निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चा चलेको झण्डै ३० वर्ष हुन लाग्यो। तर विमानस्थल निर्माण कार्य भने अहिलेसम्म सुरू भएको छैन। सरकारले अझै पनि विमानस्थल निर्माणका लागि प्रारम्भिक तयारी मात्र गरिरहेको छ।
सन् १९९५ मा नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सर्भिस सेन्टरले बाराको निजगढमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रारम्भिक सर्वेक्षण गरेको थियो। त्यतिबेला विमानस्थल निर्माणका लागि टाँगिया बस्तीसहित ८० दशमलव ४५ वर्ग किलोमिटर क्षेत्रभित्र रहेको वन र बस्ती क्षेत्रलाई उपयुक्त ठहर गरिएको थियो।
त्यसपछि सरकारले सन् २०१० मा ल्याण्ड मार्क वर्ल्डवाइडमार्फत् सम्भाव्यता अध्ययन गरायो। सन् २०११ मा बुझाइएको उक्त अध्ययनले दुई वटा रनवेसहित विमानस्थल र एयरपोर्ट सिटी बनाउन सुझाव दियो। जसको लागत मात्र ६ सय ५४ करोड अमेरिकी डलर अर्थात् झण्डै ७०० अर्ब लाग्ने देखियो।
तर बाक्लो जंगल भएको ठाउँमा एयरपोर्ट सिटी बनाउने विषय विवादमा पर्यो। सरकारले यो एयरपोर्टलाई निर्माण, सञ्चालन र हस्तान्तरण बुट मोडलमा बनाउने निर्णय गरे पनि अघि बढ्न सकेन। पछिल्लो पटक सरकारले निजगढमा चार किल्ला तोकेको छ। सरकारले विमानस्थल निर्माणकै लागि स्थानीयसँग ७२ विगाहा जग्गा समेत मुआब्जा दिएर नागरिक उड्डययन प्राधिकरणको नाममा ल्याइसकेको छ।
तर विमानस्थल निर्माणको काम तीन विषयका कारण अड्किएको छ।
पहिलो सरकारले यो विमानस्थल कसरी निर्माण गर्ने भन्ने टुङ्गो लगाउन सकेको छैन। आफैं निर्माण गर्ने कि विदेशीलाई दिने भन्ने टुंगो लागेको छैन। त्यस्तै निजगढ क्षेत्रमा रहेको वनको विषय पनि प्रमुखताका साथ उठेको छ। निजगढ क्षेत्रमा रहेको बाक्लो वन काट्न नहुने कतिपयको धारणा छ।
त्यस्तै टाँगिया बस्ती स्थानान्तरणको विषय पनि टुंगोमा पुग्न सकेको छैन। निजगढको जंगलको बीचमा रहेको टाँगिया बस्तीमा सयौं घर टहरा छन्। ती घर टहरामा रहेका परिवारलाई व्यवस्थापन गर्ने विषयमा सरकारले अध्ययन गरे पनि निर्णय गर्न सकेको छैन। केही समय अघि सरकारले गरेको अध्ययनमा टाँगिया बस्तीमा १ हजार ४ सय ७६ घर परिवार रहेको तथ्यांक सार्वजनिक भएको थियो।
स्थानीयहरूले विमानस्थलमा रोजगारी दिने गरी निजगढ नजिकैका पिलुवा, कतर्वा वा कोल्वीमा सार्नुपर्ने बताउने गरेका छन्।
सरकारले अहिलेसम्म पसाहा खोला र बकैया खोलाको व्यवस्थापनका लागि मात्र काम गरेको छ। निजगढमा बस्ने विमानस्थलले नेपालको आगामी ५० वर्षसम्मको हवाई ट्राफिक चाप धान्ने अपेक्षा गरिएको छ। यसलाई फोरडी विमानस्थल बनाउने सरकारको योजना छ। निजगढ विमानस्थलसम्म जोड्ने गरी काठमाडौं–तराई फास्ट ट्र्याक निर्माणको कार्य धमाधम चलिरहेको छ।
हेर्नुहोस् निजगढ विमानस्थल निर्माण हुने भनिएको क्षेत्रको ड्रोनबाट खिचिएका तस्बिरहरू: