ठेक्का सम्झौता भएको दुई वर्ष हुँदा सिद्धबाबा सुरुङमार्ग निर्माणको काम ११ प्रतिशत पूरा भएको छ। पाँच वर्षमा निर्माणको काम सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७८ साल फागुनमा ठेक्का सम्झौता भएको थियो।
बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा झर्ने चट्टानसहितको पहिरोले हरेक वर्ष ठूलो क्षति हुन थालेपछि सुरक्षित आवागमनका लागि सुरुङमार्ग निर्माणको योजना अघि बढाइएको हो।
उक्त सडकखण्डको सबैभन्दा अप्ठ्यारो र जोखिमयुक्त मानिने माथिल्लो सिद्धबाबा मन्दिरअगाडिको पहरो हुँदै विद्युतको हेडबक्ससम्म एक हजार १२६ मिटर लामो सुरुङमार्ग निर्माणको काम भइरहेको छ।
ठेक्का सम्झौताअनुसार २०८३ सालभित्र निर्माणको काम पूरा हुनुपर्नेछ। निर्माण अवधिको पाँच वर्षमध्ये दुई वर्ष पूरा हुँदा ११ दशमलव शून्य ५ प्रतिशत मात्र काम भएको छ।
निर्माण कम्पनीले सुरुङमार्गको डिजाइनमा एक वर्ष समय लगायो। सुरुङ खन्ने काम सुरु गरेको एक वर्ष पूरा भयो।
गत वर्ष फागुनमा सुरुङमार्गको काम अघि बढाए पनि गत साउनमा आएको पहिरोले सुरुङमार्गको दक्षिण र उत्तर दुबैतर्फको पोर्टलमा क्षति पु¥यायो। त्यसपछि बन्द भएको काम गत असोजमा मात्रै सुरु भयो।
आयोजनाका इन्जिनियर सविता ज्ञवालीका अनुसार हालसम्म मुख्य सुरुङमार्ग दक्षिण पोर्टलबाट ४५ मिटर खनिएको छ। उत्तर पोर्टलतर्फ स्लोप काटेर ढलान गर्ने काम हुँदै छ।
दक्षिण र उत्तरतर्फका दुबै पोर्टल, निकासका लागि राखिएका तीनवटा सुरुङ, स्लोप कटिङ, स्लोप प्रोटेक्सन लगायतका काम एकसाथ अघि बढाएका कारण भौतिक प्रगति थोरै देखिएको उनको भनाइ छ।
हालसम्म १५ दशमलव ६ मिटरको पहिलो बाइपास टनेल, ७ मिटरको दोस्रो बाइपास टनेल र ४ मिटरको तेस्रो बाइपास टनेल खन्ने काम पूरा भएको छ।
ज्ञवालीका अनुसार आकस्मिक अवस्थाका लागि सुरुङ बाहिरी सडकमा जोड्ने गरी तीन–तीन सय मिटरको दूरीमा तीनवटा सहायक सुरुङमार्ग बनाइएको हो।
सिद्धबाबा सुरुङमार्ग आयोजना निर्देशक नरेनमान शाक्यले सुरुङमार्गको दक्षिणतर्फको मुखमै सिद्धबाबा मन्दिर रहेकोले बिस्फोट गर्न नमिल्ने हुँदा काम केही ढिलो भएको बताए।
उनले भने, ‘मुखैमा मन्दिर रहेकोले अहिले नै सुरुङभित्र ब्लास्ट (विस्फोट) गर्न मिल्दैन। एक सय मिटर भित्र गएपछि ब्लास्ट गरेर काम गर्न सुरु हुन्छ र निकै छिटो हुन्छ।’
उनका अनुसार बाइपास सुरुङमार्गको काम सकिएपछि त्यहाँबाट समेत खन्न थालिनेछ। त्यसपछि एक दिनमै १० मिटरसम्म खन्न सकिनेछ। बजेट अभाव नभए आगामी आर्थिक वर्ष २०८१÷८२ भित्र सुरुङ खन्ने काम पूरा हुनेछ।
‘अहिले एक ठाउँबाट दैनिक दुई मिटरसम्म टनेल खन्ने काम भइइहेको छ। मुख्य टनेलको दुई वटा प्रवेशद्वार र तीनवटै बाइपास टनेलबाट एकैपटक खन्न सुरु गरेपछि दिनमै १० मिटरसम्म खन्न सकिनेछ,’ उनी भन्छन्, ‘यसरी खन्दा आगामी आर्थिक वर्षभित्र सुरुङ खन्ने काम शतप्रतिशत पूरा गर्छौं।’
शाक्यले सम्झौता अवधिमै सुरुङमार्ग निर्माणको काम पूरा गर्ने बताएका छन्।
कुल लागत ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको ठेक्का सम्झौता भएको छ। हालसम्म १२ दशमलव ४७ प्रतिशत आर्थिक प्रगति भएको जनाइएको छ।
निर्देशक शाक्यले निर्माण कम्पनीलाई कुल रकममध्ये ९१ करोड ५५ लाख ८९ हजार रुपैयाँ भुक्तानी दिइसकेको बताए।
‘चालु वर्षका लागि ४५ करोड रुपैयाँ मात्र बजेट छ। त्यसमध्ये १६ करोड भुक्तानी भएको छ। यो वर्षको लक्ष्यअनुसार अनुसार ३५ प्रतिशत आर्थिक प्रगति भएको छ,’ उनले भने, ‘लक्ष्यअनुसार काम पूरा गर्न चालु आर्थिक वर्षमै थप ४५ करोड रुपैयाँ बजेट आवश्यक पर्छ।’
उनका अनुसार लक्ष्यअनुसार काम पूरा गर्न आगामी आर्थिक वर्षमा करिब ३ अर्ब रुपैयाँ बजेट आवश्यक पर्नेछ। त्यसपछि आर्थिक २०८२/८३ का लागि दुई अर्ब र २०८३/८४ को चैतसम्म १ अर्ब १८ करोड ७१ लाख आवश्यक पर्नेछ।
बजेट अभाव नभए सम्झौता अवधिमै सुरुङमार्ग निर्माणको काम पूरा हुने उनको भनाइ छ।
निर्माण कम्पनीले सुरुङ मार्गसँगै बुटवल र पाल्पा दुबैतर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडक सुरक्षित बनाउनुपर्ने सम्झौता छ।
सुरुङ मार्ग निर्माणपछि पाँच वर्षसम्म मर्मत तथा सञ्चालनको काम पनि सोही निर्माण कम्पनीले नै गर्नुपर्ने छ।
सुरुङ चलेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवागमन सहज र सुरक्षित हुने अपेक्षा छ।