श्रीमतीको हत्या गरेको आरोपमा ७३ वर्षीय रामबहादुर रावतलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ।
चैत २१ गते जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ को काप्रा गाउँबाट पक्राउ गरिएको हो। प्रहरीको जाहेरीमा उनको स्थायी ठेगाना सुर्खेतको वीरेन्द्रनगर–१० (साविक लाटीकोइली गाविस–५ सुर्खेत) छ।
रावतविरूद्ध जाहेरी आएको घटना १७ वर्षअघिको हो। २०६३ साल असार ११ गते उनले आफ्नी श्रीमती गौरी रावतको हत्या गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएको थियो।
माइती पक्षले दिएको जाहेरीमा रामबहादुरले २०६३ असार ९ गते लाटीकोईली गाविस–५ सानो सुर्खेतस्थित रहेको घरमै कुटपिट गरी हत्या गरेको उल्लेख गरिएको छ। उनी पक्राउ भने जाजरकोटबाट परेका हुन्।
पक्राउ परेका उनलाई चैत २२ गते सुर्खेत जिल्ला अदालतमा उपस्थित गराएर म्याद थप गरी अनुसन्धान भइरहेको छ।
घटना हुँदा र जाहेरी पर्दा उनी ५६ वर्षका थिए। रावत घटनापछि जाजरकोटमा लुकिछिपी बस्न थालेको र त्यतै घर बनाएको खुलेको छ। उनले त्यता अर्को विवाह गरेको पनि पाइएको छ।
रावतले सुर्खेतमा हुँदा कसरी घटना घटाए र भागिसकेपछि जाजरकोट उक्लिएर त्यतै बसोबास किन गरे भन्ने कुरा भने खुलिसकेको छैन। १७ वर्षसम्म पक्राउ पर्न नसकेका रावतविरूद्धको फाइल ६ महिनाअघि पुनः एकपटक खुलेको थियो। यसको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक कृष्णबहादुर खड्कालाई जिम्मा दिएको थियो।
फाइल खुलेपछि खोजी गर्नेक्रममा उनीसम्म पुग्न ६ महिना लागेको प्रहरी निरीक्षक खड्काले बताए। घटनास्थलमा अरू मानिसहरूसँग सोधपुछ गर्नेक्रममा उनीसम्म पुग्न सहज भएको उनले बताए।
‘हामीले घटना भएको ठाउँमा पुगेर पाका मानिसहरूसँग कुरा गर्यौं,’ उनले भने, ‘यस्तो जाहेरी परेको छ, कहाँ हुन सक्नुहुन्छ भनेर हामीले पाका मानिसहरूलाई सोध्दा उहाँहरूले यस्तो ठाउँमा हुन सक्छ भनिदिएपछि सहज भएको हो।’
उनका अनुसार घटनास्थलमा सोधपुछ गरेपछि जुनीचाँदेको प्रहरीलाई खबर गरिएको थियो। त्यहाँको प्रहरीले पक्राउ गरेर उनलाई सुर्खेत पठाएको प्रहरी निरीक्षक खड्काले बताए। घटना भएलगत्तै उनी सुर्खेतबाट भागेको पाइएको उनले जानकारी दिए।
खड्काका अनुसार १७ वर्षअघि घटना भएको भनिएको रावतको घरजग्गा अहिले सुर्खेतमा छैन।
‘अहिले घटना भएको घर भइदिएको भए पक्राउ गर्न झन् सहज हुन्थ्यो, घटना घटाएपछि छोडेको कच्ची घर लामो समयसम्म खाली छोडेपछि ध्वस्त भएको हुन सक्छ। उहाँ जुनीचाँदेमै पनि बसेर घरजम गरेको पाइयो,’ खड्काले भने।
घटना भएपछि सुर्खेतबाट भागेका उनी बीचमा भारतमा बसे वा जाजरकोटमै बसे भन्ने बारेमा पनि स्पष्ट खुलेको छैन। तत्कालका लागि घटना कसरी भयो र किन भयो भन्ने विषयमा मात्र प्रहरी केन्द्रित भएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक खड्काले बताए।
रावतको पुर्ख्यौली पनि जाजरकोटमै भएकाले सुर्खेतबाट घटनापछि भागेर जाजरकोट गएको हुन सक्ने अनुमान गरिएको छ। अदालतले दिएको समयभित्र यी सबै विषयमा अनुसन्धान हुने उनले बताए। उनको अहिलेको पारिवारिक अवस्था पनि प्रहरीले खुलाएको छैन।
‘घटना पुरानो भएकाले तत्काल घटनासँग मात्र केन्द्रित भएर अनुसन्धान गरिरहेका छौं, यसक्रममा बाँकी कुरा पनि खुल्छ होला,’ प्रहरी निरीक्षक खड्काले भने।