मलीन अनुहारमा उनी जनकपुरधाम उपमहानगरपालिका कार्यालयको दोस्रो तलामा बसेकी थिइन्। आँखा रसाएका थिए तर आँसु लुकाउने प्रयासमा थिइन्।
उनी यही साताको मंगलबार एक झोला कागजपत्र बोकेर उपमहानगरपालिका कार्यालय पुगेकी थिइन्। उनका सामुन्नेमा प्रमुख प्रशासीय अधिकृतको कार्यकक्ष थियो।
उनी आफू र आफ्ना एक छोराको पहिचानका लागि वडा कार्यालय र उपमहानगर कार्यालय धाएको धेरै भयो। अदालत पनि गइन्। अहिलेसम्म उनको समस्या समाधान भएको छैन।
उनी हुन् प्रियंका सिंह, उनी आफै भने भारतीय नागरिक हुन्। आठ वर्षअघि वडा नम्बर १४, मुजेलियाका सञ्जय जैसवालसँग उनको बिहे भएको थियो। उनको साथमा ६ वर्षका एक छोरा छन्।
समस्या के भयो भने, प्रियंका र सञ्जयको विवाह दर्ता भएको छैन। प्रियंकाले संविधान र कानुन अनुसार नेपालको अंगिकृत नागरिकता पाउँछिन्। तर बिहे दर्ता नै नगरेकाले नागरिकता बनाउन पाइनन्। त्यसैले छोराको जन्मदर्ता हुन सकेको छैन।
उनका श्रीमान् तीन वर्षदेखि साथमा छैनन्, अलग्गै बस्छन्। प्रियंका भने सासु ससुराका साथ घरमै छिन्।
‘मैले विवाह दर्ता र छोराको जन्मदर्ताका लागि श्रीमानसँग हात जोडें, खुट्टा ढोगें तर सुनेनन्। केके बहाना गरे। उल्टै मलाई धम्की दिएर झगडा गर्न थालेपछि मैले मुद्दा गरें,’ प्रियंकाले भनिन्, ‘मुद्दा गरेपछि सञ्जय मलाई छाडेर घरबाट भागेका छन्। सुरुमा त सासु ससुराले मलाई साथ दिनुभएको थियो। मुद्दा गरेपछि दुःख दिन थाल्नुभयो।’
उनलाई विवाह दर्ता, छोराको जन्मदर्ता र आफ्नो नागरिकता प्रमाणपत्र चाहिएको छ। सासु ससुरालाई पनि भनेकी भन्यै छन् तर मद्दत पाएकी छैनन्।
‘सबै मसँग रिसाएका छन्। छोरालाई सम्झाउँछु भन्नुहुन्छ तर मेरो काम भएको छैन,’ उनले भनिन्।
सञ्जय अर्कै महिलासँग लुकिछिपी बसेको प्रियंकाको शंका छ। उनले सञ्जयको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन पनि दिएकी छन्।
उनका अनुसार सञ्जय आमाबाबुसँग फोनमा कुरा गर्छन्। लुकिछिपी भेट पनि गर्छन् तर उनीसँग कुरा नभएको र भेट नभएको तीन वर्ष भयो।
सञ्जय भारतको गोवामा एउटा रेस्टुरेन्ट चलाएर बसेका थिए। प्रियंका एमबिए पढाइ पूरा गरेर मुम्बईमा एउटा कम्पनीमा काम गर्थिन्। ‘शादी डटकम’ बाट उनीहरूको चिनजान भयो, साथी बने। कुरा हुँदाहुँदै माया बस्यो।
करिब नौ वर्षअघि उनीहरूको पहिलो भेट भएको थियो। अन्ततः बिहे भयो।
प्रियंकाका अनुसार उनलाई सञ्जयले आफ्नो बिहे भएको र श्रीमतीसँग डिभोर्स भएको बताएका थिए। डिभोर्स भइसकेको भनेपछि र व्यवसाय राम्रो चलेको देखेपछि उनी बिहेको निर्णयमा पुगेकी थिइन्। दुबैतिरका परिवारले पनि स्वीकृति दिएका थिए।
काशी विश्वनाथ मन्दिरमा बिहे भयो। प्रियंका सञ्जयका साथ गोवामै बस्न थालिन्। के कारणले हो रेस्टुरेन्ट घाटामा जान थाल्यो। हुँदाहुँदा सञ्जयका बुवा शिवजीप्रसाद चौधरीले पैसा पठाउनुपर्ने भयो।
