेका व्यक्तिहरूले पनि वडा कार्यालयमा पुगेर स्वास्थ्य परीक्षण गराएका थिए।
वडा नम्बर १०, कालिकानगरका रामबहादुर केसीलाई बिहान उठ्दा पेट चस्किएजस्तो हुन्छ। उनले गत साता वडा कार्यालयमा ‘बाआमासँग नगरप्रमुख स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श’ कार्यक्रमको टोलीसँग स्वास्थ्य परीक्षण गराए।
उनले भने, ‘पेट चस्किएजस्तो हुन थालेको निकै दिन भयो तर अस्पताल पुग्न समय जुरेको थिएन। आज टोली आउँछ भन्ने थाहा पाएर वडामा आएको हुँ।’
अस्पतालसम्म पुग्न नसकेका र अलमलमा परेका ज्येष्ठ नागरिकका लागि उपमहानगरले चलाएको स्वास्थ्य परीक्षण कार्यक्रम निकै उपयोगी भएको केसीको भनाइ छ।
उनले भने, ‘पढेलेखेका मानिस पनि निकै ठूलो समस्या नभएसम्म अस्पताल नजाने प्रवृत्ति छ। यस्तो अवस्थामा उपमहानगरको स्वास्थ्य परीक्षण कार्यक्रम निकै प्रभावकारी देखिएको छ।’
कालिकागरकै ६१ वर्षीया रोमकुमारी खड्का क्षेत्री बाथ र उच्च रक्तचापले पीडित छिन्। उनले औषधि खाएको पाँच वर्ष भयो। उनलाई घुँडा खुम्च्याउन र हिँड्न कठिन हुन्छ।
उनी अस्पताल गइरहन सक्दिनन्। नजिकै रहेको वडा कार्यालयमा स्वास्थ्य परीक्षण हुन्छ भन्ने थाहा पाएर आएकी थिइन्। उनले आफूले खाने गरेको औषधिको पोको पनि बोकेकी थिइन्।
एक घण्टा पालो पर्खेपछि रोमकुमारीले डाक्टर भेटिन्। आफ्नो समस्या सुनाइन्। प्लास्टिकको थैलोमा पोको पारेको औषधि देखाइन्।
चिकित्सक टोलीका डा. डिबी खत्रीले उनको सबै समस्या सुनेर आवश्यक सल्लाह दिए। केही औषधि थपघट गरिदिए।
पचहत्तर वर्षीया मानकुमारी थैब पनि घुँडा दुख्ने र हातखुट्टाको छाला चिलाउने समस्या लिएर गएकी थिइन्। उनले भनिन्, ‘घरमा तलमाथि गर्दा पनि घुँडा दुख्छ। हातखुट्टा चिलाउन थालेको दुई हप्ता भयो। कन्याउँदा कन्याउँदै छाला निस्किन थालेको छ।’
उपेन्द्रनाथ पाण्डे ९० वर्षका भए। उनले वडा कार्यालयमा स्वास्थ्य जाँच गराए। उनलाई खास केही समस्या थिएन। चिकित्सकले रक्तचाप हेरे, रगतमा चिनीको मात्रा जाँच गरे। युएसजी (भिडयो एक्स रे) पनि गरे। यति गरेपछि चिकित्सकले सबै ठिक छ भने।
‘डाक्टरलाई नदेखाई नहुने समस्या त केही थिएन। आफ्नै वडामा डाक्टरहरू आएको थाहा पाएर जचाउँन आएको थिएँ,’ स्वास्थ्य परीक्षणपछि उपेन्द्रनाथले भने, ‘डाक्टरले सबै ठिक छ भनेपछि खुसी भएँ।’
विभिन्न कारणले अस्पताल पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपांग र अशक्तका लागि ‘बाआमासँग नगरप्रमुख स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श’ कार्यक्रम चलाएको उपमहानगरका प्रमुख खेलराज पाण्डेयको भनाइ छ।
‘बाआमासँग नगरप्रमुख स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श’ बुटवलमा यस प्रकारको पहिलो कार्यक्रम हो। यो कार्यक्रम निकै प्रभावकारी साबित भएकोले अझ बिस्तार गरिने पाण्डेयले बताए।
‘म निर्वाचित भएर आएपछि नै ६० वर्षमाथिका ज्येष्ठ नागरिक, अपांगता भएका र अशक्तहरूका लागि केही राम्रो काम गर्ने सोचेको थिएँ,’ उनले भने, ‘कार्यक्रम चालु आर्थिक वर्षमा सुरु भयो। बुटवल उपमहानगरमा बसोवास गर्ने नागरिकका लागि हो।’
कार्यक्रमको उद्देश्यअनुसार पहिलो चरणमा सबै वडामा स्वास्थ्य परीक्षण भइसकेको छ। वडा कार्यालयसम्म पनि आउन नसक्ने सबै किसिमका अशक्तहरूका लागि विशेषज्ञ चिकित्सकसहितको टोली घरमै जाने उनले बताए।
