मानव बेचबिखनविरूद्ध काम गर्दै आएको भारतको एक संस्थाले पाँच जना नेपाली किशोरीको उद्धार गरेको छ।
दिल्लीस्थित ‘के. आई. एन. भारत’ ले उद्धार गरेर उनीहरूलाई नेपाल ल्याएको हो। संस्थाले आइतबार जिल्ला प्रशासन कार्यालय, रूपन्देहीमार्फत ती किशोरीहरू प्रहरीको जिम्मा लगाएको छ।
उद्धार गरिएकामा रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका दुई जना, धनुषाका दुई जना र पर्साकी एक जना छन्। उनीहरू १५ देखि १७ वर्ष उमेरका छन्।
संस्थाका प्रतिनिधिका अनुसार ती किशोरीहरू विभिन्न प्रलोभनमा पारेर भारतको बिहार पुर्याई ‘गलत काम’ मा लगाइएका थिए।
उद्धार गरिएका किशोरीहरू रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिम्मा लिएका थिए।
अर्यालका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाका दुई किशोरी गत फागुन २ गते राति लुम्बिनीको कक्रहवा नाकाबाट भारत पसेका थिए।
घरबाट भागेर हिँडेका ती किशोरीलाई भारतीयले जागिर लगाइदिने बहानामा ‘गलत काम’ मा लगाउन थालेपछि उनीहरू भागेर भारतीय प्रहरीमार्फत ‘के. आई. एन. भारत’ को सम्पर्कमा पुगेका थिए।
घटना विवरणअनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाकी '७५' (नाम परिवर्तन) लाई बोर्डिङ स्कुलमा पढ्ने मन थियो। आफूसँगैका साथीहरू सर्टपाइन्ट र टाई लगाएर स्कुल गएको देख्दा उनी पनि त्यसै गर्न चाहन्थिन्। उनका भाइ बोर्डिङ स्कुलमै पढ्थे।
बुबाआमाले छोरीलाई मदरसामा भर्ना गरिदिएका थिए। '७५' लाई भने मदरसामा पढ्न मन थिएन। उनले बुबाआमालाई भाइ र गाउँका साथीहरूलाई जस्तै बोर्डिङ स्कुलमा भर्ना गरिदिन भनेकी थिइन्। बुबाआमाले मानेनन्। ती किशोरीकी एक जना साथीलाई पनि मदरसामा पढ्ने मन थिएन। भर्खरै १६ वर्ष पुगेका उनीहरूले आफ्नो चाहना विपरीत मदरसामा भर्ना गरिदिएपछि घर छोडेर हिँड्ने निधो गरे।
फागुन २ गते घरका सबै जना सुतेपछि राती १० बजेतिर '७५' र उनकी साथी सुटुक्क घरबाट निस्किए। साथमा एक दुई जोर कपडा बोकेर निस्किएका उनीहरू राती १ बजे लुम्बिनीबाट भारत छिर्ने कक्रहवा नाका पुगे।
मध्यरातमा सीमानाकामा प्रहरीबाहेक कोही पनि थिएन। नेपालतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी थिए। भारततर्फ भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी थिए।
रातको समयमा दुई जना किशोरी भारततर्फ जाँदै गरेको देखेपछि नेपाली सुरक्षाकर्मीले सोधपुछ गरे। किशोरीहरूले आफूहरू भारतीय रहेको, काम विशेषले नेपालमा रहेका आफन्तकोमा आएको र अहिले आफ्नो घर फर्किन लागेको बताए।
उनीहरूले भारतीय सुरक्षाकर्मीलाई पनि त्यही कुरा भने। सीमाक्षेत्रमा खटिएका नेपाली र भारतीय सुरक्षाकर्मीले मध्यरातमा यसरी हिँडेका किशोरीहरू कसैको प्रलोभनमा परी भारत जान लागेको शंका गरे।
कक्रहवा नाका राती बन्द भएपछि बिहान ६ बजेमात्र खुल्थ्यो। किशोरीहरू भारत पस्न पाएनन्।
नाकामा ‘आशिष’ नामको एक सामाजिक संस्थाले चेलिबेटी बेचविखन विरूद्धको अभियान चलाउँदै आएको छ। दुबैतर्फका सुरक्षाकर्मीले ती दुबै किशोरी त्यही संस्थाका प्रतिनिधिको जिम्मा लगाए।
