स्थानीयको घरबाट प्रहरीले बरामद गरेको टल्कने पत्थर क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शुक्रबार गोरखा पुगेर क्वार्ज क्रिष्टल दरबारभित्र प्रतिस्थापन गरेका हुन्। पारदर्शी सिसाभित्र राखिएको क्वार्ज क्रिष्टललाई प्रधानमन्त्री दाहालले पनि पूजा गरेका छन्।
उनले दरबारमा क्वार्ज क्रिष्टल प्रतिस्थापन भएकोले यसले गोरखाको पर्यटन विकासमा गुणात्मक भूमिका खेल्ने बताए। क्वार्ज क्रिष्टलको सुरक्षा व्यवस्था गम्भीरतापूर्वक मिलाउन पनि उनले निर्देशन दिए।
क्वार्ज क्रिष्टल गोरखा दरबारभित्र राख्ने चाँजो गोरखा नगरपालिका र गोरखा दरबार हेरचाह अड्डाले मिलाएका थिए।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले प्रधानमन्त्रीको उपस्थितिमा क्वार्ज क्रिष्टल गोरखा दरबारभित्र प्रतिस्थापन गरिएको सेतोपाटीलाई बताए।
‘प्रधानमन्त्रीज्यूको उपस्थितिमा क्वार्ज क्रिष्टल गोरखा दरबारभित्र राखिएको छ, पृथ्वीनारायण शाहको गद्दीनजिकै सिसाको सोकेसभित्र राखिएको क्वार्ज क्रिष्टल सर्वसाधारणका लागि अवलोकनका लागि खुला गरिएको छ,’ उनले भने, ‘क्वार्ज क्रिष्टल राखेको सोकेसमा बत्तीसमेत राखिएको छ, झ्यालबाट पनि हेर्न मिल्छ।’
जिल्ला प्रहरी कार्यालयले गत असार १४ गते ५२ किलो तीन सय ३० ग्राम तौल भएको टल्कने पत्थर बरामद गरेको थियो। महँगोमा किनबेच गर्न 'डिल' भइरहेको सूचनाका आधारमा प्रहरीले गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलस्थित चन्द्रमान शाहीको घरबाट टल्कने पत्थर बरामद गरेको थियो।
स्थानीय प्रशासनले टल्कने पत्थर पहिचान गरिदिन काठमाडौंस्थित खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेपछि भूगर्भविद् सुस्मिता भण्डारी र दुर्गा बेलाखेले उक्त पत्थर क्वार्ज क्रिष्टल भएको पुष्टि गरेका थिए।
उनीहरूले क्वार्ज क्रिष्टललाई विभागकै संग्रहालय काठमाडौंमा पठाउने व्यवस्था गर्न स्थानीय प्रशासनलाई आग्रह पनि गरेका थिए। त्यसपछि स्थानीयले क्वार्ज क्रिष्टल गोरखा बाहिर पठाउन नहुने भन्दै विरोध गरेका थिए।
त्यसक्रममा गोरखा पुगेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतले पनि क्वार्ज क्रिष्टल अवलोकन गर्दै गोरखामै राख्न पहल गरिने आश्वासन दिएका थिए।
क्वार्ज क्रिष्टल काठमाडौं पठाउँदा विवाद बढ्ने देखेपछि स्थानीय प्रशासनले गोरखामै राख्न पहल थालेको थियो। गोरखामा कहाँ राख्ने भन्नेमा पनि विवाद देखा पर्दा लामो समयसम्म प्रहरी कार्यालयकै कोठामा क्वार्ज क्रिष्टललाई राखियो।
प्रहरी कार्यालय पुग्ने सेवाग्राहीले प्रहरीकै अनुमति लिएर उत्सुकतापूर्वक क्वार्ज क्रिष्टल अवलोकन गर्दै आएका थिए भने कसैले त पूजा र भेटीसमेत चढाउँथे। कार्यालयभित्र सुरक्षा दिएर बेग्लै कोठामा सेतो कपडाले बेरेर क्वार्ज क्रिष्टल राखिएको थियो।
क्वार्ज क्रिष्टल गोरखा संग्रहालय वा गोरखा दरबार कहाँ राख्नेमा विवाद देखिएपछि गोरखा नगरपालिकाले स्थानीय प्रशासनसँग समन्वय गरी सरोकारवालाहरूको बैठक पनि राखेको थियो। पटक-पटक बैठक गरेपछि गोरखा दरबारमा सर्वसाधारणले अवलोकन गर्न मिल्ने ठाउँमा क्वार्ज क्रिष्टल राख्ने सहमति भएको थियो।