आखिर रेस्टुरेन्ट बेचेर सञ्जय प्रियंकालाई साथ लिएर घर फर्के। त्यसै वर्ष उनीहरूका छोरा जन्मे। त्यसको केही महिनापछि श्रीमान्–श्रीमतीबीच खटपट सुरू भयो।
‘सञ्जय अर्की महिलासँग फोनमा कुरा गर्न थाले। जतिबेला पनि फोनमा हुन्थे, धेरै कुरा गर्थे। त्यही विषयमा हाम्रो झगडा सुरु भयो,’ प्रियंकाले भनिन्, ‘विवाह दर्ता र छोराको जन्मदर्ता बनाउन नमानेपछि बाध्य भएर म अदालत पुगें।’
पहिला उनले वडा कार्यालयमा विवाह दर्ता र जन्म दर्ताका लागि निवेदन दिइन् तर श्रीमानलाई पनि लिएर आउनू भनेर फर्काइदियो। श्रीमानले अस्वीकार गरेपछि उच्च अदालत, जनकपुर गएर मुद्दा दर्ता गराइन्।
यसपछि समस्या झन चर्कियो। उनका पक्षमा रहेका सासुसुरा विपक्षमा भए।
उनले भनिन्, ‘सासुससुराले पनि गाली गर्न र दुःख दिन थाले। छोरा (सञ्जय) ले मन पराएन, घर छाडेर जा भन्न थाले।’
परिवारमा समस्या चर्किंदै गएको थाहा पाएर छिमेकीहरूले प्रियंकालाई ‘ओरेक नेपाल’ नामको एक गैरसरकारी संस्थाको सहयोग लिन सुझाब दिए।
ओरेक नेपालकी तत्कालीन कानूनी सल्लाहकार रेखा झाको सल्लाहअनुसार प्रियंकाले २०७८ साउनमा धनुषा जिल्ला अदालतमा घरेलु हिंसा सम्बन्धी मुद्दा दर्ता गराइन्। अदालतले घरमा सुरक्षित वातावरणमा बस्न र खान दिन सञ्जय र उनका बाबुआमाको नाममा आदेश जारी गर्यो।
उच्च अदालत जनकपुरले प्रिंयाका र सञ्जयको विवाह दर्ता र उनीहरूका छोराको जन्मदर्ताका सम्बन्धमा आवश्यक निकास दिन वडा कार्यालयका नाममा परमादेश जारी गर्यो।
‘...स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली बाल स्वास्थ्य कार्ड (जारी मिति २०७४/०७/२०) मा जियांस जयसवालको बाबु सञ्जय जयसवाल र आमा प्रियंका जयसवाल भनी उल्लेख भएको देखिन्छ। जन्मदर्ता बालबालिकाको नैसर्गिक हक रहेको र विवाहपछि विवाहदर्ता पनि कानूनी हक रहेको हुँदा कुनै पनि व्यक्तिलाई उक्त हकबाट कानूनतः वञ्चित गर्न मिल्ने हुँदैन,’ परमादेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिम जन्मदर्ता र विवादर्ताका लागि आवश्यक जो जे प्रमाण बुझ्नु छ बुझी रिट निवेदकको माग बमोजिम हुन नहुने सम्बन्धमा आवश्यक निकास दिनू भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ।’
उक्त आदेश वडा कार्यालयमा पुग्यो। प्रियंका पनि वडा कार्यालय गइन्, धेरै पटक धाइन् तर अझै दर्ताको काम भएको छैन। वडा कार्यालयले बेवास्ता गरेको उनको आरोप छ।
‘वडाअध्यक्ष र सचिवले सरजमिन मुचुल्का उठाउनु पर्छ भन्नुभयो। मुचुल्का पनि गर्नुभयो तर मेरो काम गरिदिएका छैनन्,’ प्रियंका भन्छिन्, ‘वडा सचिव नगरपालिकाको पञ्जीकरण शाखाले मानेको छैन भन्छन्। त्यही कुरा भन्न यहाँ (उपमहानगर कार्यालय) मा आएकी हुँ।’
वडा कार्यालयले दर्ता नगरेपछि प्रियंका गुनासो लिएर फेरि उच्च अदालत पुगिन्। अदालतले परमादेश आदेश कार्यान्वयन गर्न वडा कार्यालयलाई पत्र लेख्यो।