हेर्दा सामान्य जस्तो देखिए पनि अस्पतालसम्म पुग्न नसक्ने वृद्ध र अशक्तका लागि निकै उपयोगी भएको उपमहानगर प्रमुख पाण्डेयको भनाइ छ।
‘कतिपय घरमा आमाबुबा मात्र बस्नुहुन्छ। उहाँहरूका छोराछोरी पढ्न वा रोजगारीका लागि विदेशमा हुनुहुन्छ,’ उनी भन्छन्, ‘स्वदेशमै घरबाट टाढा बस्नेहरू पनि हुनुहुन्छ। अपांगता भएका र अशक्त व्यक्तिहरू हुनुहुन्छ। उपमहानगरपालिका उहाँहरू सबैको अभिभावक र सहारा भएको छ।’
देशभरका सबै स्थानीय तहहरूमध्ये विशेषज्ञ चिकित्सकसहितको टोली वडामा पुगेर यस किसिमले स्वास्थ्य परीक्षण गर्ने बुटवल उपमहानगरपालिका एकमात्र रहेको पाण्डेको भनाइ छ।
यो कार्यक्रमले स्वास्थ्य परीक्षणसँगै, सामाजिक सुरक्षाभत्ता पाए–नपाएको, घरपरिवारमा मेलमिलाप रहे–नरहेको, हेरचाह भए नभएको सूचना पनि संकलन भएको उपमहानगरप्रमुख पाण्डेयले बताए।
‘हामी बुटवलमा ज्येष्ठ नागरिक, अपांगता भएका र अशक्तहरू कसैले पनि दुःख पाउने अवस्था नहोस् भन्नेमा सचेत छौं,’ उनी भन्छन्, ‘स्वास्थ्य परीक्षणमा सामान्य समस्या देखिएकालाई तत्कालै औषधि दिन्छौं। थप परीक्षण र उपचार चाहिनेलाई बुटवलका सरकारी, सामुदायिक र निजी अस्पतालमा पठाउँछौं। हामीले ती अस्पतालसँग समन्वय गरेका छौं।’
उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख युवराज पाण्डेका अनुसार पहिलो चरणको स्वास्थ्य परीक्षणमा एक हजार ३८२ महिला र एक हजार १९९ पुरुष गरी दुई हजार ५८१ जना लाभान्वित भएका छन्।
स्वास्थ्य परीक्षणका क्रममा ७०८ जनाको इसिजी गरिएको, दुई हजार २२२ जनाको मधुमेह परीक्षण गरिएको र १२५ जनाको युएसजी (भिडियो एक्स रे) गरिएको उनले बताए।
पहिलो चरणको परीक्षणबाट धेरै जसो ज्येष्ठ नागरिकहरूमा घुँडा दुख्ने, दाँत दुख्ने, आँखा कम देख्ने, मधुमेह र उच्च रक्तचापको समस्या देखिएको छ। केहीमा मुटु र मिर्गौलाको समस्या देखिएको छ।
शाखा प्रमुख पाण्डे भन्छन्, ‘पहिलो चरणमा स्वास्थ्य समस्या पत्ता लगाउन सकिएको छ। अर्को चरणमा सम्बन्धित विशेषज्ञ चिकित्सकबाट परीक्षण गराउँछौं।’
हिँड्न नसक्ने अपांगता भएका व्यक्ति घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने तयारी भएको पनि उनले बताए।
उनका अनुसार बुटवलमा बिस्ताराबाट उठ्न नसक्ने र अरूको सहाराबिना हिँड्न नसक्ने नसक्ने ‘क’ वर्गको अपांगता भएका २५० जना र थोरै हिँड्न सक्ने ‘ख’ वर्गको अपांगता ३४१ जना छन्।
चाँडै घरमै पुगेर उनीहरूको स्वास्थ्य जाँच गर्ने र आवश्यकता अनुसार सहयोग गर्ने उपमहानगरको योजना छ।
नवजात शिशु र सुत्केरी पोषण
बुटवल उपमहानगरले बुटवलका सरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य केन्द्रहरूमा जन्मिने शिशुका लागि पोषणा कार्यक्रम चलाएको छ। सबै गर्भवती अस्पतालमा सुत्केरी गराऊन् उद्देश्यले पोषण कार्यक्रम चलाएको जनाइएको छ।
उपप्रमुख सावित्रादेवी अर्यालका अनुसार उपमहानगरले सरकारी र सामुदायिक अस्पताल तथा स्वास्थ्य केन्द्रमा जन्मिने शिशु र अमाको पोषणका लागि दुई हजार रुपैयाँ दिने दिने गरेको छ।
हाल बुटवलका अस्पताल र स्वास्थ्य केन्द्रहरूमा वार्षिक कम्तीमा चार हजार ३०० शिशुको जन्म हुने गरेको छ।