घरबाट सुटुक्क हिँडेका उनीहरूलाई जतिसक्दो छिटो सीमापारि जानु थियो। उनीहरूले अर्को कुनै बाटो भए पठाइदिन आग्रह गरे। आफूहरू भारतीय नै रहेको र आफ्नो घर भारतमै भएको विश्वास दिलाए।
आखिर आशिष सामाजिक संस्थाकै कर्मचारीले भारत पस्ने नजिकैको एउटा बाटो देखाइदिए।
बिहान उज्यालो नहुँदै उनीहरू भारत पसिसेकका थिए। यता घरमा उनीहरूको खोजी सुरू भयो। तीन गते दिनभरि नभेटिएपछि परिवारजनले इलाका प्रहरी कार्यालय, लुम्बिनीमा खोजीका लागि निवेदन दिए।
त्यसपछि भारतीय हौं भन्ने विश्वास दिलाएर सीमा पार गरेका किशोरीहरू नेपाली हुन् भन्ने थाहा भयो। लगत्तै नेपाल प्रहरीले भारतीय सुरक्षाकर्मीको समन्वयमा खोजी सुरू गर्यो।
सीमा पार गरर रेल वे स्टेशनमा पुगेका किशोरीहरू कहाँ जाने भन्ने अन्योलमा थिए। साथमा पैसा पनि थिएन। रेल वे स्टेशनमा दुई किशोरी अलमलमा परेको देखेपछि करिब ४५ वर्ष उमेरका एक भारतीयले काम लगाइदिन्छु भनेर विहारको वैशाली पुर्याए अनि ‘गलत काम’ मा लगाए।
उद्धार गरिएका धनुषाका दुई किशोरीलाई भने काममा लगाइदिने भन्दै आफन्तले नै भारत पुर्याएका थिए। दुई दाजुभाइका छोरी रहेका उनीहरू पढाइ छाडेर कामको खोजीमा थिए। परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनीहरूले पढाइ छाडेका थिए।
गरिबीको अनुचित फाइदा उठाउँदै आफन्तबाटै भारतको मधुवनी पुर्याइए। पर्साकी युवतीलाई भने गाउँकै व्यक्तिले बिहेको नाटक गरेर नैनीताल पुर्याएका थिए।
उनीहरू सबैलाई ‘के. आई. एन. भारत’ उद्धार गरेर एकैचोटि नेपाली प्रशासनलाई बुझाएको हो। उद्धार गरेर ल्याइएका किशोरीहरू अहिले जिल्ला प्रहरी कार्यालय, रूपन्देहीको संरक्षणमा छन्।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार पहिले उनीहरूलाई मनोपरामर्श दिइनेछ। त्यसपछि मात्र परिवारमा जिम्मा लगाइने छ।
उनले प्रहरी प्रशासनले भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा ‘सीमा समन्वय समिति’ मार्फत ‘सीमा अपराध तथा मानव बेचबिखन’ विरूद्ध काम गरिरहे पनि मानिसहरू सचेत नबन्दा बेचबिखनका घटना नरोकिएको बताए।
उनी भन्छन्, ‘सरकारी संयन्त्र, गैरसरकारी संस्था र स्थानीय जनप्रतिनिधिको आआफ्नो जिम्मेवारी त छँदै छ, व्यक्ति स्वयंले पनि म कहाँ जाँदै छु, कोसँग जाँदै छु भन्ने कुरा ख्याल गर्नुपर्छ।’
मानव बेचबिखनको विषय स्थानीय पाठ्यक्रममा राखेर विद्यालय तहबाटै चेतना जगाउनुपर्ने उनको धारणा छ। यसो गर्नसके जनचेतना अभिवृद्धिको गति बढ्ने उनको विश्वास छ।
अर्यालले सीमा क्षेत्रमा बसेर मानव बेचबिखनको विरूद्ध काम गर्ने भनिएको संस्थाले नै दुई किशोरीलाई सीमा पार गर्न सघाएको देखिएकोले उक्त संस्थालाई कारबाही गर्ने पनि बताए।
‘के. आई. एन. भारत’ का नेपाल संयोजक इन्द्रराज भट्टराईका अनुसार मानव बेचबिखनको तरिका फेरिँदै गएको छ। कतिपय नेपाली चेलीहरूलाई भारत हुँदै श्रीलंका र ओमन लगायतका देशमा पठाउँछु भनेर भारतमै बेचबिखन गर्ने प्रवृत्ति बढेको छ। उनले प्रत्येक छोरीचेलीलाई मेरै छोरीचेली, मेरै दिदीबहिनी हो भन्ने नमान्दासम्म बेचबिखनका घटना भइरहने बताए।
भट्टराईका अनुसार विगत ६ वर्षदेखि भारतमा बेचबिखनमा परेका चेलिबेटीको उद्धार गर्दै आएको ‘के. आई. एन. भारत’ ले वर्षमा एक सय पचास जनासम्म चेलीबेटीको उद्धार गर्ने गरेको छ।