पत्रमा भनिएको छ, ‘...आदेश बमोजिमको आवश्यक निर्णयहरू यथाशिघ्र गरी यस अदालतलाई जानकारी गराइदिनू।’
फेरि पनि वडा कार्यालयले बेवास्ता गरेको गुनासो लिएर उनले यही साताको सोमबार एक जना मानव अधिकारकर्मी सहित उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतलाई भेटेर दर्ताका लागि आग्रह गरिन्।
प्रमुख प्रशासकीय अधिकृतले नाता कायम गरेको प्रमाण मागे।
प्रियंकाले नाता प्रमाणीत हुन विवाह दर्ता हुनुपर्ने तर्क गरिन्। अदालतले पनि नाता प्रमाणीत गरेको गरेको कागज नखोजी परमादेश जारी गरेको कुरा स्मरण गराइन्।
त्यसपछि प्रशासकीय अधिकृतले भोलि (मंगलबार) वडा सचिवलाई बोलाएर कुरा गर्ने अश्वासन दिए।
त्यही आश्वासन अनुसार मंगलबार उपमहानगर कार्यालय गएकी पियंका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि भेटएकी थिइन्।
प्रियंकासँगै भेटिएकी उनकी वकिल अधिवक्ता रेखा झाले प्रमुख प्रशासकीय अधिकृतले नै वडा सचिव र प्रियंकालाई भेटाउन नचाहेको आरोप लगाइन्।
पियंकाको समस्याका सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीसँग कुरा गर्न खोज्दा उनी सम्पर्कमा आएनन्।
वडा नम्बर १४ का वडाअध्यक्ष पुण्यप्रताप यादवले आफू प्रियंकाको विवाह दर्ता र उनका छोराको जन्मदर्ताका सम्बन्धमा संवेदनशील रहेको र दर्ता होओस् भन्ने चाहेको बताए।
उनले विवाह दर्ताका लागि पतिपत्नी दुबैको उपस्थित आवश्यक हुने पनि बताए।
‘उनी (प्रियंका) माथि अन्याय भएको छ। बहुत पीडामा छिन्, मैले पनि देखेको छु,’ यादवले भने, ‘परमादेशमा कानून बमोजिम रित पुर्याएर निकास दिनू भनिएको छ। सञ्जय पनि आउनुपर्यो। विवाह दर्ता गर्न दुबैजनाको फिंगर प्रिन्ट (औँठा छाप) चाहिन्छ।’
वकिलको सल्लाहमा वडा कार्यालयले सरजमिन मुचुल्का गरिदिएको तर पञ्जीजकरण शाखाले दर्ता गर्न नमिल्ने जानकारी गराएको वडाध्यक्ष यादवको भनाइ छ।
सञ्जयका बाबु शिवजी र आमा सविताले उच्च अदालतमा सञ्जयले भारतको बिहारकी रिचा जयसवालसँग बिहे गरेको, उनीहरूबीच सम्बन्ध विच्छेद नभएको र एक छोरी समेत रहेको जिकिर गरेका छन्।
सञ्जयको पहिलो बिहेबारे वडाध्यक्ष यादव समेत जानकार छन्। उनले सञ्जयकी पहिली श्रीमती लामो समयदेखि गाउँघरमा नरहेको बताए। एक स्थानीयवासीका अनुसार कानूनी रूपमा समबन्ध विच्छेद नगरी रिचाले दोस्रो बिहे गरिसकेकी छन्।
पहिलो बिहेको सम्बन्ध विच्छेद नभएका कारण प्रियंकाको माग बमोजिम दर्ता गर्न कानूनी अड्चन आएको वडाध्यक्ष यादवको भनाइ छ। उल्टै उनले सञ्जयविरुद्ध बहुविवाहको मुद्दा पर्न सक्ने चिन्ता प्रकट गरे।
सञ्जय प्रियंकाका पति हुन् र उनीहरूका एक छोरा छन्, प्रियंका छोराका साथ सासु-ससुरासँगै बसेकी छन् भन्ने मुचुल्काको प्रमाण भए पनि विवाह दर्ता र जन्मदर्ता भएको छैन।