शिशु र सुत्केरी पोषण कार्यक्रम लागु गरेपछि अस्पतालमा सुत्केरी हुनेको संख्या बढेको र मातृशिशु स्वास्थ्यमा जोखिम कम भएको अर्यालको भनाइ छ। अस्पताल र स्वास्थ्य केन्द्रहरूले ‘बधाई तथा शुभकामना’ लेखिएको जन्मप्रमाणपत्र दिने गरेका छन्। पोषणको रकम पाउन शिशुको जन्म दर्ता गराउनुपर्ने प्रावधान छ।
‘पोषण कार्यक्रमले बच्चा जन्मेको १५ दिनभित्रै जन्म दर्ता गराउने बानी बसालेको छ,’ उपप्रमुख अर्याल भन्छिन्, ‘पैसा पाउने भएपछि छिटो जन्म दर्ता हुन थालेको छ। जन्मदर्ता गरेपछि उपमहानगरले हार्दिक बधाई लेखिएको प्रमाणपत्रसहित दुई हजार रुपैयाँ दिन्छ।’
उपमहानगरले सुत्केरीलाई दुधवर्द्धक जडिबुटी पनि दिने गरेको छ।
पोषणको रकम बुटवलमा स्थायी बसोबास गर्नेका लागि मात्र हो। दुधवर्द्धक जडिबुटी भने अस्पताल र स्वास्थ्य केन्द्रमा सुत्केरी हुने सबैले पाउँछन्।
उपमहानगरले चालु आर्थिक वर्षमा ‘शिशु तथा सुत्केरी पोषण कार्यक्रम’ का लागि १ करोड रुपैयाँ र गर्भवती दुग्धवद्र्धक जडिबुटी वितरणका लागि १० लाख रुपैयाँ छुट्याएको थियो।
गर्भवतीको स्वास्थ्य परीक्षणमा युएसजी सेवा निःशुल्क छ। गत असारदेखि उपमहानगरका स्थायी बासिन्दा गर्भवतीले यस्तो सेवा पाएका छन्।
जटिल रोगका बिरामीलाई सहयोग
नेपाल सरकारले जटिल रोगका बिरामीलाई उपचारका लागि एकलाख रुपैयाँ र औषधिका लागि मासिक ५ हजार रुपैयाँ दिने गरेको छ।
सरकारले मुटु सम्बन्धी रोग, मिर्गौला सम्बन्धी रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमियालाई जटिल रोग मानेको छ।
लुम्बिनी प्रदेश सरकारले पनि मुटुको भल्व फेर्नुपर्ने, मिर्गौला प्रत्यारोपण गर्नुपर्ने र क्यान्सरका बिरामीलाई दुई लाख रुपैयाँ दिने गरेको छ। बुटवल उपमहानगरपालिकाले जटिल रोगका बिरामीलाई १७ हजार रुपैयाँ दिने गरेको छ।
उपमहानगरको स्वास्थ्य शाखाका अनुसार हाल बुटवलमा जटिल रोगमा रकम पाउने बिरामी ३१० जना छन्। गत पुष, माघ र फागुनमा ५६ जना थपिएर उक्त संख्या पुगेको हो।
स्वास्थ्य शाखा प्रमुख पाण्डेका अनुसार जटिल रोगका बिरामीका लागि उपमहानगरबाट चालु आर्थिक वर्षमा हालसम्म ७१ लाख रुपैयाँ खर्च भएको छ।
नगरवासीलाई निःशुल्क रगत
बुटवल उपमहानगरले बुटवलका सबै अस्पतालमा बिरामीलाई रगत निःशुल्क उपलब्ध गराउँदै आएको छ।
रक्तसञ्चार सेवा केन्द्रले रगतको ब्याग र अन्य व्यवस्थापन खर्च बापत शुल्क लिन्छ। यस्तो शुल्क उपमहानगरले नै तिरिदिने गरेको छ।
स्वास्थ्य शाखा प्रमुख पाण्डेले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा चार सय बिरामीलाई ९९७ पोका रगत निःशुल्क उपलब्ध गराएको जानकारी दिए।
रगत लिएका बिरामीहरूको अभिलेख रक्त सञ्चार केन्द्रबाट उपमहानगरपालिकामा आउँछ र उतै भुक्तानी जान्छ। यो खर्चका लागि उपमहानगरले चालु आर्थिक वर्षमा १९ लाख रुपैयाँ छुट्याएको थियो।
एचआइभी संक्रमित बालबालिकालाई पोषण
बुटवल उपमहानगरले एचआइभी संक्रमित बालबालिकालाई मासिक तीन हजार रुपैयाँका दरले पोषण भत्ता दिने गरेको छ। स्वास्थ्य शाखाका अनुसार बुटवलमा दुई बालक र एक बालिका गरी एचआइभी संक्रमित बालबालिका तीन जना छन्।
नगरप्रमुख पाण्डेयका अनुसार एचआइभी संक्रमित बालबालिकाको रेखदेखमा घरपरिवारमा समेत लापरबाही हुने गरेको थाहा पाएपछि पोषण भत्ता दिन थालिएको हो।