क्वार्ज क्रिष्टल गोरखामै राख्न मन्त्रिपरिषदबाट निर्णय गराइदिन माग गर्दै गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरसहित जनप्रतिनिधिहरूले प्रधानमन्त्री दाहाल र तत्कालीन गृहमन्त्री श्रेष्ठलाई आग्रह गरेका थिए। तर मन्त्रिपरिषदले लामो समयसम्म यसबारे निर्णय नगर्दा अन्योल देखिएको थियो।
खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ अनुसार बहुमूल्य क्वार्ज क्रिष्टल विभागकै स्वामित्वमा रहने व्यवस्था छ। त्यसैले क्वार्ज क्रिष्टल गोरखामै राख्न मन्त्रिपरिषदबाट निर्णयको आवश्यकता पर्दथ्यो।
१० महिनादेखि प्रहरी कार्यालयमै रहेको क्वार्ज क्रिष्टल बाजागाजासहित शुक्रबार गोरखा दरबार लगेर प्रतिस्थापन गरिएको हो।
क्वार्ज क्रिष्टललाई सतिपिपलका शाही परिवारले पुस्तौंदेखि देउताका रूपमा पुज्दै आएका थिए। बाजे-बराजुले कहाँबाट उक्त क्वार्ज क्रिष्टल ल्याएका हुन् भन्ने पनि शाही परिवारलाई यकिन छैन।
खानी तथा खनिज पदार्थ ऐनको दफा २५ मा ‘अनुमति नलिई निकालिएको खनिज पदार्थ जफत गर्नुका साथै त्यस्तो व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ’ भन्ने व्यवस्था पनि छ।
घरमा रहेको टल्कने पत्थरलाई शाही परिवारले कुलदेउताका रूपमा पुज्ने गरेका थिए। कपडाले बेरेर राखिएको टल्कने पत्थरलाई शाही परिवारले विभिन्न तिथिहरूमा पुज्ने पनि गर्दथे।
महँगोमा बिक्री गर्न लागेको र घरमा मानिसहरूको भिड लागेपछि शाही परिवार नै असुरक्षित हुने भन्दै प्रहरीले टल्कने पत्थर बरामद गरी प्रहरी कार्यालयमै राखेको थियो।
कतिपयले पुस्तौदैखि पुज्दै आएकोले शाही परिवारलाई नै फिर्ता गर्नुपर्ने वा राहत दिनुपर्ने पनि बताएका थिए। गोरखाका सिडिओ भोला दाहालले शाही परिवारलाई राहत दिने विषयमा आफूलाई केही जानकारी नरहेको प्रतिक्रिया दिए।
प्रहरीले घरबाट 'कुलदेउता' लगेपछि चन्द्रमानकी श्रीमती राममाया भावविह्वल थिइन्। उनले पटक-पटक प्रहरी कार्यालय पुगेर पूजासमेत गरेकी थिइन्। राममायाले साउने सक्रान्तिका बेला प्रहरी कार्यालय पुगेर आधा घन्टा पूजाअर्चनासमेत गरेकी थिइन्।
त्यसबेला उनले आफ्नो भगवानलाई कैदीझैं थुनेर राखिएकोमा असन्तुष्टि पोखेकी थिइन्।
‘हे भगवान्, हजुरलाई मैले कति जतनसाथ राखेकी थिएँ। आज यो कैदी राख्ने ठाउँमा कसरी आइपुग्नुभयो, पुर्खाले भनेको नमान्दा आज यो अवस्था आइपर्यो। नरिसाउनुहोस्, सबैको कल्याण गर्नुहोस्,’ उनले भनेकी थिइन्।
शाही परिवारले आफूहरूको 'कुलदेवता' लाई गोरखा दरबारमा राख्नुपर्ने र पूजा गर्न पाउनुपर्ने मागसमेत राखेका थिए। धार्मिक आस्थासँग जोडिएको र शाही परिवारको पनि चित्त बुझ्ने गरी गोरखा नगरपालिका र स्थानीय प्रशासनले सर्वसाधारणलाई अवलोकन गर्न मिल्ने गरी क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखेका छन्।
यसरी बाहिरिएको थियो घटना
घरमा पुज्दै आएको 'देउता' (पारदर्शी पत्थर) को फोटो एकदिन चन्द्रमान र राममायाका छोरा सुरेशले मोबाइलमा खिचे।
उनले जिज्ञासासहित सामाजिक सञ्जालमा पोस्ट गरे, साथी-भाइहरूलाई देखाए। फोटो देखेकाहरू प्रत्यक्ष रूपमा हेर्न भन्दै शाहीकै घर सतिपिपल पुग्दा भिड बढ्न थाल्यो।
यसैक्रममा लाखौंमा किनबेच हुन लागेको सूचना पाएको भन्दै प्रहरी पनि शाहीको घर पुगे। घरधनीकै सुरक्षाका लागि भन्दै त्यसबेला प्रहरीले पारदर्शी पत्थर बरामद गरेर प्रहरी कार्यालयमा ल्याएको थियो।